बिहीबार १९ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

कोपिला भ्याली स्कुल : वातावरणमैत्री शिक्षाको नमूना (भिडियाे)

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार–२०२५’ को उत्कृष्ट १० मा स्थान बनाउन सफल भएको छ ।

शिक्षा, वातावरण र समुदायको सशक्त समिश्रण हो– सुर्खेतस्थित कोपिला भ्याली स्कुल । 

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार–२०२५’ को उत्कृष्ट १० मा स्थान बनाउन सफल भएको छ । 

बेलायतस्थित शैक्षिक संस्था टी–४ एजुकेसनले आयोजना गर्ने यस विश्वस्तरीय प्रतियोगितामा वातावरणीय कार्य श्रेणीमा उत्कृष्ट अभ्यास प्रस्तुत गर्दै कोपिला भ्याली स्कुल ‘वर्ल्ड्स बेस्ट स्कुल प्राइज’ को फाइनलमा पुग्ने नेपालकै पहिलो विद्यालय हो ।

सन् २०२२ मा स्थापना गरिएको यो पुरस्कार पाँच विधामा प्रदान गरिन्छ— कम्युनिटी कोल्याबरेसन (समुदाय सहकार्य), इन्भाइरोमेन्टल एक्सन (वातावरणीय कार्य), इनोभेसन (नवप्रवर्तन), ओभरकमिङ एडभर्सिटी (चुनौती पार गर्ने क्षमता) र सपोर्टिङ हेल्दी लाइफ (स्वस्थ जीवनशैली प्रवद्र्धन) । कोपिला भ्याली स्कुल वातावरणीय पहल विधामा उत्कृष्ट १० मा पर्न सफल भएको हो ।

स्वतन्त्र, गैरनाफामूलक र आवासीय सुविधा भएको कोपिला भ्याली स्कुलले अति विपन्न, टुहुरा वा अभिभावकमध्ये एक गुमाएका बालबालिकालाई निःशुल्क शिक्षा, खाना र आवास सुविधा प्रदान गर्दै आएको छ । हाल विद्यालयमा कक्षा १२ सम्ममा ४६० बालबालिका अध्ययनरत हुनुहुन्छ ।

विद्यालयले वातावरणीय दिगोपनालाई शिक्षाको अभिन्न अंग बनाएको छ । स्कुल परिसरमै सौर्य प्यानलबाट बिजुली उत्पादन, वर्षाको पानी संकलन र पुनःप्रयोग, कम्पोस्टिङ विधि, प्लास्टिक निषेध, चराचुरुङ्गी संरक्षण, बगैंचामा जैविक खेती र फोहोरलाई वर्गीकरण गर्दै रिसाइकल गर्ने अभ्यास जारी छ । विद्यार्थीहरूले आफैं संलग्न भएर यस्ता कार्य सिक्ने अवसर पाउने कोपिला भ्याली सेवा समाजको वातावरणीय दिगोपना कार्यक्रमकी सहसंयोजक सुनिता भण्डारी बताउनुहुन्छ । 

स्कुलको भौतिक संरचना वातावरणमैत्री ढाँचामा निर्माण गरिएको छ । यसमा स्थानीय स्रोत र माटो, ढुंगा, बाँसजस्ता सामग्रीको प्रयोग गरिएको छ ।

विद्यार्थीमा वातावरणप्रतिको चेतना बढाउन इको क्लब, सप्ताहव्यापी वातावरण सचेतना कार्यक्रम, पुनः प्रयोग सामग्रीबाट सिर्जना कक्षा तथा स्थानीय नदी सफाइजस्ता कार्यक्रम सञ्चालन गरिन्छ ।

भण्डारीका अनुसार यस्ता अभ्यासहरू अन्य सरकारी तथा निजी विद्यालयमा पनि साझेदारी र तालिममार्फत विस्तार गर्न सकिने सम्भावना रहेको छ ।

