स्टेफिन हकिङ्स : असाध्यै कठिनाइबीच पनि महान् वैज्ञानिक
ह्वीलचियरमा बस्नु पर्ने, बोल्न नसक्ने, अरूको सहारामा जीवन बिताउनुपर्ने अवस्था भए पनि उहाँले कम्प्युटरको सहयोगमा आफ्ना विचार विश्वसँग बाँड्नुभयो ।

विश्वका महान् वैज्ञानिकमध्ये एक, स्टेफिन हकिङ्सको जीवन आफैंमा एउटा प्रेरणादायी कथा हो ।
उहाँ सन् १९४२ मा बेलायतमा जन्मिनुभयो । सामान्य परिवारमा जन्मिए पनि उहाँ बाल्यकालदेखि नै असाधारण बुद्धिमान् विद्यार्थी हुनुहुन्थ्यो । गणित, भौतिकशास्त्र र ब्रह्माण्डको रहस्य बुझ्न उहाँलाई निकै चासो थियो ।
२१ वर्षको उमेरमा चिकित्सकहरूले उहाँलाई एउटा गम्भीर रोग लागेको बताए । त्यो रोगका कारण उहाँको शरीर बिस्तारै चल्नै नसक्ने अवस्थामा पुग्यो । डाक्टरहरूले भन्नुभयो– उहाँ लामो समय बाँच्नुहुन्न । तर, हकिङ्सले कहिल्यै हार मान्नुभएन । उहाँले आफ्नो दिमागलाई अझै सक्रिय बनाएर विज्ञानमै योगदान दिने निर्णय गर्नुभयो ।
ह्वीलचियरमा बस्नु पर्ने, बोल्न नसक्ने, अरूको सहारामा जीवन बिताउनुपर्ने अवस्था भए पनि उहाँले कम्प्युटरको सहयोगमा आफ्ना विचार विश्वसँग बाँड्नुभयो ।
उहाँको पुस्तक 'अ ब्रिफ हिस्ट्री अफ टाइम' (समयको छोटकरी इतिहास) संसारकै सबैभन्दा चर्चित वैज्ञानिक पुस्तकहरूमध्ये पर्छ । यस पुस्तकमार्फत उहाँले ब्रह्माण्ड कसरी बनेको हो, तारा–ग्रहमण्डल र कालो प्वाल (ब्ल्याक होल) का बारेमा सजिलो भाषामा सबैलाई बुझाउनुभयो ।
बालबालिकाका लागि हकिङ्सको जीवन एउटा ठूलो पाठ हो । उहाँकाे जीवनबाट निम्न कुराहरू सिक्न सकिन्छ :
– शरीर कमजोर भए पनि दिमाग र आत्मबलले चमत्कार गर्न सकिन्छ ।
– कठिनाइ आउँदा हार नमान्ने हो भने सपना पूरा हुन्छन् ।
– पढाइ, जिज्ञासा र लगनले कुनै पनि असम्भव काम सम्भव बनाउन सक्छ ।
स्टेफिन हकिङ्सलाई विश्वभरका मानिसहरूले 'आधुनिक आइन्स्टाइन' भनेर सम्मान गर्छन् । उहाँले ब्रह्माण्डबारे बुझ्न नयाँ ढोका खोल्नुभयो । विज्ञान मात्र होइन, जीवनलाई हेर्ने दृष्टिकोण पनि सिकाउनुभयो ।
सन् २०१८ मा उहाँको निधन भयो तर उहाँको विचार, किताब र प्रेरणादायी जीवन आज पनि विश्वभरका विद्यार्थी र बालबालिकाका लागि प्रकाशपुंज बनेर रहेको छ ।
प्रतिक्रिया