आइतबार ०२ कात्तिक, २०८२

नेपाली समय

Facebook Live Youtube Live

जेनजी पुस्ता : इन्टरनेटको सहारामा उदाएको नयाँ शक्ति

नेपालमा जेनजी पुस्ताले देखाएको कुरा स्पष्ट छ– उनीहरू आफ्नो अधिकारका लागि लड्न र पुराना नेताले दशकाैंसम्म गर्न नसकेका काम केही दिनमै गर्न सक्ने क्षमता राख्छन् ।

सुन्नुहोस्

इन्टरनेट र सामाजिक सञ्जालसँगै हुर्किएकाे जेनजी पुस्ताले नेपालसहित एसियाका धेरै देशमा राजनीति हल्लाउने आन्दोलन चर्काइरहेको छ।

नेपालमा अघिल्लो साता भएको आन्दोलनले देशको राजनीतिक नक्सा नै बदलिदिएको छ । यस आन्दोलनको नेतृत्व खासगरी नयाँ पुस्ता अर्थात् जेनजी पुस्ताले गरेको हो ।

जेनजी भन्नाले सन् १९९७ देखि २०१२ बीचमा जन्मिएका युवालाई बुझिन्छ। यो पुस्ता इन्टरनेट, मोबाइल र सामाजिक सञ्जालसँगै हुर्केकाले डिजिटल पुस्ताका रुपमा पनि परिचित छ ।

जेनजी पुस्ता पुराना पुस्ताभन्दा फरक छ । उनीहरूले सानो उमेरदेखि कम्प्युटर, मोबाइल र इन्टरनेटसँग चिनजान पाएका छन् । यसकारण उनीहरू संसारका सबै घटना चाँडै बुझ्छन् र आफ्ना विचारलाई सजिलै व्यक्त गर्न सक्छन् । सामाजिक न्याय, वातावरणको संरक्षण, असमानता र भ्रष्टाचारबारे उनीहरू धेरै संवेदनशील हुन्छन् । इन्टरनेट र सामाजिक सञ्जाल उनीहरूको सबैभन्दा ठूलो हतियार बनेको छ ।

नेपालमा पनि यही पुस्ताले चलाएकाे आन्दोलनका कारण सरकार नै ढलेकाे छ । सरकारले फेसबुक, ह्वाट्स एप र युट्युबजस्ता सामाजिक सञ्जाल बन्द गरेको थियो तर यसले युवाको आक्रोश कम गराउन सकेन ।

बरु उनीहरूले भर्चुअल प्रोक्सी र अन्य उपाय प्रयोग गरेर सामाजिक सञ्जालमा सूचना आदानप्रदान गरिरहे । डिजिटल माध्यमबाटै हजारौँ युवा भेला भए र सडकमा प्रदर्शन गरी पुराना नेताको असफल नेतृत्वको विरोध गरे ।

आन्दाेलनमा भएकाे दमन र त्यसपछिका घटनाका कारण ६ दर्जन व्यक्तिकाे मृत्यु भइसकेकाे छ भने खर्बाैंकाे धनजन क्षति भएकाे छ ।

यस आन्दोलनको कारणले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्न पुग्याे । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार बनेको छ । कार्कीले पद सम्हाल्दै भन्नुभयो, 'यो सरकार केवल संक्रमणको नभई भविष्यतर्फको पुल हो ।'

नेपालमा भएका यी घटनाले देखाउँछन् कि जेनजी पुस्ता अब केवल मोबाइलमा रमाउने मात्र होइन, देशको भविष्य परिवर्तन गर्न सक्ने शक्ति पनि हो ।

नेपालमा भएको आन्दोलनलाई अरू एसियाली देशका घटनासँग पनि तुलना गर्न सकिन्छ । इन्डोनेसियामा शिक्षा सुधार र रोजगारीका कारण, बंगलादेशमा मूल्यवृद्धि र भ्रष्टाचारका कारण र श्रीलंकामा आर्थिक संकटका कारण युवाहरू सडकमा उत्रिएका थिए । ती सबै आन्दोलनमा जेनजी पुस्ता अगाडि देखिएको थियो । अन्तर्राष्ट्रिय विश्लेषक आन्द्रे कार्लसनले भन्नुभएकाे छ, 'यस्ताे आन्दोलनले एसियामा जेनजी पुस्ताको शक्ति देखाएको छ।'

जेनजी पुस्ताले देखाएको कुरा स्पष्ट छ– उनीहरू आफ्नो अधिकारका लागि लड्न र पुराना नेताले दशकाैंसम्म गर्न नसकेका काम केही दिनमै गर्न सक्ने क्षमता राख्छन् । नेपालमा भएको आन्दोलनले युवा पुस्ताले कस्तो जागरण देखाउन सक्छ भन्ने प्रमाणित गरेकाे छ ।

यो पुस्ताको शक्ति केवल राजनीतिक आन्दोलनमा सीमित छैन । उनीहरू शिक्षा, संस्कृति, खेलकुद, वातावरण संरक्षण, विज्ञान र कला जस्ता क्षेत्रमा पनि सक्रिय छन् । डिजिटल माध्यमले उनीहरूलाई छिटो जानकारी लिन र साझा गर्न सजिलो बनाएको छ । यसै कारण, जेनजी पुस्ता केवल वर्तमानका नागरिक मात्र नभई भविष्य परिवर्तन गर्ने शक्ति पनि बन्न पुगेका छन् ।

नेपालमा भएको आन्दोलन र त्यसपछि बनेको अन्तरिम सरकारले देखायो कि युवाहरूको जागरण, सामाजिक सञ्जालको उपयोग र दृढ इच्छाशक्ति मिल्दा देशमा ठूलो परिवर्तन ल्याउन सकिन्छ । अब यो पुस्ताले देशलाई पारदर्शी, न्यायपूर्ण र भविष्यतर्फ अगाडि बढाउने काममा योगदान दिन सक्ने आशा सबैलाई छ ।

सविता मैनाली

(शिक्षण पेसामा आबद्ध मैनाली साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ ।)