आँखा बन्द गर्न सिकौं ! (बालकथा)
"ध्यान गर्दा हामी सासलाई महसुस गर्छौं । सासमा ध्यान दिएपछि मन यताउता घुम्दैन । ध्यान जादु होइन तर जीवनको रहस्य बुझ्ने सिँढी हो ।"

एक दिन बिहान सबेरै थियो । चराहरू चिरबिर गाइरहेका थिए । आकाशमा हल्का सुनौलो रङ छरिएको थियो ।
सानो गाउँमा बस्ने एक जना चञ्चले बालक थियो- बालकृष्ण । ऊ कहिले ओर्लन्थ्यो, कहिले चढ्थ्यो, कहिले चिच्याउँथ्यो, कहिले हाँस्थ्यो ।
तर आज ऊ अलिक अचम्ममा परेको थियो ।
बाबाले भन्नु भएको थियो- "अबदेखि हामी बिहान उठ्नेबित्तिकै ध्यान बस्नेछौं ।"
"ध्यान ?" बालकृष्णको निधार खुम्चियो ।
"त्यो के हो बाबा ?"
बाबा हाँस्नुभयो, "आजदेखि तिमीलाई सिकाउँछु ।"
०००
बाबाले एउटा बाक्लो दरी ओछ्याउनुभयो । आफू ढाड सिधा पारेर, आँखा बन्द गरेर बस्नुभयो ।
"हेर्नुस् न, बाबा ! तपाईं निदाउनु भयो कि क्या हो ?"
बाबा फेरि हाँस्नुभयो, "यो निद्रा होइन बाबु, ध्यान हो । ध्यान गर्दा शरीर शान्त हुन्छ । मन पनि रमाउँछ ।"
बालकृष्ण टाउको कन्याउँदै बस्यो ।
"आज म पनि गर्छु !" ऊ ढुक्क भएर बस्न खोज्यो । तर, हात गोडा फिँजिन थाले । खुट्टा दुख्न थाल्यो । आँखा खोल्न मन लाग्यो ।
"बाबा, किन आँखा बन्द गर्नुपर्छ ?"
बाबाले धैर्यपूर्वक भन्नुभयो- "जब आँखा बन्द गर्छौं, तब बाहिरी संसार देखिन्न । अनि आफ्नो भित्री संसार सम्झन सजिलो हुन्छ ।"
"भित्री संसार ?"
"हाम्रो मुटु, हाम्रो सास, हाम्रो सम्झना, यी सबै भित्र हुन्छन् नि । आँखाले बाहिर हेर्छ । त्यसैले बन्द गर्दा भित्रको कुरा देख्न सकिन्छ ।"
बालकृष्णले एकछिन सोच्यो; "अनि ढाड किन सिधा बस्ने ?"
बाबा सम्झाइरहनुभयो; "ढाड सिधा राख्दा श्वास सजिलै आउँछ । नशा खुल्छन् । अनि हाम्रो शरीर त साँच्चै चमत्कार हो है !"
बालकृष्ण मुस्कुरायो; "अनि त्यो हातको मुद्रा के हो ?"
"त्यो ज्ञान मुद्रा हो ।" औंला देखाउँदै बाबाले बताउनुभयो; "यसले स्मरण शक्ति बढाउँछ, अहङ्कार र लोभ कम गर्छ । र, हामी भित्रको ऊर्जासँग जोडिन्छौं ।"
बालकृष्णले चोर औँला र बुढी औँला जोड्यो। बाँकी तीनवटा सोझ्यायो; "यो पो मज्जाको खेलजस्तो !"
अनि बाबा भन्न थाल्नुभयो; "अब लामो र गहिरो सास लिने ।"
बालकृष्णले आँखा बन्द गर्यो । उसले गहिरो सास फेर्यो । सास सँगै उसको मन पनि अलिक शान्त भयो ।
"अब भन, यो सास कहाँबाट आउँछ ?"
"नाकबाट !" बालकृष्णले झटपट भन्यो।
"हो नि ! तर ध्यान गर्दा हामी सासलाई महसुस गर्छौं । सासमा ध्यान दिएपछि मन यताउता घुम्दैन ।"
त्यसपछि बाबाले ‘ॐ’ भनिरहनुभयो । आवाजले पेट, छाती, टाउको कम्पित भयो ।
बालकृष्णको मनमा मिठास भरियो ।
"बाबा, यो त जादुजस्तो छ !"
"हो बाबु, ध्यान जादु होइन तर जीवनको रहस्य बुझ्ने सिँढी हो ।"
त्यसपछि बाबाले गुरुको स्मरण गर्नुभयो; "गुरु भनेको देखिने भगवान हुन् । उहाँलाई सम्झँदा ज्ञानको ढोका खुल्छ । हामी झन् सजग बन्छौं ।"
बालकृष्ण टाउको झुकाउँदै गुरुलाई सम्झ्यो ।
उसको मुटु एक्कासि आनन्दित भयो ।
ध्यान सकियो । बालकृष्णले आँखा खोल्यो; "बाबा ! मैले आज धेरै नयाँ कुरा सिक्न पाएँ !"
बाबाले माया गर्दै भने; "ध्यान भनेको सुत्नु होइन । आफूलाई चिन्नु हो । अब तिमीलाई थाहा भयो ?"
बालकृष्ण मुस्कायो; "अब म हरेक बिहान ध्यान गर्छु । अनि हाम्रा साथीहरूलाई पनि सिकाउँछु ।"
त्यस दिनदेखि बालकृष्ण ध्यानमा बस्न थाल्यो ।
ऊ हाँसोमा थोरै गम्भीर भयो । स्वरमा थोरै शान्त भयो । झर्कोफर्कोमा पनि धैर्य राख्न सिक्यो ।
ऊ अब आफूलाई सम्झन सक्थ्यो । सास लिन, आँखा बन्द गर्न र गुरुलाई सम्झेर रमाउन थालेको थियो ।
ऊ सानो थियो तर उसले ठूलो कुरा सिकेको थियो; "आँखा बन्द गर्दा संसार देख्न सजिलो हुन्छ !"
२०८२ साउन २२
प्रतिक्रिया