कोइलीको जुक्ति (बालकथा)
कालिजले सम्झायो– “अस्तिन तिम्रो बचेरा उड्न सिक्दा मेरो छेउमै पछारियो । मैले तिम्रो बचेरालाई अरूले खाला भनेर कुरेर बसेँ । त्यो सबै भुल्यौ ?”

कालिज चाराको खोजीमा आफ्नो गुँडबाट थोरै टाढा मात्र के पुगेको थियो, कागले आफ्नो चल्ला उडाएर लगेको देख्यो ।
ऊ दौडँदै कागको गुँडमुनि गएर नम्र हुँदै भन्यो– “बिन्ती काग दाइ, मेरो चल्लालाई नमार ।”
कागले खुट्टामा चल्ला च्याप्दै भन्यो– “मैले त्यसै ल्याएको छु र ! मेरो बचेराको पेट भर्नु परेन त ?”
कालिजले सम्झायो– “अस्तिन तिम्रो बचेरा उड्न सिक्दा मेरो छेउमै पछारियो । मैले तिम्रो बचेरालाई अरूले खाला भनेर कुरेर बसेँ । त्यो सबै भुल्यौ ?”
कागले काँ गर्दै भन्यो– “उहिलेका कुरा सम्झेर पनि हुन्छ मूर्ख ? उहिलेको कुरा खुइलिए ।”
अर्को रूखमा बसेको कोइलीले सबै कुरा सुनिरहेको थियो । उसले खुसुक्क कागको बच्चा चुच्चाले च्याप्यो । कोइलीले हेर्दाहेर्दै उडाएर कालिजसामु लगेर राखिदियो ।
कालिज साह्रै खुसी भयो । काेइलीले कुहूकुहू गर्दै भन्यो– “ल भन, अब उहिलेको कुरा सम्झिने कि बिर्सिने ? कालिज, तिमीले पनि यिनलाई बचेरा नदेऊ ।”
कालिजले खुसी हुँदै भन्यो– “तिमीलाई धेरै धन्यवाद छ । सोझालाई भगवानले साथ दिनुहुन्छ भनेको यही रहेछ । अब कसरी मेरो चल्लालाई मार्दो रहेछौ हेरौँला ।”
कागले कालिजको सामु चल्ला राख्दै भन्यो– “कोइली, तिमीले जे गर्यौ, ठीक गर्यौ । कालिज, मलाई माफ गर । सबैलाई बच्चाको माया उस्तै हुन्छ भन्ने कुरा भुसुक्कै भुलेछु ।”
कागको कुराले कालिज र कोइली पनि खुसी भए ।
कागको बचेराले खुसी हुँदै भन्यो– “हामी दुवैलाई बचाउने कोइली दाइको जुक्ति साह्रै राम्रो लाग्यो ।”
कालिजको चल्लाले पनि सही थाप्दै भन्यो– “हो त कति राम्रो जुक्ति, त्यसैले सबैले कागभन्दा कोइली बाठो भनेका रहेछन् नि !”
दुवै बचेराहरूको कुरा सुनेर कोइली, काग र कालिज सबै साह्रै खुसी भए । बचेराहरू पनि रमाउँदै खेल्न थाले ।
बुद्धनगर, काठमाडौँ
प्रतिक्रिया