सोमबार १५ मंसिर, २०८२

नेपाली समय

Facebook Live Youtube Live

‘नीलकमल’ बाल-उपन्याससँगको यात्रा  (समीक्षा)

‘नीलकमल’ बालमनको सुगन्ध हो, जसले पाठकको आत्मा स्पर्श गर्छ ।

साहित्यकार ललिता ‘दोषी’ द्वारा लिखित बालउपन्यास ‘नीलकमल’ को छैठौं संस्करण पढेपछि केही क्षण म खामोश बनेँ; मनभित्रको खुलदुली रोकिएन । सरल भाषामा लेखिएको यो उपन्यास बालहृदयको निख्खर भावनाको सुन्दर र सुगन्धित फूल झैँ लाग्यो ।

बालबालिका केन्द्रित उपन्यास भए पनि, यसको प्रत्येक पृष्ठमा जीवनका यस्ता गहिरा अर्थहरू भेट्टाएँ  जसले वयस्क मनलाइ स्पर्श गर्न सकेका छन् । बालपनको निर्दोषता, प्रेम, करुणा र आत्मबलका सन्देशहरूले मनभित्रको सुष्म स्मृतिलाई जगायो ।

अभिभावकका रूपमा बालमनोविज्ञान बुझ्न, शिक्षकका रूपमा बालसाहित्यको शक्ति महसुस गर्न, र साहित्यप्रेमीका रूपमा सरल शब्दभित्रको गहिरो जीवनबोध पाउन ‘नीलकमल’ पढ्नैपर्ने कृति  हो भन्ने लाग्यो । त्यसैले म मौन भए पनि, शब्दहरूले बोल्न थाले— ‘नीलकमल’ बालमनको सुगन्ध हो, जसले पाठकको आत्मा स्पर्श गर्छ ।

काठमाडौँको संक्षिप्त चित्रणसँगै सुरु भएको पहिलो पाठमा कमलका बाबुआमा गोविन्द र शोभा आफ्ना पुख्र्यौली सम्पत्तिका धनी भएतापनि छोरा कमलले यथेष्ट संरक्षण तथा माया पाउन सकेको देखिँदैन, घरबाट । अर्कातर्फ नीलाका बाबुआमा  त्रिलोचन र राधा सर्लाहीबाट बसाई सरेर काठमाडौँ आएका छन् ।

नीलाले त्रिलोचनको मृत्युपछि  बाबुको माया ममता अनुभव गर्न पाइनन् । तर उनकी आमाले भने मुटुको टुक्रा जस्तै गरी हुर्काइन नीलालाई  । 

निलाकी आमा राधाले कमलकी आमा शोभालाई र बच्चा कमललाई तेल लगाउने देखि घरको काममा सघाउन थालिन् । त्यसैले पनि राधाले कमललाई माया गर्थिन् बच्चैदेखि र कमलले पनि बिस्तारै राधालाई मन पराउँदै, माया गर्दै जान थाले ।

कमल र निला छुट्टाछुट्टै स्कुलमा पढे पनि उनीहरु बीच एक अर्कामा सहयोग र स्नेह बढ्दै गइरहेको थियो । नीलामा उमेर अनुसारको सचेतना, र आत्मविश्वास थियो । साथै, उनी कथाहरू सुनाउन साथीहरुबीच परिचित थिइन् । कमललाई कथा भन्न सिकाएकी छन् उनले धेरैपटक ।

निला र कमलबीच बढ्दै गइरहेको सामिप्यता छिमेकीहरूलाई मन पर्दैन त्यसैले उनीहरूले यो विषयमा कमलको आमालाई सुनाउन थाले, कुरा लगाउन थाले ।

लगत्तै कमलको आमाले निलासँग खेल्न समेत निषेध गर्छिन् ।  नीला र उनको आमालाई अहिले बसेको ठाउँ छोड्न समेत निर्देश गर्छिन्, शोभाले । यो पनि सफल नभएपछि शोभाले राधालाई कुटपिट गरेर हात पनि भाँचिदिन्छिन् ।

राधा र निलाले अनेक पीडा सहँदै कठिनपूर्ण जीवन बिताइरहेका थिए । एकदिन मोटरसाइकलले कमललाई किचेछ । अनि कमलको अप्रेसन गर्दा एउटा खुट्टा काट्नु परेको डाक्टरले जानकारी गराए । शोभा र गोविन्दको होस् उडेझैँ भयो । आफ्नो गल्तीको पश्चाताप गर्दै छटपटाइरहे कमलका बाबुआमा । नीला अस्पतालमा आइपुगेको देखेर उनीहरूको मनमा शान्ति मिल्यो । 

रत्ना बजैले कमल असल हुनुमा राधा र नीलाको योगदान रहेको विषय उजागर गरिन्। आवश्यक परेमा सहयोगीको रूपमा उभिन कन्जुस्याई गरिनन् रत्ना बजै । यस्तो ज्ञान पनि उनले नीलाबाट सिकेकी हुन् ।

नीला बारम्बार अस्पताल गएर कमललाई निराशा हुनबाट बचाइन् । कमललाई सम्झाइन् । कमलको हाँसोमा हाँसो मिलाउँदै हिम्मत दिँदै डोर्याउँदै अगाडि बढिरहिन् । सायद जीवन पर्यन्त यो प्रक्रिया चलि रहेको होला नीलकमलको ।

सरल र सहज भाषामा लेखिएको यो उपन्यासमा शब्द र विषयवस्तुको चयन प्रशंसनीय छ । अझ महत्त्वपूर्ण कुरा यो पुस्तक सबै उमेरका सबै वर्गका व्यक्तिका लागि पठनीय छ ।

अभिभावक र शिक्षकको लागि त पढ्न आवश्यक नै छ । आफ्नो बालबालिका असल वा खराब हुनुमा कसको र के कस्तो भूमिका रहेछ भन्ने विषयमा पनि पुस्तकले सन्देश प्रवाह गरेको छ भन्ने मैले महसुस गरे । समाज परिवर्तनको लागि नाराभन्दा व्यवहार ठूलो हुन्छ, महत्वपूर्ण हुन्छ भन्ने निक्र्योलमा पुगे ।

साहित्यकार ललिता दोषीका कलम अघि बढुन् शुभकामना ।