करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)
करियर शिक्षाले केवल के बन्ने ? भन्ने प्रश्नको जवाफ दिने मात्र होइन, म को हुँ ? म के गर्न सक्छु ? भन्नेमा पनि विद्यार्थीलाई सोच्न प्रेरित गर्दछ ।
बालसंसार डट कमले नयाँ कार्यक्रम करियर कर्नर सुरु गरेको छ ।
यस कार्यक्रममार्फत विद्यार्थीलाई आफ्नो भविष्यबारे सोच्ने, योजना बनाउने र करियर रोजाइमा मार्गदर्शन गर्ने प्रयास गरिएको छ ।
यसपटक करियर कर्नरमा करियर शिक्षालाई व्यवहारिक अभ्यासमार्फत विद्यार्थीबीच स्थापित गर्न निरन्तर काम गर्दै आउनुभएकी पवित्रा प्याकुरेलसँग हामीले कुराकानी गरेका छाैं । करियर शिक्षा भनेको के हो, किन आवश्यक छ र यसले विद्यार्थीलाई भविष्य निर्माणमा कसरी सहयोग गर्छ भन्ने विषयमा उहाँले विस्तारमा बुझाउनुभएकाे छ ।
उहाँका अनुसार करियर शिक्षाबारे ज्ञान हुँदा र करियरका बारेमा साेधीखाेजी गरिदिँदा विद्यार्थीले आफूलाई चिन्न, आफ्नो क्षमता र रुचि पत्ता लगाउन र भविष्यमा कुन क्षेत्रमा अघि बढ्ने भन्नेबारे सोच्न सक्ने अवसर प्राप्त गर्छन् ।
करियर शिक्षाले केवल के बन्ने ? भन्ने प्रश्नको जवाफ दिने मात्र होइन, म को हुँ ? म के गर्न सक्छु ? भन्नेमा पनि विद्यार्थीलाई सोच्न प्रेरित गर्ने उहाँ बताउनुहुन्छ ।
नेपालमा अझै धेरै विद्यार्थी भविष्यबारे स्पष्ट हुन सकिरहेका छैनन् । परीक्षा पास गरेपछि मात्र करियरबारे सोच्ने प्रवृत्ति छ । उहाँ भन्नुहुन्छ, 'विद्यालय तहमै, अझ खासगरी कक्षा ५–६ देखि नै करियर शिक्षाबारे ज्ञान दिन थालियाे भने विद्यार्थीले सानैदेखि आफ्नो लक्ष्य पहिचान गर्न सक्छन्, जसले पढाइलाई उद्देश्यपूर्ण बनाउँछ र समय खेर जान दिँदैन ।'
करियर रोजाइको पहिलो आधार आत्मपरिचय हो । विद्यार्थीले ‘Who am I ?’ भन्ने प्रश्नबाट आफ्नाे क्षमता र कमजोरी चिन्न सक्नुपर्छ । क्षमताबारे जान्नाले आत्मविश्वास बढाउँछ भने कमजोरी पहिचान गर्नाले सुधार गर्ने अवसर दिन्छ । यसरी आफूलाई बुझ्ने विद्यार्थीले भविष्यमा करियर रोज्दा सही निर्णय लिन सक्छन् ।
यस प्रक्रियामा शिक्षक र अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ । शिक्षकले मार्गदर्शन र सल्लाह दिन सक्छन् भने अभिभावकले बच्चाको रुचि बुझेर सहयोग पुर्याउन सक्छन् । विद्यालयले करियर शिक्षा सञ्चालन गर्दा विद्यार्थीलाई पढाइसँगै भविष्यबारे सोच्ने वातावरण तयार हुन्छ ।
'स्थानीय तहले पनि करियर शिक्षा प्रोत्साहन गर्ने जिम्मेवारी लिनुपर्छ, विद्यालयमा करियर मार्गदर्शन, तालिम र रोजगारीसम्बन्धी अवसर उपलब्ध गराउन स्थानीय सरकारले सहयोग गर्न सक्छन्,' प्याकुरेल भन्नुहुन्छ, 'राज्य, विद्यालय, शिक्षक र अभिभावक सबै मिलेर काम गरेमा मात्र विद्यार्थीलाई आफ्नो सपना पूरा गर्ने बाटाे तय गर्न सहज हुन्छ ।'
करियर लक्ष्य प्राप्त गर्न विद्यार्थीले चरणबद्ध योजना बनाउनुपर्ने उहाँको सुझाव छ । 'आफ्नो रुचि, क्षमता र सपना बुझेर दीर्घकालीन योजना बनाउन सके बालबालिकालाई अघि बढ्न सजिलो हुन्छ, यसका लागि निरन्तर अभ्यास र मिहिनेत अपरिहार्य हुन्छ,' प्याकुरेल भन्नुहुन्छ ।
करियर मात्र होइन, जीवन पनि सन्तुलित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 'पढाइ, काम र व्यक्तिगत जीवनबीचको सन्तुलनले विद्यार्थीलाई स्वस्थ र आत्मविश्वासी बनाउन मद्दत गर्छ, यसरी जीवनलाई व्यवस्थित गर्न सके मात्र करियर पनि सफल हुन्छ ।'
करियर रोजाइले व्यक्तिगत मात्र नभई सामाजिक र राष्ट्रिय विकासमा समेत योगदान पुर्याउने उहाँकाे भनाइ छ । विद्यार्थीले आफ्नो सीप र ज्ञानमार्फत समाजलाई फाइदा पुर्याउँछन् । सक्षम र जिम्मेवार नागरिक तयार गर्नु नै करियर शिक्षाको मूल उद्देश्य रहेकाे उहाँ बताउनुहुन्छ ।
बालबालिकालाई सपना देख्न र सफल बनाउन शिक्षक, विद्यालय र स्थानीय सरकार सबै मिलेर लाग्नुपर्ने उहाँकाे निष्कर्ष छ ।

सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)

कक्षा १२ काे पुरक परीक्षा आजदेखि

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते

शिक्षा विधेयक सच्याउनुपर्ने निजी शैक्षिक संस्था सञ्चालकको माग

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रिन्सिपलद्वारा कक्षा ५ का बालकमाथि निर्घात कुटपिट

प्रतिक्रिया