आइतबार ०२ कात्तिक, २०८२

नेपाली समय

Facebook Live Youtube Live

कक्षा १२ पढ्दापढ्दै व्यवसाय : राेशनको प्रेरणादायी यात्रा (भिडियाे)

“रोजगारीका लागि विदेश जानैपर्ने होइन । आफ्नै देशमा पनि धेरै अवसर छन् । सीप सिकेर काम गरे कोही बेरोजगार हुनुपर्दैन ।”

बालसंसार डट कमको लोकप्रिय कार्यक्रम ‘किशोर आवाज’ को २९औं भागमा यसपटक हामीले भेट गरेका छाैं– कक्षा १२ मा अध्ययनरत र आफ्नै व्यवसाय सञ्चालन गर्नुभएका प्रेरणादायी युवा राेशन ठाकुर ।

उहाँ अहिले काठमाडौंको ट्रिटन माविमा अध्ययन गर्दै हुनुहुन्छ र पढाइसँगै कोटेश्वरमा रहेको ‘आरएक्सएन कट’ नामक सैलुन सञ्चालन गर्नुभएको छ ।

पढाइको बीचमै आफ्नै उद्यम सुरु गर्नु र दुई जनालाई रोजगारी दिनु उहाँको प्रतिबद्धता, लगनशीलता र हिम्मतको स्पष्ट उदाहरण हो ।

राेशन ठाकुरको सीप र यात्रा बाल्यकालमै सुरु भएको हो । उहाँले मुस्कुराउँदै भन्नुभयो, “चार कक्षा पढ्दै थिएँ, बुबासँग सैलुनमा जान्थें । कैंची चलाउने अभ्यास गर्थें । बिस्तारै आत्मविश्वास बढ्दै गयो ।” त्यही सानो अभ्यास र लगनले उहाँको भविष्यको बाटो कोरेको हो ।

कक्षा १० उत्तीर्ण गरेपछि उहाँ थप अध्ययनका लागि काठमाडौं आउनुभयो । नयाँ सहर, नयाँ वातावरण र धेरै चुनौतीबीच पनि उहाँले पढाइ र काम दुवैलाई निरन्तरता दिनुभयो । पढाइसँगै कामले उहाँलाई झन् दृढ बनायो । 

समयसँगै उहाँको सीप र सोच परिपक्व हुँदै गयो । बिस्तारै उहाँले महसुस गर्नुभयो कि अरूका लागि काम गर्ने भन्दा आफ्नै व्यवसाय सुरु गर्नु राम्रो हुन्छ । यही सोचले उहाँलाई ‘आरएक्सएन कट’ स्थापना गर्ने हिम्मत दिलायो ।

सुरुमा पूँजीको अभाव, ठाउँ खोज्ने झन्झट र ग्राहक जमाउने कठिनाइ भए पनि उहाँले कहिल्यै हार मान्नुभएन । परिवारको साथ, आफ्नै मिहिनेत र ग्राहकको विश्वासका कारण अहिले उहाँको सैलुन राम्रोसँग सञ्चालनमा छ । अन्य दुई जनाले पनि रोजगारी पाएका छन् ।

राेशनले आफ्नो कामलाई व्यवसायको रूपमा मात्र होइन, अवसर सिर्जना गर्ने माध्यमका रूपमा हेर्नुभएकाे छ । उहाँको योजना छ– आगामी तीन वर्षभित्र काठमाडौंका विभिन्न ठाउँमा १० वटा सैलुन खोल्ने । त्यससँगै लेडिज पार्लर पनि सञ्चालन गर्ने र १५ देखि २० जना युवालाई रोजगारी दिने उहाँको सपना छ ।

उहाँको भनाइमा, “रोजगारीका लागि विदेश जानैपर्ने होइन । आफ्नै देशमा पनि धेरै अवसर छन् । सीप सिकेर काम गरे कोही बेरोजगार हुनुपर्दैन ।”

राेशन ठाकुरको सोच केवल व्यक्तिगत सफलतामा सीमित छैन । उहाँ चाहनुहुन्छ– नेपालका बालबालिकाले सानो उमेरदेखि नै व्यावहारिक र व्यावसायिक शिक्षा पाऊन् । बाल्यकालदेखि नै सीप सिकाउने अभ्यास सुरु हाेस् । पढाइसँगै हातका सीप र सोचको विकास भयो भने विदेशतिर हेर्नु नपर्ने हुन्छ ।”

उहाँका अनुसार, सीप सिक्न लाज मान्नु हुँदैन र प्रत्येक युवाले आफ्नो रुचिलाई व्यावसायिक रूप दिन सक्नुपर्छ।

उहाँ भन्नुहुन्छ, “सपना देख्नु सजिलो छ तर त्यसका लागि काम गर्न तयार हुनुपर्छ । सानो काम पनि इमानदारीपूर्वक गरे त्यसले ठूलो नतिजा दिन्छ ।”