जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
"प्रेमको कथा तब मात्र पूरा हुन्छ, जब खुसीको पलमा पनि एक आत्माले अर्को आत्मालाई गहिरोसँग याद गरिरहेको हुन्छ ।"
(विवाह पञ्चमी सन्दर्भको बाल-उपन्यास) – (भाग १)
धेरै-धेरै वर्ष अघिको कुरा हो, जब जनकपुरमा ठूलो उत्साह थियो । त्यो रात विवाह पञ्चमीको रात थियो अर्थात् राम र सीताको विवाहको सम्झना गर्ने खुसीको पर्व ।
एकदमै अँध्यारो रातमा, गाउँभन्दा अलिक परको एउटा ठूलो, बुढो पीपलको रूखमा दुई साथीहरू बसेका थिए । एकजना थिए कालो काग, जसको नाम गुरुजी काका थियो । उनी धेरै ज्ञानी थिए र सबै कुराको रहस्य बुझ्थे ।
अर्को थियो सेतो परेवा, जसको नाम नयन थियो । नयन एकदमै छिटो उड्न सक्थ्यो र उसलाई सधैँ कुनै न कुनै नयाँ कुरा खोज्ने हतार हुन्थ्यो ।
त्यो रात, नयन निकै बेचैन देखिन्थ्यो । ऊ आफ्ना पखेटाहरू बारम्बार फडफडाइरहेको थियो ।
गुरुजी काकाले शान्तसँग सोधे, "ए नयन, तिमीलाई यति हतार किन ? के तिम्रो पखेटामा चाँदीको धूलो टाँसिएको हो र ?"
नयनले आफ्ना चम्किला आँखाहरू आकाशतिर उठायो । उसले देख्यो- चन्द्रमा पातलो सेतो घुम्टोले ढाकिएको दुलहीजस्तै लुकेको थियो ।
नयनले गम्भीर हुँदै जवाफ दियो, "मेरो हतार धूलोले होइन, काका ! मलाई त नदेखिने धागोले तानिरहेको छ । आज जनकपुरमा धेरै जोडीको विवाह हुँदै छ तर हरेक विवाहको सुरुमा एउटा पुरानो रहस्य लुकेको हुन्छ । मैले त्यही अदृश्य धागोको पहिलो टुप्पो पत्ता लगाउनुपर्छ ।"
गुरुजी काका मुसुक्क हाँसे । उनको हाँसो एकदमै सानो थियो, शीतको थोपा झैँ मधुरो ।
"हा-हा-हा," काका हाँसे, "बाबु, धागो त केवल मायाले बनाएको एउटा भ्रम मात्र हो ! तिमी किन धागो खोज्दै छौ ? सबै कुरा त आ-आफ्नो ठाउँमा सधैँ स्थिर र अटल रहन्छन् नि ।"
नयनले टाउको हल्लायो । उसको विचार अलि फरक थियो ।
"स्थिर ?" नयनले सोध्यो, "तिमी बिर्सन्छौ, काका, कुनै पनि 'सत्य' तबसम्म स्थिर रहँदैन जबसम्म हाम्रो 'चाहना' त्यसको बाटोमा पर्दैन । मैले खोजिरहेको त्यो टुप्पो, आजको खुसीको नयाँ सुरुआतको अन्त्य होइन; त्यो त धेरै अघिको एउटा वाचाको प्रतिक्षा हो ।"
नयनले भन्न खोजेको कुरा अलि गाह्रो थियो । उसले भन्न खोजेको थियो कि कुनै नयाँ कुरा सुरु हुनुअघि, कुनै पुरानो कथाको अंशलाई सम्झनुपर्छ ।
नयनले यति भन्दै गर्दा, अचानक उसले केही आवाज महसुुस गर्याे । उसको अनुहारमा डर र अचम्म एकैचोटि देखियो । उसको मुटु ढुकढुक गर्न थाल्यो ।
उसले हतारिँदै गुरुजी काकालाई सोध्यो, "के... के तिमीले पनि त्यो आवाज सुन्यौ ?"
गुरुजी काका अझ नजिक सरे- "कस्तो आवाज ?"
नयनको आवाज डरले काँपिरहेको थियो- "त्यो आवाज... त्यो त सीता माताको चुरा फुटेको आवाज होइन ? तर आज त उहाँको विवाहको उत्सव भइरहेको छ ! अनि त्यो आवाज त टुटिसकेको पुरानो प्रतिज्ञाको जस्तो सुनिन्छ..."
नयनको वाक्य पूरा हुन पाएन ।
एक्कासि आकाशबाट तेजिलो नीलो प्रकाशको एउटा किरण सिधै उनीहरू बसेको पीपलको रुखमा झर्याे । त्यो उज्यालो यति छिटो थियो कि आँखा झिमिक्क गर्न पनि पाइएन ।
त्यो प्रकाशसँगै एउटा सरल र मीठो आवाज गुरुजी काकाको कानमा प्रतिध्वनि भएर गुन्जियो- "प्रेमको कथा तब मात्र पूरा हुन्छ, जब खुसीको पलमा पनि एक आत्माले अर्को आत्मालाई गहिरोसँग याद गरिरहेको हुन्छ ।"
जब त्यो प्रकाश हरायो, गुरुजी काकाले माथि हेरे । नयन परेवा त्यहाँ थिएन !
त्यसको ठाउँमा, हावामा पातलो चाँदीको धूलो बिस्तारै-बिस्तारै उडिरहेको थियो, जुन नयनको पखेटामा टाँसिएको भनिएको थियो ।
गुरुजी काकाले एकछिन लामो सास फेरे । उनी धेरै ज्ञानी भए पनि यो रहस्य बुझ्न सकेनन् । उनले एक्लै बिस्तारै सोधे, "अनि त्यो, जसको टुटिसकेको चुराको आवाज अझै गुन्जिरहेको छ, उसले कसलाई बिर्सियो र आजको खुसीको विवाहमा पनि याद गरिरहेको होला त ?"
त्यो रात, जनकपुरको विवाहको खुसीबीच, पीपलको रूखमुनि एउटा गहिरो रहस्य बाँकी रह्यो, जसले गुरुजी काकालाई वर्षौंसम्म सोच्न बाध्य बनायो ।
श्री जनता मा.वि. (प्राविधिक) गोलबजार-४, सिरहा ।
प्रतिक्रिया