कामले सानो भइँदैन (बाल तीजगीत)
आफ्नो पाठ पढेेर भाइलाई पढ्न सिकाउँछु– ए,बी,सी,डी घोकाउँछु क-ख लेखाउँछु !

हातमुख धुन्छु म मैला लुगा धुन्छु म
चाँडै उठी बिहानै सफा हुन्छु म
कुचो लिई हातमा कसेर ससेर लाउँछु
एकैछिन खेलेर पढ्न आउँछु
आफ्नो पाठ पढेेर भाइलाई पढ्न सिकाउँछु
ए,बी,सी,डी घोकाउँछु क-ख लेखाउँछु
कैले चिया बसाल्न जान्छु भान्छा कोठामा
घाँस हाल्न पुग्दछु भैंसी गोठमा
दाजुसँग सिकेर राम्रो चित्र कोर्ने हो
स्विटर बुन्न दिदीको सीप चोर्ने हो
भान्छाको काम गर्छु भन्दै आमालाई सघाउँछु
आमाले झैँ मीठो भात म नि पकाउँछु
करेसामा पुग्छु अनि टिप्छु लौका घिरम्ला
खट्टे खान मन छ भन्दै भुट्छु सिरम्ला
बज्यैसँग मिलेर तरकारी नि केलाउँछु
मौका मिल्दा बाको मोबाइल छुस्स खेलाउँछु
डोर्याउँदै बैनीलाई सँगैसँगै लाने हो
सामान किन्न बजारमा आफै जाने हो
माइजूसित सिकेर फूलको माला गाँसौँला
काकीसँग नाचौँला, गाउँदै हाँसौँला
उध्रिएका लुगा टाल्छु सियोधागो लिएर
इज्जत जान्न फाटेका लुगा सिएर
बारीभरि झार छन् उखेल्ने हो, गोड्ने हो
अल्छी हुने बानी म आजै छोड्ने हो
काम सिकी आफ्नो काम आफै गर्नु जाती हो
कामले सानो भइँदैन सुन साथी हो ।
- भोर्लेटार, लमजुङ
प्रतिक्रिया