आइतबार ०२ कात्तिक, २०८२

नेपाली समय

Facebook Live Youtube Live

चियाको स्वादमा युवाको साहस : देशमै केही गर्ने दृढता (भिडियाे)

'धेरैजसो युवा अवसर नपाएर वा डरले विदेश जान्छन् । उनीहरूलाई लाग्छ– देशमा काम पाइँदैन तर त्यो सोच बदल्न जरुरी छ । नेपालमै पनि राम्रो काम गर्न सकिन्छ ।'

बालसंसार डट कमकाे लोकप्रिय कार्यक्रम ‘किशोर आवाज’काे २८औं भागमा हामीले काेटेश्वरस्थित किङ्स चियाका सञ्चालक समुद्र मोक्तान र म्यानेजर सूर्य यादवसँग उहाँहरुकै कार्यस्थलमा पुगेर रमाइलाे कुराकानी गरेका छाैं ।

उहाँहरूले युवामाथि विश्वास गर्नुपर्छ, देशमै अवसर सिर्जना गर्नुपर्छ र राज्यले युवालाई प्रोत्साहित गर्नुपर्छ भन्ने सन्देश दिनुभएकाे छ । उहाँहरूकाे भनाइमा, देश बनाउने हो भने युवालाई विदेश जान होइन, आफ्नै देशमा काम गर्न प्रेरित गर्नुपर्छ ।

किङ्स चिया अहिले युवाहरूकाे नयाँ प्रेरणा बनेकाे छ । यो केवल चिया पसल मात्र होइन, युवाको सोच र लगनशीलताबाट बनेकाे एउटा सफल उदाहरण पनि हो ।

सञ्चालक समुद्र मोक्तानले प्रारम्भिक यात्राको कथा सुनाउँदै भन्नुभयो, 'हामीले सुरुमा सानो ठाउँबाट काम सुरु गरेका थियौं । धेरैले नेपालमा यस्तो व्यापार टिक्दैन भने पनि मिहिनेत गरे सफलता पक्कै आउँछ भन्नेमा विश्वास्त थियाैं ।' उहाँकाे त्यो विश्वास र मिहिनेतले आज किङ्स चियालाई काठमाडौंका विभिन्न स्थानमा फैलाएको छ ।

किङ्स चियाका हाल ६ वटा आउटलेट खुलिसकेका छन् र ९ जनाले स्थायी रोजगारी पाएका छन् । यीमध्ये धेरैजसो युवा हुन्, जसले पढाइसँगै अनुभव पनि बटुलिरहेका छन् । मोक्तान भन्नुहुन्छ, 'हामी युवाका लागि अवसर बनाउने सोचका साथ अघि बढेका हौं । ६ वटा आउटलेटले नौ जनालाई रोजगारी दिन सक्छ भने सयवटा आउटलेटले कति जनालाई अवसर दिन सक्छ ? यही सोचले हामी अघि बढेका छौं ।'

म्यानेजर सूर्य यादवले पनि आफ्नो अनुभव बाँड्दै भन्नुभयाे, 'धेरैजसो युवा अवसर नपाएर वा डरले विदेश जान्छन् । उनीहरूलाई लाग्छ– देशमा काम पाइँदैन तर त्यो सोच बदल्न जरुरी छ । नेपालमै पनि राम्रो काम गर्न सकिन्छ । त्यसका लागि धैर्य, मिहिनेत र सकारात्मक सोच चाहिन्छ ।' उहाँका अनुसार, चाहना र साहस राख्ने हाे भने आफ्नै देशमा उज्यालो भविष्य बनाउन सकिन्छ । 

किङ्स चिया केवल व्यापार होइन, सामाजिक जिम्मेवारीकाे उदाहरण पनि बनेकाे छ । मोक्तान भन्नुहुन्छ, 'हामी चिया मात्रै बेच्दैनौं, हौसला पनि बाँड्छौं । हाम्रो उद्देश्य रोजगार सिर्जना गर्नु र युवालाई आत्मनिर्भर बन्न सिकाउनु हो ।'

कुराकानीका क्रममा दुवै जनाले जेनजी पुस्ता अर्थात् आजका युवा पुस्ताकाे क्षमताको पनि चर्चा गर्नुभयो । यादवले उत्साहपूर्वक भन्नुभयाे, 'आजका युवामा संसार बदल्ने शक्ति छ । उनीहरूमा ऊर्जा छ, विचार छ तर दिशा र हौसला चाहिन्छ । परिवारले केही त गर्छस् भनेर हौसला दिनुपर्छ, अनि राज्यले बाटो खोलिदिनुपर्छ ।' मोक्तानले थप्नुभयो, 'हामीले विदेशमा मात्र उज्यालो देख्ने बानी त्याग्नुपर्छ । नेपालमै पनि उज्यालो छ, फर्केर हेर्न सकेकाे चाहिँ छैन । युवाले यहीँबाट सुरुवात गर्नुपर्छ ।'

किङ्स चियाको कथा केवल चियाको स्वाद होइन, युवाको साहस, आत्मविश्वास र दृढ इच्छाशक्तिको स्वाद पनि हो ।

‘किशोर आवाज’काे यो अंकले देखाएको छ– देशमै बसेर पनि राम्रो काम गर्न सकिन्छ, रोजगारी सिर्जना गर्न सकिन्छ र सपना साकार पार्न सकिन्छ । यो सन्देश सबै युवाका लागि प्रेरणादायी छ । विदेश जानु विकल्प हो तर देश बनाउनु जिम्मेवारी हो ।

सविता मैनाली

(शिक्षण पेसामा आबद्ध मैनाली साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ ।)