बुधबार १८ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

मिस्टर एण्ड मिस इस्टपोल सिजन १ को ‘ट्यालेन्ट राउन्ड’  सम्पन्न

प्रतियोगितामा ५३ जना प्रतिस्पर्धी विद्यार्थीहरूले गीत, नृत्य, अभिनय, वाद्य वादन, वक्तृत्वलगायतका प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

सीएस इन्टरटेनमेन्ट नेपालद्वारा आयोजित “मिस्टर एण्ड मिस इस्टपोल – २०८२, सिजन १” को ‘ट्यालेन्ट राउन्ड’ प्रतियोगिता काठमाडाैंकाे जाेरपाटीस्थित इस्टपोल स्कूलको सभाहलमा सम्पन्न भएकाे छ ।

प्रतियोगितामा ५३ जना प्रतिस्पर्धी विद्यार्थीहरूले गीत, नृत्य, अभिनय, वाद्य वादन, वक्तृत्वलगायतका प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । 

कार्यक्रममा विद्यार्थीहरूकाे प्रस्तुतिमा अभिभावकहरूले उत्साहपूर्वक साथ दिएका थिए, जसले विद्यार्थीहरूको आत्मविश्वासमा उर्जा थपेको थियाे ।

प्रतियोगिताको निर्णायक मण्डलमा युवा उपन्यासकार एवं लेखक भीष्मराज फुलारा, नेपालको पहिलो महिला पहलवान तथा कलाकार भगवती खड्का तथा कोरियोग्राफर एवं नृत्यकार नविन गुरुङ हुनुहुन्थ्यो ।

लेखक फुलाराले विद्यार्थीहरूको प्रस्तुतिकाे प्रशंसा गर्दै भन्नुभयो, “प्रतिभा भनेको ज्ञान र अभ्यासको समिश्रण हो । नयाँ पुस्ताले देखाएको सिर्जनशीलता भविष्यलाई उज्यालो बनाउने संकेत हो ।”

महिला पहलवान खड्काले संघर्ष र आत्मविश्वास जीवनका आधार भएकाे बताउनुभयाे ।  “मञ्च केवल प्रतिस्पर्धा मात्र होइन, जीवनमा अनुशासन र सकारात्मक सोच सिक्ने अवसर हो,” कोरियोग्राफर नविन गुरुङले भन्नुभयाे ।

कार्यक्रमको संयोजन कलाकार छिरिङ शेर्पाले गर्नुभएको थियो । उहाँ डान्सिङ विथ द स्टार्स सिजन-२ की विजेता, सगरमाथा आरोही र कालापत्थरमा ‘जमिनमा सबैभन्दा उच्च उचाइको कोरियोग्राफ गरिएको नृत्य' शीर्षकमा गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने पहिलो नेपाली महिला समेत हुनुहुन्छ ।

आयोजकका अनुसार ‘ट्यालेन्ट राउन्ड’ले विद्यार्थीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ ।