बिहीबार ०८ साउन, २०८२

नेपाली समय

Facebook Live Youtube Live

बालबालिकाको सिकाइप्रति समर्पित विद्योदय बालबाटिका (भिडियाे)

निर्देशक नमिला शाक्य भन्नुहुन्छ– ‘हाम्रो प्रयास भनेको बालबालिकालाई दबाब हैन, रमाइलो वातावरणमा सिकाइमा संलग्न गराउनु हो ।’

 

काठमाडौंको वनस्थली, खरीबोटस्थित विद्योदय बालबाटिका प्रि–स्कुल बालबालिकाको प्रारम्भिक शिक्षा र समुचित विकासमा समर्पित व्यवस्थित र उदाहरणीय शिक्षण संस्था हो । निर्देशक नमिला शाक्यको अनुभव, समर्पण र शैक्षिक दृष्टिकोणले यस स्कुललाई अझ प्रभावकारी र बालमैत्री बनाएको छ ।

शाक्य अनुभवी मन्टेश्वरी प्रशिक्षक हुनुहुन्छ । उहाँ अटिजमसम्बन्धी तालिम प्रदान गर्नुहुन्छ र सिचु पाठशालासँग पनि आबद्ध हुनुहुन्छ । प्रारम्भदेखि नै शिक्षा क्षेत्रमा रुचि राख्दै आउनुभएकी शाक्य बालबालिकासँगको आत्मीय सम्बन्धलाई आफ्नो प्रेरणाका रूपमा लिनुहुन्छ ।

‘शिक्षा प्रणालीमा पछिल्ला दिनमा सकारात्मक परिवर्तन आएको छ तर प्रारम्भिक शिक्षामा मन्टेश्वरी तालिम अनिवार्य छ किनकि बलियो जगबिना घर ठडिँदैन, त्यसैले बालबालिकाको प्रारम्भिक सिकाइ नै सबैभन्दा महत्वपूर्ण हुन्छ,’ उहाँ भन्नुहुन्छ ।

विद्योदय बालबाटिकामा हाल ६० जना बालबालिका अध्ययनरत हुनुहुन्छ भने १० जना शिक्षिका कार्यरत रहनुभएको छ । शाक्यका अनुसार विद्यालयको प्रमुख विशेषता बालबालिकालाई खुसीसाथ सिकाउने प्रक्रिया हो । उहाँ भन्नुहुन्छ, ‘हाम्रो प्रयास भनेको बालबालिकालाई दबाब हैन, रमाइलो वातावरणमा सिकाइमा संलग्न गराउनु हो ।’

विद्यालयमा विविध शैक्षिक र अतिरिक्त गतिविधिहरू सञ्चालन गरिन्छ । हालै सम्पन्न कार्यक्रममा देवयानी तिमिल्सिनाले कमिलाको कथा सुनाउनुभयो, रसिक राउतले बालगीत प्रस्तुत गर्नुभयो भने आरम्भ मरासिनीले कथाको पुस्तक पढेर सुनाउनुभयो । त्यस्तै युुकेजी र एलकेजीका बालबालिकाले आकर्षक रूपमा कुमारी नृत्य प्रस्तुत गर्नुभयो । नर्सरी तहका बालबालिकाले चित्रकलामा सहभागिता जनाउनुभयो । यस्तो प्रकारको सहभागिताले बालबालिकाको आत्मविश्वास, भाषा विकास र सामाजिकता अभिवृद्धिमा सघाउ पुर्‍याइरहेको छ ।

विद्यालयमा विशेष आवश्यकताका बालबालिकाका लागि पनि छुट्टै व्यवस्थापन गरिएको छ । शाक्यका अनुसार विद्यालयको अर्को ब्लकमा ८ जना अटिजम भएका बालबालिका अध्ययनरत हुनुहुन्छ । उहाँहरूको प्रगति सन्तोषजनक देखिएको छ । उहाँले भन्नुभयो, ‘अटिजम भएका बालबालिका पनि विविध गतिविधिमा सहभागी भएर आफ्ना क्षमता देखाइरहेका छन्, जुन उत्साहजनक छ ।’

विद्यालयमा ‘फोनिक्स’ पद्धतिअन्तर्गत शिक्षण अभ्यास गरिन्छ । शाक्यको भनाइमा ‘फोनिक्स पद्धतिले बालबालिकालाई अक्षर, ध्वनि र उच्चारणको सम्बन्ध बुझ्न सहयोग गर्छ, जसले उनीहरूको भाषा विकासमा ठूूलो भूमिका खेल्दछ ।’ यसैक्रममा नमिला शाक्य स्वयंले सर्कलिङ राइम्स विधिबाट रमाइलो सिकाइ प्रक्रिया प्रस्तुत गर्नुभएको थियो ।

विद्योदय बालबाटिका प्रि–स्कुललाई शाक्यले ‘पवित्र मन्दिर’को रूपमा लिनुभएको छ । उहाँको दृष्टिमा शिक्षा केवल औपचारिक प्रक्रिया होइन, यो बालबालिकाको जीवन जिउने आधार हो । सिकाइसँगै उनीहरूको मानसिक, सामाजिक र भावनात्मक विकासमा पनि विद्यालयले विशेष ध्यान दिएको देखिन्छ ।

यस प्रि–स्कुलले शिक्षिका र अभिभावकबीचको सहकार्यलाई प्राथमिकता दिएको छ । नियमित अन्तक्र्रिया, विद्यालयका गतिविधिहरूमा पारदर्शिता र बालबालिकाको प्रगतिको समग्र प्रतिवेदनमार्फत विद्यालयले आफूलाई अभिभावकहरूको विश्वासिलो साझेदारको रूपमा प्रस्तुत गर्न सफल भएको छ ।

विद्योदय बालबाटिका प्रि–स्कुल प्रारम्भिक शिक्षा क्षेत्रमा एक उदाहरणीय अभ्यासको केन्द्र बन्दै गएको छ, जहाँ सिकाइ र स्नेह सँगै अघि बढिरहेका छन् ।