पितृ पक्षको रहस्य (बालकथा)
आमाले निधार सुम्सुम्याइन्, “नानी, श्राद्ध भनेको बुबाआमाले मात्र होइन, हामी सबैले हृदयमा सम्झने दिन हो । पूर्वजलाई सम्झिनु भनेको आफैंलाई सम्झनु हो ।”

“आमा, किन आज आँगनमा रङ लगाउन मिल्दैन ?” सानै छोरी रानीले आमा सामु हठ गरिन् ।
आमाले मुस्कुराउँदै भनिन्; “रानी, आजदेखि पितृ पक्ष सुरु भएको छ । यस बेला हरेक घरमा अनुशासन पालना गर्नुपर्छ । यसैले रङ, धुमधाम र मस्तीलाई केही दिन बिर्सनुपर्छ ।”
रानी अझ अचम्म परिन् । “तर दाइले भनेका थिए, श्राद्ध भनेको ठूला मान्छेले मात्रै गर्ने कुरा हो ।”
आमाले निधार सुम्सुम्याइन् । “होइन नानी, श्राद्ध भनेको बुबाआमाले मात्र होइन, हामी सबैले हृदयमा सम्झने दिन हो । पूर्वजलाई सम्झिनु भनेको आफैंलाई सम्झनु हो ।”
रानी भुइँमा बसिन् ।
उनको मनमा कौतुहलको बादल उम्लियो, “पूर्वजलाई सम्झनु भनेको के गर्ने ?”
आमाले बिस्तारै व्याख्या गर्न थालिन्, “श्राद्ध पक्षमा हामी चोखो रहन्छौं । एक छाक मात्र खान्छौं । माछा, मासु, मदिरा सबै निषेध हुन्छ । प्याज, लसुन, लौका, मुसुरीजस्ता खानेकुरा पनि टाढै राखिन्छ किनभने शुद्धता नै पितृलाई समर्पण हो ।”
रानी टोलाइन् । “तर, आमा, लौका पनि नराम्रै हुन्छ र ?”
आमाले हाँस्दै भनिन्; “लौका नराम्रै होइन तर यस बेला निषिद्ध छ । केही समय त्याग गरेर श्रद्धा देखाउनुपर्छ । यही नै नियमको सुन्दरता हो ।”
दाइले प्रश्न गरे, “काम पनि गर्न हुँदैन र ? किन खेत जोत्न, कोदालो खन्न वा नाचगान गर्न रोकिएको होला ?”
बुबा पनि कुरामा मिसिनुभयो, “किनभने श्राद्ध त मौनताको पर्व हो । यो दिन व्यापार वा नाचगान होइन, स्मरण र श्रद्धाको दिन हो । धन कमाउने लाभको काम रोक्छौं । पितृको शान्ति नै हाम्रो सच्चा सम्पत्ति हो ।”
रानीको आँखा झन् चम्कियो, “त्यसो भए राति पनि पलङमा सुत्न पाइँदैन ?”
आमाले जवाफ दिइन्; “भुइँमा एकसरो ओछ्यान लगाएर सुत्नुपर्छ । यसो गर्दा अहङ्कार मेटिन्छ । हाम्रो जीवन नाङ्गो पृथ्वीमै टेकेर उभिएको छ भन्ने सम्झना हुन्छ ।”
दाइ सोचमग्न भए, “तर आमा, यस बेला किन नयाँ कपडा पनि किनिँदैन ? किन विवाहको कुरा पनि गर्न पाइँदैन ?”
बुबाले गम्भीर स्वरमा भने, “यो त मौनको ऋतु हो । शुभकामना र धूमधाम पितृपक्षमा शीतलतामा लुकेका हुन्छन् । जब पूर्वजलाई सम्झन्छौं, तब उत्सवलाई केही समय थाम्छौं । यसैमा त आदर छ ।”
रानीको अनुहार उज्यालो भयो, “ओहो, पितृ पक्ष त अघिल्तिर बसेका हजुरबुबा-हजुरआमालाई सम्झिने दिन रहेछ ।”
बुबाले टाउको हल्लाए, “ठ्याक्कै नानी । जसरी वृक्षले जरालाई बिर्सँदैन, हामीले पनि आफ्नो मूललाई बिर्सनु हुँदैन । पितृपक्ष भनेको यही सम्झनाको पुल हो ।”
रानीले चकित हुँदै भनिन्, “त्यसो भए, जब हामी लौका, प्याज, लसुन खाँदैनौं, त्यो पनि पितृलाई सम्झनैका लागि हो ?”
आमाले कोमल स्वरमा भनिन्, “हो, नियम त आत्मसंयम सिकाउन बनेका हुन् । जसले आज आफूलाई नियन्त्रण गर्न सक्दछ, उसैले भोलि ठूलो जीवन निर्माण गर्न सक्छ ।”
दाइले रानीलाई हेरेर भने, “यसरी त श्राद्ध हाम्रो लागि पाठशाला नै भयो । संयम, श्रद्धा र अनुशासनको ।”
रानी हाँसिन्, “हजुरबुबाले भनेको सुनेको थिएँ - ‘जरा बिर्सियो भने हाँगाले फल दिँदैन ।’ अब बुझें ।”
बुबाआमाले सन्तोषको मुस्कान साटे । घरभित्र मौनता गहिरियो तर त्यो मौनता पीडाको थिएन । त्यो मौनता श्रद्धाको थियो ।
पितृ पक्षको रात्री आकाशमा चन्द्रमा उदायो । रानीले खिड्कीबाट टोलाउँदै भनेकी थिइन्, “चन्द्रमा पनि पितृलाई सम्झाउने दीपक जस्तो रहेछ ।”
संसार उज्यालो भयो । रानीको हृदयमा सुक्ति बज्यो– “पूर्वजलाई सम्झने बच्चा कहिल्यै टुट्दैन ।”
२०८२/५/१४
प्रतिक्रिया