विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
गीतकार कोइरालाको नेतृत्वमा भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर’ स्थापना
पूर्वअर्थमन्त्री तथा वरिष्ठ गीतकार शंकरप्रसाद कोइरालाको नेतृत्वमा सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्धेश्यले भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर’ स्थापना गरिएको छ ।
ईश्वर मन्दिर काठमाडौँ नामक संस्थाको सहयोगमा भोजपुर नगरपालिका–९ काफ्लेस्थित जनकल्याण आधारभूत विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिएको हो । कल्याणप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको विद्यालयमा उहाँकै परिवारको सहयोगमा इ–लर्निङ सेन्टर स्थापना भएको हो ।
२०१४ सालमा स्थापना गरिएको विद्यालयमा १० थान कम्प्युटर सेट र एक थान स्मार्ट टिभीलगायतका विद्युतीय सामानको व्यवस्था गरिएको छ । पूर्वअर्थमन्त्री कोइरालाले विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई सेन्टर हस्तान्तरण गरेका गर्नुभएको थियो ।
विद्यार्थीलाई सूचना प्रविधिसँग अभ्यस्त गर्दै सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आफू रहेकोे संस्थाले विद्यालयमा इ—लर्निङ सेन्टर स्थापना गर्दै आएको कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिको वर्तमान युगमा विगतमा जस्तो अध्ययनले मात्र हुँदैन, विद्यार्थीलाई प्रविधिसँग जोड्न जरूरी छ । त्यसैले ग्रामीण क्षेत्रका विद्यालयमा पनि इ–लर्निङ सेन्टर स्थापनामा बर्षेनी सहयोग गरिरहेका छौँ । यसले पठनपाठनमा सहजता हुने विश्वास लिएका छौँ ।’
विद्यालयका संस्थापक कल्याण कोइरालाका छोरा गीतकार रमेश कोइरालाले इ–लर्निङ सेन्टरसहित आमाबुबाको नाममा १ लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष राखी छात्रवृत्तिसमेत स्थापना गर्नुभएको छ ।
विद्यालयको ६९ औं जन्मोत्सवको अवसर पारेर इ–लर्निङ सेन्टर सञ्चालन गरिएको प्रधानाध्यापक योगराज लुइँटेलले बताउनुभयो । काफ्लेमा मात्र होइन, संस्थाले जिल्लाको त्रिभुवन धर्मोदय मावि, भोजपुर बहुमुखी क्याम्पस, विद्योदय मावि, जनसेवा आधरभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढीको सगरमाथा मावि, षडानन्द नगरपालिकामा रहेको अरुण मावि, अरुण गाउँपालिकाको शारदा माविमा लगायतका विद्यालयमा पनि समेत इ–लर्निङ सेन्टर स्थापना गरिसकेको छ ।
ईश्वर मन्दिर संस्थाका अध्यक्ष प्रमेश केसीले ‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने अभियानसहित अहिले संस्थाले भोजपुरका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा सहयोग गरिरहेको बताउनुभयो ।
संस्थाका महासचिव संकेत कोइरालाले भन्नुभयो, ‘आधुनिक प्रविधिको युगमा विद्यार्थीको हातमा कलम र कपी मात्र होइन, अहिलेका कम्प्युटर पनि हुन जरूरी छ, त्यसैले हामी त्यही अभियानअन्तर्गत अहिले भोजपुरका विद्यालयमा सहयोग गरिरहेका छौँ । यसलाई अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य छ ।”
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
प्रतिक्रिया