सोमबार २९ मंसिर, २०८२

नेपाली समय

Facebook Live Youtube Live

याेमरी पुन्हीकाे साँस्कृतिक महत्व

‘यमरी पुन्ही’का अवसरमा काठमाडाैं उपत्यकामा विभिन्न कार्यक्रम आयाेजना गरिए ।

मार्ग शुक्ल पूर्णिमाको दिन बिहीबार नेवार समुदायले ठूलो चाडको रूपमा ‘यमरी पुन्ही’ मनाएकाे छ । ‘यमरी पुन्ही’का अवसरमा काठमाडाैं उपत्यकामा विभिन्न कार्यक्रम आयाेजना गरिए । 

२२औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यमरी पुन्हीलाई संस्कारका रूपमा मनाउनुपर्ने बताउनुभएकाे छ । उहाँले ज्यापु दिवसले मिहिनेत, माटो र पहिचान दर्शाउने पनि उल्लेख गर्नुभयाे ।

बिहानैदेखि नेवार समुदायको घरघरमा यमरी अर्थात चामलको पिठोबाट बनेको परिकार पाकेको छ ।

‘त्य:छिं त्य:, बकछिं त्य:

लातापाता कुलिचां जुसें त्य:

योमरी च्वामु, उकिइ दुने हामु

बिउम्ह: ल्यासे, मबिउम्ह बुरिकुति’

यसै सन्दर्भमा गाइने गीत हो यो । यमरी पूर्णिमाको दिन साँझ घरघरमा युवायुुवतीले यही गीत गाउँदै यमरी तथा धान, चामल, दामलगायत माग्ने गर्छन् ।

तिहारमा देउसी/भैलो खेले जस्तै गरी आज त्य:छिं त्य: बकछिं त्य: खेलेर यमरी माग्दै रमाइलो गर्ने मल्लकालीन प्रचलन लोप हुँदै गएको छ ।

नेपाल भाषाको यो गीतमा पैसा हुनेले पैसा दिनु, धान हुनेले धान दिन, चामल हुनेले चामल दिनु, यमरी हुनेले यमरी दिनु, केही नहुनेले संस्कृति संरक्षणका लागि मन दिनु भन्ने भाव हुन्छ ।

लोकलयमा परम्परागत योमरी माग्ने प्रचलन पछिल्ला पुस्ताले अनुसरण गर्न छाडेको संस्कृतिकर्मी सुमन श्रेष्ठ बताउनुहुन्छ ।

‘त्य: सिं त्य: बकसिं त्य:

थाबले यागु य:मरी छग ती य:

ब्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती

न्यग ब्यूसा काय् बुई छग ब्यूसा म्ह्याय् बुई

तालापाता कुलिचां जुसें त्य:

य:मरी माकु उकी दुने चाकु

व्यूम्ह ल्यासे मव्यूम्ह बुरीबुरी’

संस्कृतिकर्मी श्रेष्ठले मल्लकालीन समयमा नेपाल भाषा उच्च स्थानमा रहेकाले यमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने बताउनुभयाे । यमरी माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्को समेत पाइने उहाँको भनाइ छ ।

यमरी पूर्णिमाको दिन यहाँका नेवार समुदायले समयसूचक चाड एवं दान पर्वको रूपमा यमरी पून्ही मनाउने गर्छ । आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा पनि लिने गरिन्छ । धान्य पूर्णिमा अर्थात यमरी पून्हीको अवसरमा दान गरे फलिफाप हुने विश्वास छ ।

मल्लकालदेखि यो पर्वमा आजको दिन कुनै पनि चीज दान गर्दा पूण्य प्राप्त हुने विश्वासले यमरी लिने र दिने परम्परा रहेको अर्का संस्कृतिकर्मी श्रीकुमार जोशी बताउनुहुन्छ । 

यमरी पुन्हीका दिन गृहिणीहरू शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुँदपाक, खुवा राखी त्रिकोण आकारमा बनाइ पानीको बाफमा पकाउने गर्छन् । पूर्णिमाका दिन योमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ ।

यसो गर्दा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ । परम्परा अनुसार यमरी पकाएको चार दिन, ६ दिन र १२ दिनसम्म धानको भकारीमा यमरी पुजा गर्ने र छोरी चेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । यमरीलाई कुवेर र गणेशका प्रतिकका रूपमा लिइन्छ ।

यमरीलाई धानका भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ । यस पुन्हीमा नेवारी समुदायले पहिलो धान भित्र्याएको भकारीमा त्यसमध्येकै केही चामलको पिठोमा बनाइएको यमरीबाट देवता पूजा गर्ने चलन भएकाले धान्यपूर्णिमा पनि भन्ने गरिएको हो ।

यमरीलाई कुवेर र गणेशका प्रतिकका रूपमा समेत लिइन्छ । यमरी खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ भन्ने मान्यता छ । यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पुजा गर्ने र छोरी चेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