ध्यानको रन्को (लघुकथा)
मुकुन्देले ध्यानको नाममा आँखा चिम्लेर बस्दाबस्दै एउटा ठुलो गल्ती गर्याे । उसले ध्यानकै मुद्रामा बसेर ऐया ! भन्दै आफ्नो खुट्टा कन्याउन थाल्यो ।
"ए नानी ! त्यो परालको टापुभित्र कसले सुसेली हालेको हो; कि यो मकैबारीमा भूत पलायो ?" गाउँका मुखिया बाजेले आँखा मिच्दै रहस्यमय ढङ्गले सोधे ।
गाउँको बीचमा एउटा ठुलो बरको रूख थियो । त्यहाँ आजभोलि अचम्मको दृश्य देखिन्थ्यो । 'विश्व शान्ति र सद्भावका लागि ध्यान' भन्ने ब्यानर टाँगिएको थियो तर शान्तिको साटो त्यहाँ अनौठो हल्लीखल्ली थियो । गाउँका केटाकेटीहरू चल्न नहुने गरी 'ध्यान' मा बसेका थिए तर कसैको आँखा एउटा मिचिएको थियो त कसैको जिब्रो बाहिर झुण्डिएको थियो ।
कुरा के रहेछ भने, यो वर्षको ध्यान दिवसमा गाउँका ठालुहरूले एउटा नियम बनाएका थिए- "जसले सबैभन्दा लामो समयसम्म सास नफेरी ध्यान गर्छ, उसले एउटा सिङ्गो खसी पुरस्कार पाउँछ ।"
अब के चाहियो ? शान्तिका लागि गरिने ध्यान त यहाँ 'खसी' का लागि गरिने 'युद्ध' मा परिणत भयो ।
केटाकेटीहरू एकअर्कालाई जिस्काउँदै, आँखा झिम्काउँदै ध्यानको नाटक गरिरहेका थिए । भित्रभित्रै सबैको ध्यान खसीको पक्कुमा थियो, तर बाहिर भने सबै 'बुद्ध' बन्ने होडमा थिए । त्यही भीडमा एउटा सानो चुलबुले केटो थियो- मुकुन्दे ।
मुकुन्देले ध्यानको नाममा आँखा चिम्लेर बस्दाबस्दै एउटा ठुलो गल्ती गर्याे । उसले ध्यानकै मुद्रामा बसेर ऐया ! भन्दै आफ्नो खुट्टा कन्याउन थाल्यो ।
"ए मुकुन्दे ! ध्यानमा त ढुङ्गा जस्तै हुनुपर्छ, तँ त बाँदर जस्तो चल्छस् ?" अर्को साथीले आँखा नखोली नै गाली गर्याे ।
मुकुन्देले व्यङ्ग्य गर्दै जवाफ दियो, "होइन ओई, म त विश्व शान्तिको लागि आफ्नो शरीरको जुम्रासँग सम्झौता गर्दैछु । जुम्राले टोक्दा पनि नचल्नु नै त असली सद्भाव हो नि, होइन र ?"
त्यहाँ उपस्थित ठुला मानिसहरू "शान्ति, शान्ति" भन्दै चिच्याइरहेका थिए, तर उनीहरूको स्वरले गाउँका कागहरू नै तर्सेर भागिसकेका थिए । कसैको ध्यान फेसबुकको 'लाईभ' मा थियो त कसैको ध्यान छिमेकीको आलोचनामा । आडम्बरको यो कुरुप ऐना देखेर मुकुन्देलाई हाँसो उठ्यो ।
उसले अचानक एउटा जुक्ति निकाल्यो । उसले गोजीबाट एउटा सानो पटाका निकाल्यो र ध्यानको 'महायज्ञ' भइरहेको ठाउँ नजिकै पड्काइदियो । 'ड्याम्म' आवाज आउनेबित्तिकै शान्तिका दूत बनेका ती सबै ध्यानधारीहरू "बाफ रे ! बम पड्कियो !" भन्दै आकाशतिर हात उठाएर कुद्न थाले । कोही नालीमा खसे, कोही रुखमा चढे ।
केही बेरमा शान्त भएपछि मुकुन्देले मुसुमुसु हाँस्दै भन्यो, "खै त तपाईंहरूको ध्यान ? एउटा आवाजले त विश्व शान्तिको सात्तो पुत्लो उडायो त !"
सबैजना जिल्ल परे । उनीहरूले बुझे कि ध्यान भनेको आँखा चिम्लेर खसीको सपना देख्नु वा देखावटी शान्तिको ढोंग गर्नु होइन, बरु भित्री मनको कोलाहललाई शान्त पार्नु रहेछ ।
अन्तमा, मुखिया बाजेले लज्जित हुँदै मुकुन्देलाई हेरेर भने, "हो नानी, जबसम्म मनभित्र स्वार्थको भुटुन पाकिरहन्छ, तबसम्म बाहिर आँखा चिम्लेर बस्दैमा कहाँबाट शान्ति र सद्भाव पलाउँछ र ?"
२०८२ पुस ६ गते (विश्व ध्यान दिवस-२०२५ डिसेम्बर २१)
प्रतिक्रिया