बिहीबार ०१ माघ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

करियर शिक्षा : भविष्यको नक्सा कोर्दै विद्यार्थी

भविष्यमा के बन्ने, कसरी त्यसको बाटो तय गर्ने भन्ने विषयमा केन्द्रित रहेर गरिएको कार्यक्रममा दक्षिणकाली नगरपालिकाका आठ विद्यालयका कक्षा ९ मा अध्ययनरत १६ विद्यार्थीले आ–आफ्नो योजना प्रस्तुत गरेका थिए ।

रोटरी क्लब जावलाखेल, रुक्मिणी फाउण्डेसन र दक्षिणकाली नगरपालिकाको आयोजनामा शुक्रबार दक्षिणकाली नगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धात्मक कार्यक्रम गरिएको छ । 

भविष्यमा के बन्ने, कसरी त्यसको बाटो तय गर्ने भन्ने विषयमा केन्द्रित रहेर गरिएको कार्यक्रममा आठवटा विद्यालयका कक्षा ९ मा अध्ययनरत १६ जना विद्यार्थीले आ–आफ्नो योजना प्रस्तुत गरेका थिए । 

खोकना जन सेकेण्डरी स्कुलका आशीष दुलालले सफ्टवेयर बन्न चाहेको बताउनुभयो । ‘मलाई कम्प्युटर कोडिङमा चासो छ, त्यसैले भविष्यमा प्रोफेसलन कम्प्युटर इञ्जिनियर बन्न चाहन्छु,’ उहाँले भन्नुभयो । 

सोही विद्यालयकी साजन बुढामगरले नर्स बन्ने चाहना व्यक्त गर्नुभयो । ‘यो मेरो रुचिको विषय हो, नर्स बनेर दुःखी, गरिबको सेवा गर्न चाहन्छु,’ उहाँले भन्नुभयो । 

पञ्चकन्या स्कुलका आयाम लामाले भविष्यमा सेफ बन्ने चाहना व्यक्त गर्नुभयो । उहाँले त्यसका लागि आफ्ना योजना पनि सुनाउनुभयो । 

पञ्चकन्याकै एलिसा वाइबाले शिक्षक बनेर ज्ञानको ज्योति बाँड्न चाहेको बताउनुभयो । ‘स्कुल, कलेजमा पढाउँछु, समाज र देशको सेवा गर्छु,’ उहाँले भन्नुभयो । 

सेतीदेवी मावि, टल्कुकी एलिसा बलामीले उद्यमी बन्ने योजना सुनाउनुभयो । ‘बिजनेस स्टडिज पढ्छु, अनलाइन प्ल्याटफर्मको उपयोग गर्दै व्यवसाय गर्छु,’ उहाँले भन्नुभयो, ‘सानो लगानीमा स्थानीय उत्पादनको व्यवसाय सुरु गरेर त्यसलाई विस्तार गर्दै लैजान्छु ।’

सेतीदेवीकै सन्देश बलामीले भविष्यका प्राविधिक क्षेत्रको सरकारी जागिर खाने बताउनुभयो । ‘कम्प्युटर र प्रविधिमा रुचि छ, विज्ञान विषय पढ्छु, कम्प्युटर इञ्जिनियरिङ गरेपछि सरकारी सेवाका लागि लोकसेवामा प्रतिस्पर्धा गर्छु,’ उहाँले भन्नुभयो । 

सेतीदेवी मावि सोखेलकी अंकिशा श्रेष्ठले डाक्टर बन्ने योजना सुनाउनुभयो । ‘म बायोलोजी पढ्छु, डाक्टर बनेर समुदाय र देशको सेवा गर्छु अनि अनुसन्धानका काममा संलग्न हुन्छु,’ उहाँले भन्नुभयो । 

सोही विद्यालयका रिजन खत्रीले व्यवसायी बन्ने बताउनुभयो । ‘कृषि र पर्यटन क्षेत्रमा काम गर्छु, अर्गानिक उत्पादन बेच्छु, विदेशी कामदारलाई निरुत्साहित गर्छु,’ उहाँले भन्नुभयो । 

अरुणोदय माविका भरत बुढाथोकीले भविष्यमा अंग्रेजी शिक्षक बन्ने बताउनुभयो । अरुणोदयकै ग्याल्मो तामाङले समाजसेवी बन्न चाहेको बताउनुभयो । ‘अनाथ र असहाय बालबालिकाको सेवा गर्न चाहन्छु,’ उहाँले भन्नुभयो । 

चम्पादेवी माविका रस्मोस तामाङले व्यवसायी बन्ने बताउनुभयो । 

चम्पादेवीकै श्रेया थापामगरले डाक्टर बन्ने बताउनुभयो । ‘बायोलोजी पढ्छु, मेडिकल क्षेत्रका उच्च प्रविधिलाई अंगीकार गर्दै कुनै एक विषयमा विशेषज्ञ बनेर आममानिसको सेवा गर्छु,’ उहाँले भन्नुभयो ।

फर्पिङ सेकेण्डरी स्कुलकी रिमा महर्जनले वकिल बन्ने बताउनुभयो । ‘वकिल बनेर सर्वसाधारणका लागि कानुनी वकालत गर्छु,’ उहाँले भन्नुभयो । 

कालीदेवी माविकी सजिना गोलेले शिक्षक बन्न चाहेको बताउनुभयो । ‘शिक्षक सेवा आयोग पास गरेर योग्य शिक्षक बन्छु, शिक्षामार्फत विद्यार्थीको भविष्य उज्वल बनाउँछु,’ उहाँले भन्नुभयो । 

कालीदेवीकै सुचित तामाङले चार्टर्ड एकाउण्टेन्ट बन्ने बताउनुभयो । ‘मलाई गणितमा रुचि छ, म चार्टर्ड एकाउण्टेन्ट बन्न योग्य छु,’ उहाँले भन्नुभयो । 

१६ जना प्रतिस्पर्धीमध्ये खोकना माविकी साजन बुढाथोकी प्रथम, सेतीदेवी माविकी एलिसा बलामी द्वितीय र अरुणोदय माविकी ग्याल्मो तामाङ तृतीय हुनुभएको थियो । 

पवित्रा प्याकुरेलले तयार पार्नुभएको करियर प्लानको खाकामा विद्यार्थीहरुले प्रस्तुती दिएका थिए । 

कार्यक्रममा डा. सुवास प्याकुरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

रोटरी क्लब जावलाखेलकी निता सिंह, त्रिपद्म माविका शिक्षक दयाराज आचार्य र महेन्द्र बाैद्ध माविका शिक्षक खेमनाथ सापकोटा निर्णायक हनुहुन्थ्यो । 

प्रथम, द्वितीय र तृतीय बन्न सफल र सहभागी विद्यार्थीहरुलाई दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।