'बलिदानका कथाहरू' र 'शिखण्डी' पाठकमाझ
उदयपुरको त्यो बिहान, शब्दहरू शक्तिमा रूपान्तरण भए—साहित्यले फेरि प्रमाणित गर्यो कि विचार नै परिवर्तनको अन्तर्नाद हो।

उदयपुरको गाईघाटमा शनिबार बिहान साहित्यिक चेतनाको घनगर्जन भयो- दुई विशिष्ट कृतिको लोकार्पणका साथ।
सङ्गम पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा कथाकार बोकुमार घिमिरेको ‘बलिदानका कथाहरू’ र कवि हिमालय पौडेलको ‘शिखण्डी’ सार्वजनिक गरियो।
कार्यक्रमको अध्यक्षता सङ्गम पुस्तकालयका भरत खड्काले गर्नुभयो। प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने, विशिष्ट अतिथि टीकाप्रसाद पौडेल, दीपक पौडेल, समीक्षक नन्दलाल आचार्य र पुण्य कार्की हुनुहुन्थ्यो। देशका विविध क्षेत्रका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति र सहभागिता उल्लेखनीय थियो।
'बलिदानका कथाहरू' मा माओवादी द्वन्द्वपछिको सामाजिक विघटन, राजनीतिक अस्थिरता र मानव पीडाका गहिरा चित्रहरू प्रस्तुत छन्। समीक्षकद्वयले कथाहरूलाई “हाँसोभन्दा बढी आँसुका भाषा” भन्दै, घिमिरेको लेखनलाई समयको चेतनाद्वारा सञ्चालित साहित्यिक दस्तावेजका रूपमा अर्थ्याउनुभयो।
त्यस्तै, ‘शिखण्डी’ खण्डकाव्यमा हिमालय पौडेलले पौराणिक मिथकलाई आधुनिक विद्रोही स्वरमा ढाल्नुभएको छ। समालोचकहरूले यसलाई “कविता मात्र नभई युगको अव्यक्त पीडाको भाष्य” भनी मूल्याङ्कन गर्नुभयो। प्रा.डा. न्यौपानेले भन्नुभयो, “शिखण्डी यथार्थ र विद्रोहको गहिरो समागम हो- खण्डकाव्यको नाममा युगको पुनर्परिभाषा।”
कविता वाचनतर्फ कवि ताराबहादुर बुढाथोकीको ‘झोला’ ले कार्यक्रमको माहोललाई झस्कायो। प्रवास, राजनीति र विडम्बनालाई समेट्ने यो व्यङ्ग्यात्मक रचना दर्शकहरूका लागि झट्का थियो।
अनुसन्धाता कौशल चेम्जोङले भन्नुभयो, “लेख्नु भनेको विवेकको निवेश हो, विवेक बिना सुन्नु र लेख्नु दुवै बेमतलव हुन्।”
यस्तै, प्रमुख वक्ताहरूले साहित्यिक कार्यक्रमलाई जीवन र समयको संवादस्थलका रूपमा व्याख्या गर्नुभयो।
कार्यक्रममा सांसद सम्झना पाख्रिन, साहित्यकार विन्दु दाहाल, कवयित्री मायामितु न्यौपाने, राममणि पोखरेललगायतले मन्तव्य राख्नुभयो। आयोजक संस्था सङ्गम पुस्तकालयका सल्लाहकार महेन्द्र राईले स्वागत मन्तव्यमा यो पुस्तकालय सिर्जनात्मक अभ्यासको थलो हुने विश्वास व्यक्त गर्नुभयो।
समापनमा अध्यक्ष भरत खड्काले भन्नुभयो, “आज हामीले केवल दुई कृति विमोचन गरेनौँ, समयसँग संवाद गर्ने दुई सशक्त स्वर नेपाली साहित्यमा थप्यौँ।”
शनिबार गाईघाट साहित्यको राजधानीजस्तै देखियो। ‘बलिदानका कथाहरू’ ले समयलाई शब्दमा बाँध्यो, ‘शिखण्डी’ ले मिथकको आवरण च्यातेर युगको तर्क बोकेको आवाज बनायो। उदयपुरको त्यो बिहान, शब्दहरू शक्तिमा रूपान्तरण भए—साहित्यले फेरि प्रमाणित गर्यो कि विचार नै परिवर्तनको अन्तर्नाद हो।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया