सोमबार ०५ साउन, २०८२

नेपाली समय

Facebook Live Youtube Live

झुपडीको राजा (बालकथा)

आमाले माया गर्दै भनिन्, “बाबु, आफ्नो झुपडीको राजा बन, कसैको महलको गुलाम कहिल्यै नबन ।” त्यस दिन टिकेले निर्णय गर्‍यो- ऊ यही झुपडीमा बस्नेछ, यहीँ पढ्नेछ तर कहिल्यै बिक्नेछैन ।

सगरमाथा हिमालमुनि एउटा सानो गाउँ थियो– फेदीगाउँ । त्यहाँ भीरको काखमा माटो र खरले बनेका झुपडीहरू थिए तर आकाशजत्तिकै ठूलो सपना बोकेका बालबालिका थिए ।

त्यही गाउँमा बस्थ्यो- टिके । उसको घर अरूझैं सामान्य, खरले छाएको झुपडी थियो । स्कुल जानुअगाडि ऊ बाख्रा चराउँथ्यो, स्कुलबाट फर्केपछि आमालाई बारीमा मद्दत गर्थ्यो ।

एकदिन शहरबाट आएको मानिसले भने, “टिके, तँजस्तो तेज दिमाग भएको बालक सहर जानुपर्छ । त्यहाँ महलजस्तो स्कुल हुन्छ, कम्प्युटर हुन्छ, ठूलाठूला किताब हुन्छन् । मसँगै हिँड्, तँलाई राम्रो जागिर लगाइदिन्छु ।”

टिके अलमलियो । आमाको आँखा रसाए, बाबुको अनुहार गम्भीर बन्यो ।

बिहानपख, आमाले माया गर्दै भनिन्, “बाबु, आफ्नो झुपडीको राजा बन, कसैको महलको गुलाम कहिल्यै नबन ।”

त्यस दिन टिकेले निर्णय गर्‍यो- ऊ यही झुपडीमा बस्नेछ, यहीँ पढ्नेछ तर कहिल्यै बिक्नेछैन ।

ऊ स्कुल जान थाल्यो, अरू बच्चाहरूलाई पनि पढाउन थाल्यो । झुपडीभित्र पुस्तकालय बनायो, गाउँमै कम्प्युटर ल्यायो । समय बित्दै गयो । फेदीगाउँका झुपडीहरू उज्यालो बन्न थाले । बच्चाहरूको सपना त्यहीँबाट उड्न थाले ।

कहिल्यै महल देख्न नपाएको टिकेले एउटा नयाँ महल बनायो- ज्ञान र आत्मसम्मानको ।

अब फेदीगाउँका बालबालिका गर्वले भन्थे- "हामी झुपडीका राजा हौं, कसैको गुलामी हामीलाई स्वीकार छैन !"

नन्दलाल आचार्य

बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर [email protected]