मान्छेको दिमाग सोचेभन्दा सुस्त किन छ ? (भिडियाे)
हाम्रो मस्तिष्कका दुई भागले बेग्लाबेग्लै तरिकाले काम गरिरहेका हुन्छन् । बाहिरी दिमागले तीव्र र ठूलो मात्रामा तथ्यांक विश्लेषण गर्ने गर्छ । अर्को भाग भित्री दिमाग हो । यसले डेटालाई छाँटकाँट गरेर जरुरी अंगमा मात्र ध्यान केन्द्रित गर्छ ।
मानव दिमाग निकै तेज छ भन्ने मानिन्छ तर हालै गरिएको एउटा शोधअनुसार हाम्रो मस्तिष्कको गति १० बिट्स प्रतिसेकेन्ड मात्र छ । यो गति अहिलेको कम्प्युटर र स्मार्टफोनको तुलनामा केही पनि होइन तर पनि मानिसको दिमाग सारा तीव्र कम्प्युटरभन्दा उम्दा किन छ त ?
हुन पनि हाम्रो दिमागमा एकै पटक दर्जनौं कुरा एकसाथ चलिरहेको हुन्छ । यसका कारण मानिसको व्यवहार निकै तीव्र र प्रभावकारी देखिन्छ । किबोर्डमा टाइपिङ गर्दा त बिजुली गतिमा काम भइरहेको हो कि जस्तो पनि देखिन्छ तर हाम्रो दिमागले प्रतिसेकेन्ड १० बिट्सको गतिले प्राप्त जानकारीलाई मात्र विश्लेषण वा प्रोसेस गरिरहेको हुन्छ ।
अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका जु जेङ र मार्क्स माइस्टरले हाम्रो दिमागलाई गहिराइमा गएर अध्ययन गरे । त्यो अध्ययनले के देखायो भने दिमागको गति सोचेभन्दा निकै सुस्त छ ।
उसो भए हाम्रो दिमाग सोचेभन्दा सुस्त किन छ त ? शोधकर्ता जेङ र माइस्टर भन्छन्, मानिसको इन्द्रियहरुले हरेक समय निकै धेरै तथ्यांकहरु भेला पार्छन् । हाम्रा आँखा, कान र छालाबाट प्राप्त जानकारी हरेक सेकेन्ड लगभग एक अर्ब बिट्सको दरले दिमागसम्म पुग्ने गर्छ तर उक्त जानकारीलाई विश्लेषण गर्न र निर्णय लिनका लागि दिमागले निकै लामो समय लगाउँछ ।
यो सुस्त गति त्यो बेला पनि भइरहेको हुन्छ, जुन बेला हामीले तीव्र गतिमा काम गरिरहेका हुन्छौँ । मानौं, हामी कुनै भिडियो गेम खेलिरहेका छौँ । त्यो बेला त हामीले तीव्र गतिमा निर्णय गरिरहनु पर्ने हुन्छ । त्यो बेला हाम्रो दिमागको विश्लेषण गति १० बिट्स प्रतिसेकेन्ड लगभग हुन्छ ।
हाम्रो मस्तिष्कका दुई भागले बेग्लाबेग्लै तरिकाले काम गरिरहेका हुन्छन् । बाहिरी दिमागले तीव्र र ठूलो मात्रामा तथ्यांक विश्लेषण गर्ने गर्छ । अर्को भाग भित्री दिमाग हो । यसले डेटालाई छाँटकाँट गरेर जरुरी अंगमा मात्र ध्यान केन्द्रित गर्छ ।
शोधपत्रमा वैज्ञानिकहरुले रेटिनाको उदाहरण दिएका छन् । हाम्रो आँखाले सुरुवातमा निकै धेरै तथ्यांक विश्लेषण गर्छ तर पछि यो तथ्यांक बिस्तारै छँटनीमा पर्न थाल्छ ताकि निकै जरुरी जानकारीहरु मात्र हाम्रा निर्णयका अंग बनून् । यसपछि अनावश्यक डेटालाई हाम्रो मस्तिष्कले सफा गरिरहन्छ ।
शोधकर्ताहरु भन्छन्, हाम्रो दिमागले तीव्र प्रोसेसिङ गर्छ भन्ने भ्रमको मुख्य कारण कुनै खेल खेल्दा माउसलाई बढी चलाइरहेका हुन्छन् । जति बढी माउस या किबोर्ड चल्छ, त्यसैका आधारमा हामीले निर्णय लिएको ठान्छौं तर जति तीव्र गतिमा माउस कुदाए पनि वा टाइप गरिए पनि त्यही १० बिट्स प्रतिसेकेन्डका दरमा काम भइरहेको हुन्छ ।
यस्तै केहीले रुबिक क्युब आँखा चिम्लेर चलाउँदा पनि समाधान गर्ने गरेका छन् । त्यो बेला पनि त्यही १० बिट्स प्रतिसेकेन्ड नै उपयोग भएको देखिन्छ । त्यस्तै कुनै पनि मानिसले हो या होइनमा उत्तर दिनुपर्ने भयो भने त्यो बेला जति सोचेर उसले उत्तर दिन्छ, त्यो १० बिट्स प्रतिसेकेण्ड बराबर नै रहेको देखिन्छ ।
हाम्रो दिमागमा अर्बौंको संख्यामा तन्त्रकोषिकाहरु छन् । तिनैले हाम्रा तथ्यांक विश्लेषण गर्छन् । र पनि, तिनको गति कम किन भएको होला ? वैज्ञानिकहरु भन्छन्, ‘हाम्रो आन्तरिक संरचना नै लचिलो र सटीक निर्णय लिनेमा जोड दिन्छ । हाम्रा इन्द्रियहरुले समानान्तर तरिकाले तथ्यांक विश्लेषण गर्छन् तर हाम्रो विचार र निर्णय जस्ता कुरा एउटा क्रममा चल्दछ । यही क्रमका कारण हामी कम्प्युटरको तुलनामा सुस्त भएका हौं ।’

Minecraft, Roblox र Among Us : बालबालिकाले रुचाउने इनडोर गेम

रोबोटिक्स र गेमिङ सिक्दै बालबालिका (भिडियाे)

प्रविधिको जादुमय घर : अप्टिक भ्याली

के हो हाइड्रोजन ग्यास ? कसरी हुन्छ विष्फाेट ? (भिडियाे)

चीनले कसरी ल्यायो चन्द्रमाबाट माटो ?
अरुण र बरुण ग्रहमा जान किन सम्भव छैन ?

प्रतिक्रिया