बुधबार २१ माघ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

दुई दिने साहित्यिक यात्रा : विद्यालयलाई पुस्तक हस्तान्तरण

तेर्से माविको निमन्त्रणामा दुई दिने साहित्यिक यात्राका क्रममा पुस तेस्राे साता मेलम्ची पुगेकाे सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रकाे टाेलीले संस्थागत र साहित्यकारहरुका तर्फबाट व्यक्तिगत रुपमा प्राप्त पुस्तक विद्यालयलाई प्रदान गरेकाे हाे ।

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले सिन्धुपाल्चाेककाे मेलम्चीस्थित तेर्से माध्यमिक विद्यालयलाई दुई सयभन्दा बढी पुस्तक हस्तान्तरण गरेकाे छ । 

तेर्से माविको निमन्त्रणामा दुई दिने साहित्यिक यात्राका क्रममा पुस तेस्राे साता मेलम्ची पुगेकाे केन्द्रकाे टाेलीले संस्थागत र साहित्यकारहरुका तर्फबाट व्यक्तिगत रुपमा प्राप्त पुस्तक विद्यालयलाई प्रदान गरेकाे हाे । 

विद्यालयमा आयाेजित कार्यक्रममा प्रमुख अतिथि केन्द्रकी संरक्षक डा. श्रेष्ठले  विद्यालयका संस्थापक प्रधानाध्यापक एवम् मेलम्ची– ६ का पूर्व वडाअध्यक्ष जीतराज थापालाई सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रको तर्फबाट सम्मान गर्नुभएकाे थियाे । 

कार्यक्रममा विद्यार्थीहरूले गीत, कविता प्रस्तुत गर्नुभयो । विद्यालयका क्याप्टेन साजन तामाङलाई अक्षलोकको तर्फबाट सम्मान गरिएकाे थियो ।

कार्यक्रममा डा. सावित्री श्रेष्ठ, विमलप्रभा बज्राचार्य, अन्जना ताम्राकार, मेनुका पौडेल, उर्मिला डङ्गोल, शर्मा ललिता, निशा के.सी, शान्ति पौडेल, विजया बस्नेत र ललिता ‘दोषी’ ले कविता, कथा, मुक्तक प्रस्तुत गर्नुभएकाे थियो ।

बाल–साहित्यकार शर्मा ललिताका ‘सपनाको क’ (बालचित्रकथा) २०७५ र ‘चन्द्रलोकको सानो साथी’ (सचित्र बाल–कथासङ्ग्रह) २०७८ माथि साहित्यकार ललिता ‘दोषी’ले सटीक समीक्षा गर्नुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रामभक्त दनुवारले गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर अर्यालले अध्यक्षतामा ग्रहण गर्नुभएको थियो ।

साहित्यिक कार्यक्रमको अन्त्यपछि शर्मा ललिता र ललिता ‘दोषी’ ले बालकथा एवम् बालकविता रच्ने तरिकाबारे विद्यार्थीलाई सहजीकरण गर्नुभयो । विद्यार्थीहरूले पनि आफ्ना रचनाहरू प्रस्तुत गर्नुभयो ।

सिद्धेश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा आयोजित दुईदिने साहित्यक यात्राको संयोजक शान्ति पौडेलले गर्नुभएको थियो ।

कार्यक्रमको समन्वय तेर्से माध्यमिक विद्यालयका शिक्षक गोपाल खड्काले गर्नुभएकाे थियाे । गोपाल खड्का र उहाँकी धर्मपत्नी रीता खङ्का र छोरा सागर खड्काको आतिथ्यमा अक्षलोक परिवारको दुईदिने साहित्यिक यात्रा सम्पन्न भएको थियो ।