‘हामी बालबालिकालाई प्राकृतिक वातावरणमा प्रत्यक्ष रुपमा सहभागी गराएर, समुदायसँग जोडेर सिकाउँछौं,’ विद्यालयकी भाइस प्रिन्सिपल प्रतिज्ञा ढुंगेल बताउनुहुन्छ । 

हामीले हालै काेपिला भ्याली स्कुलकी भाइस  प्रिन्सिपल ढुंगेल र दिगाेपना कार्यक्रमकी सहसंयाेजक भण्डारीसँग विशेष कुराकानी गरेका छाैं । (हेर्नुहाेस् भिडियाे)

कोपिला भ्याली स्कुलको स्थापना सन् २००७ मा अमेरिकन समाजसेवी म्यागी डोयन र सुर्खेतका टोपबहादुर मल्लको नेतृत्वमा भएको थियो । म्यागी सन् २०१५ मा सिएनएन हिरो घोषित हुनुभएको थियो । भारतको ऋषिकेशमा भेट हुनुभएका म्यागी र मल्लले नेपालको द्वन्द्वकालीन अवस्था र बालबालिकाको कठिन जीवन देखेपछि नेपालको लागि केही गर्ने संकल्प गर्नुभयो ।

सुरुमा आफ्नै बचत रकम १४ लाख रुपैयाँ लगानी गरी ‘कोपिला भ्याली सेवा समाज’ नामक संस्था दर्ता गरेर २५ बालबालिकालाई निजी विद्यालयमा भर्ना गरेर पढाउन थाल्नुभयो । बिस्तारै विद्यालय सञ्चालन गर्ने अनुमति लिएर उहाँहरुले २०६७ सालमा कोपिला भ्याली स्कुलको औपचारिक सुरुवात गर्नुभयो । कोपिला भ्याली सेवा समाजमा अहिले १८५ जनाले रोजगारी पाइरहेको भाइस प्रिन्सिपल ढुंगेल बताउनुहुन्छ ।

कोपिला भ्याली स्कुलले शिक्षा मात्र होइन, विद्यार्थीको समग्र जीवनस्तरको सुधारमा जोड दिएको छ । यहाँ आमा–बुवा दुवै नभएकालाई पूर्ण आवाससहितको शिक्षा, आमा वा बुबामध्ये एक नभएका बालबालिकालाई अभिभावकको जिम्मामा राखेर शिक्षाको पहुँच दिइएको छ ।

विद्यालयले प्रत्येक वर्ष शिशु कक्षामा ३५ जना बालबालिकाको कोटा राख्ने गरेको छ । कक्षा ८ मा पुगेपछि विद्यार्थीहरूलाई दश हजार रुपैयाँको बचत खाता खोलिदिने कार्यक्रम पनि सञ्चालनमा छ, जसले उनीहरूमा आर्थिक सचेतना र बालविवाहविरुद्धको चेतना विकास गर्छ ।

कोपिला भ्याली स्कुलले विश्वभरका विद्यालयसँग प्रतिस्पर्धा गर्दै सार्वजनिक मतदानमा भाग लिनेछ, जसको परिणाम २०२५ अक्टोबरमा घोषणा गरिनेछ ।

विजेता विद्यालयहरूलाई आगामी नोभेम्बर १५–१६ मा यूएईको अबुधाबीमा आयोजना हुने वल्र्ड स्कुल समिटमा आमन्त्रित गरिनेछ । उक्त कार्यक्रममा विद्यालयले आफ्ना सफल अभ्यास, अनुभव र नवीनता नीति निर्माण तहका प्रतिनिधि तथा विश्वभरका शिक्षाविद्हरूसँग साझा गर्न पाउनेछन् ।

कोपिला भ्याली स्कुलको यो उपलब्धिले समग्र नेपाली शिक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको छ । एक सानो ठाउँबाट सुरु भएको सपना आज अन्तर्राष्ट्रिय स्तरमा नेपाली शिक्षाको उज्यालो पहिचान बनेको छ ।
 

 

सविता मैनाली

(शिक्षण पेसामा आबद्ध मैनाली साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ ।)