आइतबार ०२ कात्तिक, २०८२

नेपाली समय

Facebook Live Youtube Live

बानेश्वरको चैतन्य संस्कार शिक्षालयमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम (भिडियाे)

'श्रीकृष्णले जीवनमा धर्म, सत्य र कर्तव्यको बाटो देखाउनुभएको छ । यी मूल्यहरू बाल्यकालमै सिकाउन सकेमा उनीहरूको व्यक्तित्व विकासमा दीर्घकालीन प्रभाव पर्छ ।'

भिडियाे र तस्बिरहरू : नितेश माथेमा

काठमाडाैंकाे बानेश्वरस्थित चैतन्य संस्कार शिक्षालयमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार विविध कार्यक्रम गरिएको छ। यस वर्ष श्रीकृष्ण जन्माष्टमी (भाद्र ३१ गते) शनिबार परेकाले विद्यालयहरुले शुक्रबारै विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

चैतन्य संस्कारको आँगनमा सानो मन्दिरको सजावट अनि कृष्ण र राधाकाे पोशाकमा साजिएका बालबालिकाको उपस्थितिले वातावरण उल्लासमय बनेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले भजन, नृत्य, नाटक र श्रीकृष्णको जीवनकथासम्बन्धी छोटा प्रस्तुति दिएका थिए ।

संस्कृत र योग शिक्षिका जुनु मल्लिकका अनुसार यस्तो पर्वले बालबालिकामा संस्कार, अनुशासन र सांस्कृतिक चेतना विकास गर्न ठूलो भूमिका खेल्छ । उहाँले भन्नुभयो, 'श्रीकृष्ण जन्माष्टमीले हाम्रो धर्म र संस्कृतिमा गहिरो महत्व राख्छ । श्रीकृष्णले जीवनमा धर्म, सत्य र कर्तव्यको बाटो देखाउनुभएको छ । यी मूल्यहरू बाल्यकालमै सिकाउन सकेमा उनीहरूको व्यक्तित्व विकासमा दीर्घकालीन प्रभाव पर्छ ।'

बालबालिका पनि उत्साहका साथ सहभागी हुनुभएकाे थियाे । उहाँहरुले कृष्ण र राधाकाे पाेशाकमा सजिँदा र मुकुट लगाउँदा आफैं कृष्ण र राधा बनेकाे अनुभव गर्नुभएकाे थियाे । 

शिक्षक मल्लिकका अनुसार यस किसिमका क्रियाकलापले बालबालिकामा आत्मविश्वास मात्र होइन, सहकार्य र सृजनात्मक सोच पनि बढाउँछ ।

श्रीकृष्ण जन्माष्टमी हिन्दू पञ्चाङअनुसार भाद्र कृष्ण अष्टमीका दिन मनाइन्छ। यो दिन भगवान् श्रीकृष्णको जन्मोत्सवको रूपमा विश्वभरका हिन्दूहरूले विशेष पूजा–अर्चना र सांस्कृतिक कार्यक्रम गर्ने परम्परा रही आएको छ ।

चैतन्य संस्कार मात्रै नभई सबैजसाे विद्यालयले श्रीकृष्ण जन्माष्टमीलाई विभिन्न कार्यक्रम गरी मनाउने र बालबालिकालाई भगवान श्रीकृष्णकाे महिमाबारे सिकाउने गर्दै आएका छन् ।