बालसंसारकाे बाल तीजगीत ‘मामाघरको तीज’ सार्वजनिक (भिडियाे)
तीजजस्ता सांस्कृतिक पर्वहरू केवल महिला वा वयस्कका लागि मात्रै नभई बालबालिकाका लागि पनि सिकाइ र मनोरञ्जनका अवसर हुन्
बालबालिकाका लागि विशेष सामग्री उत्पादनमा क्रियाशील बालसंसार डटकमले आफ्नो पाँचौं गीतका रूपमा ‘मामाघरको तीज’ शीर्षकको बाल तीजगीत सार्वजनिक गरेको छ । हिन्दू महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्ष्य गरेर साेमबार गीत सार्वजनिक गरिएको हो ।
गीतको रचना रमेशचन्द्र घिमिरेले गर्नुभएकाे छ । बालबालिकामाझ लोकप्रिय साहित्यकार घिमिरेले यस गीतमार्फत बालबालिकामा तीज पर्व र मामाघरको सांस्कृतिक महत्वबारे चेतना जगाउने उद्देश्य राखिएको बताउनुभएकाे छ । उहाँका अनुसार बालबालिकाले गीतमार्फत तीजको सांस्कृतिक पक्षसँगै मामाघरसँगको आत्मीय सम्बन्ध पनि अनुभूत गर्न सक्नेछन् ।
‘मामाघरको तीज’ गीतमा स्वर माण्डवी गुरागाईंको रहेको छ भने लय लमजुङस्थित इशानेश्वर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा सिद्धिका साँखीले तयार पार्नुभएकाे हाे ।
गीतमा संगीत संयोजन भरत बस्नेतले गर्नुभएकाे छ । गीतको रेकर्डिङ भक्तपुरको लोकन्थलीस्थित सारेगम म्युजिक एन्ड डान्स एकेडेमीमा गरिएको हो । गीतलाई बालमैत्री शैलीमा तयार पारिएकाले साना बालबालिकाले सजिलै सिक्न र गुनगुनाउन सक्ने खालको बनाइएको छ ।
बालसंसार डटकमले बालबालिकाका लागि गीत, कविता, कथा र भिडियो सामग्री निर्माण गर्दै आएको छ ।
रचनाकार घिमिरेका अनुसार तीजजस्ता सांस्कृतिक पर्वहरू केवल महिला वा वयस्कका लागि मात्रै नभई बालबालिकाका लागि पनि सिकाइ र मनोरञ्जनका अवसर हुन् । त्यस्ता अवसरमा बालबालिकालाई समेटेर सामग्री तयार गर्नुको उद्देश्य उनीहरूमा संस्कार, संस्कृति र सामाजिक सम्बन्धप्रति रुचि र सम्मान बढाउनु हो ।
गीत बालसंसारका युट्युबसहित सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया