बालबालिकामा आजको लगानी : भोलिको भरोसा
जब देश अशान्त हुन्छ, त्यो बालबालिकाको वर्तमान र भविष्य दुवैका लागि हानिकारक बन्छ ।

आज भाद्र २९ गते । ६१ औं राष्ट्रिय बाल दिवस !
आजको दिन बालसंसार डटकमको पहिलो वार्षिकोत्सव पनि हो ।
आजैको दिन ठीक एक वर्षअगाडि हामीले बालबालिकालाई केन्द्रमा राखेर यो बिल्कुलै नयाँ प्लेटफर्मको सुरुवात गरेका थियौं ।
यसबीचमा हामीले थुप्रै तीता-मीठा अनुभव सङ्गालेका छौं । देशले नै कति उतारचढाव व्यहोर्नुपरेको छ । यद्यपि हामी बालबालिकाका समग्र पक्षको विकासलाई केन्द्रमा राखेर निरन्तर क्रियाशील छौं ।
‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने यस वर्षको राष्ट्रिय नाराले बालबालिकाको अधिकार र भविष्यप्रतिको हाम्रो दृष्टिकोण स्पष्ट पार्न खोजेको छ ।
तर विडम्बना, यस वर्ष बाल दिवसको पूर्वसन्ध्यामा भाद्र २३ र २४ गते भएको जेन–जी युवाको आन्दोलनका क्रममा थुप्रै बालबालिकाले ज्यान गुमाउनुपर्यो, सयौँ घाइते भए र देशका सबै विद्यालयहरू बन्द हुन पुगे ।
यस्ता घटनाले बालबालिकाको जीवन, शिक्षा, मानसिक अवस्था र विकासमा गम्भीर असर पुर्याउँछन् । जब देश अशान्त हुन्छ, त्यो बालबालिकाको वर्तमान र भविष्य दुवैका लागि हानिकारक बन्छ ।
विद्यालय भनेको केवल पढाइको थलो होइन, उनीहरूको सामाजिक र मानसिक विकासको आधार पनि हो । विद्यालय बन्द हुँदा विशेषगरी विपन्न र ग्रामीण क्षेत्रका बालबालिकाको सिकाइमा पर्न जाने क्षति पूरा गर्न निकै गाह्रो हुन्छ ।
जस्तोसुकै आन्दोलन, अस्थिरता वा द्वन्द्व भए पनि बालबालिकालाई त्यसको प्रभावबाट जोगाउनु हाम्रो सामुहिक जिम्मेवारी हो ।
नेपालमा बालबालिका जनसंख्याको ठूलो हिस्सा हुन् तर उनीहरूको अवस्था अझै पनि कमजोर छ । बालश्रम, बालविवाह, गरिबी, पोषणको कमी, विद्यालय जान नपाउने अवस्था तथा डिजिटल पहुँचको अभावजस्ता समस्या अझै गम्भीर रूपमा देखिन्छन् ।
सहर र ग्रामीण क्षेत्रका बालबालिकाबीचको अवसर र गुणस्तरीय शिक्षामा ठूलो खाडल छ । संविधानले सबै बालबालिकालाई समान अधिकार सुनिश्चित गरेको भए पनि व्यावहारिक कार्यान्वयन कमजोर छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अघि बढाएको बालबालिका सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक संसदमा छलफलमा छ । यो विधेयकले पछिल्ला वर्षमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्दै बालबालिकाको सुरक्षाका लागि थप कानुनी बल प्रदान गर्न खोजेको छ ।
विधेयकमा डिजिटल माध्यमबाट हुने शोषणविरुद्ध कडा व्यवस्था, विद्यालयमा हुने शारीरिक तथा मानसिक हिंसाको नियन्त्रण, बालश्रम र बाल यौन शोषण रोकथाम तथा अनाथ, असहाय बालबालिकाको संरक्षणलगायत विषय समेटिएका छन् तर यो विधेयक प्रतिनिधिसभा विघटनसँगै निष्क्रियप्रायः अवस्थामा छ । संसदमा लामो समयसम्म विधेयक अल्झिँदा बालबालिकाका हक र अधिकार सुरक्षित गर्न गरिएका प्रयास प्रभावहीन बन्ने खतरा हुन्छ ।
बाल दिवसको अवसरमा नारामात्र दोहोर्याएर मनाउने परिपाटीबाट अब हामीले बाहिर निस्कनुपर्ने समय आएको छ । हरेक वर्षको बाल दिवसले हामीलाई एकपटक आत्मसमीक्षा गर्ने मौका दिन्छ– हामी साँच्चै बालमैत्री राष्ट्र बन्न सकेका छौं कि छैनौं ?
कानुन बनाउनु महत्वपूर्ण हो तर त्यसको प्रभावकारी कार्यान्वयन अझ आवश्यक छ । स्थानीय तहदेखि संघीय सरकारसम्म सबैले बालबालिकालाई प्राथमिकतामा राखेर नीतिगत निर्णय, बजेट विनियोजन र कार्यक्रम निर्माण गर्नुपर्छ ।
बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, मनोरञ्जन र सहभागितामा लगानी गर्नु भनेको देशकै भविष्यमा लगानी गर्नु हो भन्ने कुरा अब हामीले व्यवहारमा उतार्नुपर्छ । जस्तोसुकै आन्दोलन, अस्थिरता वा द्वन्द्व भए पनि बालबालिकालाई त्यसको प्रभावबाट जोगाउनु हाम्रो सामुहिक जिम्मेवारी हो ।
कानुनी संरचनालाई अझ प्रभावकारी बनाउँदै, समाजमा बालबालिकाप्रति संवेदनशीलता र उत्तरदायित्व विकास गर्न सके मात्र नाराको सार्थकता हुनेछ । बालबालिकाको आवाज निस्तेज हुने कुनै पनि संरचना वा प्रणाली बालमैत्री हुन सक्दैन ।
त्यसैले, आजको दिन केवल उत्सव मनाउने मात्र होइन, बालबालिकाको हक, हित र उज्यालो भविष्यका लागि कर्ममा बोल्ने संकल्प गरौँ ।
हामीले पहिलो वार्षिकोत्सव मनाइरहँदा हाम्रो देश एकदमै विषम परिस्थितिमा गुज्रिरहेको छ । हामी सबै जना यो परिस्थितिबाट चाँडै उम्कन सकौं- समस्त शुभचिन्तक र सरोकारवाला पक्षमा हार्दिक शुभकामना व्यक्त गर्दछौं !
प्रतिक्रिया