बुधबार १८ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

गायिका अभिज्ञा घिमिरे : ‘राधा’बाट चर्चित, अब इन्डियन रियालिटी शोमा प्रतिस्पर्धा गर्ने योजना (भिडियाे)

'ब्याण्ड केवल संगीत बजाउने समूह मात्र नभई सिर्जनात्मक आत्माको परिवार हो । ब्याण्डमा काम गर्दा हामीले सिर्जनात्मक स्वतन्त्रता पाउँछौं ।'

 

बाल्यकालमै गायन सिक्न सुरु गर्नुभएकी गायिका अभिज्ञा घिमिरे हाल आफ्नो सांगीतिक यात्रा नयाँ उचाइमा पुर्‍याउने योजनामा हुनुहुन्छ।

किशोर आवाजको २७औं भागमा सहभागी हुनुभएकी उहाँले चार वर्षको उमेरमै पाका उमेरका गुरुहरूसँग गायन सिक्न सुरु गरेको  बताउनुभयो।

उहाँले सारेगमप लिटिल च्याम्प्स नेपालको पहिलो सिजनमा प्रतिस्पर्धा गर्नुभयो, जसलाई उहाँले आफ्नो औपचारिक सांगीतिक यात्राको सुरुवातको रूपमा लिनुभएको छ । सो अनुभवलाई जीवनको महत्वपूर्ण सिकाइका रूपमा लिँदै उहाँ भन्नुहुन्छ, “प्रतिस्पर्धा भनेको केवल जित–हार होइन, यो त आफैंमा ठूलो सिकाइको अवसर हो ।”

रियालिटी शोपछि उहाँले चलचित्र ऊनको स्वेटरका लागि गीत गाउने अवसर पाउनुभयो । ठूलो पर्दाका लागि स्वर दिन पाउनु आफ्नो करियरमा नयाँ मोड भएको उहाँको भनाइ छ ।

त्यसपछि स्वप्न सुमनको राधा गीतमार्फत उहाँ व्यापक रूपमा चर्चामा आउनुभयो । उक्त गीतले उहाँलाई राष्ट्रिय स्तरमा चिनाएको छ। “राधा मेरो करियरको टर्निङ प्वाइन्ट हो,” उहाँले भन्नुभयो, “यो गीतले मलाई दर्शकको मनमा राख्ने दरिलो कारण दियो ।”

हाल उहाँले आफ्नै ब्याण्ड सुरु गर्नुभएको छ र त्यसलाई स्थापित गर्ने प्रयासमा हुनुहुन्छ । उहाँको भनाइमा, ब्याण्ड केवल संगीत बजाउने समूह मात्र नभई सिर्जनात्मक आत्माको परिवार हो । “ब्याण्डमा काम गर्दा हामीले सिर्जनात्मक स्वतन्त्रता पाउँछौं र यो यात्राले मलाई अझ नजिकबाट संगीतसँग जोडेको छ,” उहाँको भनाइ छ।

भविष्यका योजनाबारे बोल्दै उहाँले भारतीय रियालिटी शोमा प्रतिस्पर्धा गर्ने इच्छा व्यक्त गर्नुभयो। उहाँको विश्वास छ कि यस्तो प्लेटफर्मले कलाकारलाई अन्तर्राष्ट्रिय अनुभव र फराकिलो दर्शकवर्गसमक्ष आफ्नो प्रतिभा देखाउने अवसर दिन्छ। “अब म आफ्नो प्रतिभा अझ ठूलो मञ्चमा देखाउन चाहन्छु,” उहाँले भन्नुभयो।

संगीतलाई सीमाहीन भाषा मान्ने उहाँ आफ्नो गीतमार्फत श्रोतालाई कथा, भाव र सम्झना दिन चाहनुहुन्छ। उहाँका अनुसार, संगीतले संस्कार, भौगोलिकता र भाषाभेद पन्छाएर मानिसलाई जोड्ने काम गर्छ। “संगीत मेरालागि केवल पेशा होइन, यो मेरो सासजस्तै हो,” उहाँले भन्नुभयो, “यो बिना मेरो जीवन अपूरो हुन्छ ।”

चार वर्षको उमेरमा सुरु भएको उहाँको गायन यात्रा अहिले उहाँको जीवनको पहिचान बनेको छ । दर्शक र शुभेच्छुकहरूले दिनुभएको माया र समर्थनलाई उहाँ सबैभन्दा ठूलो पुरस्कार मान्नुहुन्छ । आगामी वर्षहरूमा उहाँले नयाँ गीत, सहकार्य र मञ्चमार्फत आफ्नो यात्रा विस्तार गर्ने योजना बनाइरहनुभएको छ ।

सविता मैनाली

(शिक्षण पेसामा आबद्ध मैनाली साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ ।)