बिहीबार ०१ माघ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

जाडाे बढेपछि मधेशका पालिकाले दिन थाले विद्यालय बिदा

अत्यधिक चिसो बढ्दै गएपछि बारा, पर्सा र रौतहटका विभिन्न पालिकाले सूचना निकालेर विद्यालय बिदा दिने निर्णय गरेका छन् ।

 अत्यधिक चिसो बढेपछि बारा, पर्सा र रौतहटका विभिन्न पालिकाले विद्यालयमा बिदा दिएका छन् ।

बाराको परवानीपुर गाउँपालिकाले अत्यधिक चिसोका कारण विद्यालयमा बालबालिकाको उपस्थिति न्यून भएपछि गाउँपालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पाँच दिन बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको निर्णयअनुसार पुस ७ देखि पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठनपाठन बन्द रहने छ ।

बाराको सिम्रौनगढ नगरपालिकाले अत्यधिक चिसो बढेकाले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै नगरभित्रका सबै विद्यालयमा दुई दिन पठन–पाठन स्थगित गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनाअनुसार मिति पुस ७ गतेदेखि पुस ८ गतेसम्म सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा नियमित कक्षा सञ्चालन स्थगित गरिएको छ ।

पर्साकाे वीरगन्ज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म तीन दिनका लागि सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठन–पाठन स्थगित गरेको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार पुस ७ देखि ९ गतेसम्म पठन–पाठन स्थगित गरिएको हो, जसको बिदा वर्षे सट्टे बिदाबाट कट्टा हुनेछ ।

पुस १० गते क्रिसमसको सार्वजनिक बिदा, पुस ११ गते शैक्षिक क्यालेन्डरअनुसार बिदा र पुस १२ गते शनिबार परेकाले पुस १३ गते आइतबारदेखि मात्र विद्यालय नियमित रूपमा सञ्चालन हुने बताइएको छ ।

यसैगरी, पकहामैनपुर गाउँपालिकाले पनि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वर्षे बिदाबाट कट्टा हुने गरी पुस ८ र ९ गते दुई दिनका लागि जाडो बिदा दिएको छ ।

छिपहरमाई गाउँपालिकाले पुस ८ र ९ गते गरी दुई दिनका लागि जाडो बिदा दिएको जनाएको छ ।

रौतहटमा गौर नगरपालिकाले बढ्दै गएको चिसोका कारण नगरपालिकाभित्र सञ्चालनमा रहेका निजी तथा सामुदायिक विद्यालयमा बिदा दिएको छ ।

बिगत केही दिनदेखि तराईमा अचानक बढेको चिसोका कारण विद्यालयमा अध्यनरत बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सकिने भन्दै नगरपालिकाले पुस ८ गते मंगलबार देखि शुक्रबारसम्म सार्वजनिक बिदा दिएको हो ।

सातायता तराई–मधेशमा चिसो बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ । हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेपछि विशेषगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा निर्भर व्यक्ति बढी प्रभावित भएका छन् ।