सोमबार ०५ साउन, २०८२

नेपाली समय

Facebook Live Youtube Live

बालबालिका अपराधमा किन फस्छन् ? (भिडियाे)

बालअपराध नियन्त्रणको दीर्घकालीन उपाय भनेकै सामाजिक संरचना बलियो बनाउनु हो । त्यसका लागि अभिभावक सचेत हुनु, विद्यालयले सहानुभूतिपूर्ण शिक्षा दिनु, राज्यले पुनर्स्थापनामा प्रभावकारी नीति कार्यान्वयन गर्नु र समाजले बालमैत्री दृष्टिकोण राख्नु आवश्यक छ ।

सुन्नुहोस्

 

‘बालबालिकालाई अपराधी होइन, अवसरबाट वञ्चित निर्दोषका रूपमा बुझ्न जरुरी छ’, कानुन संकायमा स्नातकोत्तर अध्ययन गरिरहनुभएकी र शिक्षक पेशामा संलग्न लिभा थारूको भनाइ छ । उहाँका अनुसार बालबालिका अपराधमा तानिनुको प्रमुख कारण परिवार र समाजको कमजोरी हो ।

बालअपराधको पृष्ठभूमिमा पारिवारिक हिंसा, अभिभावकीय उपेक्षा, आर्थिक अभाव, वातावरणीय असर र सामाजिक असमानता जस्ता पक्षहरू जिम्मेवार देखिन्छन् । बालसंसारसँगकाे विशेष कुराकानीमा थारू भन्नुहुन्छ, ‘बालबालिकालाई सही समयमा माया, शिक्षा र मार्गदर्शन नदिँदा उनीहरू गलत संगतमा लाग्न सक्छन्, जसले अपराधको बाटोतर्फ उन्मुख गराउँछ ।’

नेपालमा बालबालिका संलग्न हुने अपराधहरूमा चोरी, लागुऔषध ओसारपसार, कुटपिट, यौनजन्य हिंसा र फसाइएका आपराधिक कार्य प्रमुख छन् । यस्ता कार्यमा संलग्न देखिएपछि बालबालिकालाई सुधारगृहमा राखिन्छ तर हाल नेपालमा सुधारगृहको संख्या कमै रहेको र त्यहाँको अवस्था चुनौतीपूर्ण रहेको थारू बताउनुहुन्छ ।

‘त्यहाँ बालमैत्री संरचना अपुग छन्, शिक्षादिक्षाको व्यवस्था भए पनि मनोपरामर्शको पहुँच सबैलाई छैन, कतिपय बालबालिकाले मानसिक तनाव खेप्नुपर्ने अवस्था छ’, उहाँ भन्नुहुन्छ ।

बालबालिकासम्बन्धी ऐन २०७५ मा १८ वर्षमुनिका व्यक्तिलाई बालबालिकाको रूपमा परिभाषित गरिएको छ । सो ऐनमा बालबालिकाको संरक्षण, न्यूनतम अधिकार, अभिभावकत्वको जिम्मेवारी, बालमैत्री न्याय र सुधारका उपायसम्बन्धी स्पष्ट प्रावधानहरू छन् ।

बालमैत्री न्याय प्रणालीअन्तर्गत बालबालिकालाई प्रहरीले पक्रनुपूर्व विशेष कारण हुनुपर्छ, बयान लिने क्रममा गोपनीयता कायम राख्नुपर्छ र सुधारात्मक दृष्टिकोणबाट प्रक्रिया अगाडि बढाइनुपर्छ । अदालतमा बालबालिकाको बयान विशेष सुनुवाइ कोठामा गरिनुपर्छ भन्ने व्यवस्था छ ।

साथै, सुधारगृह सञ्चालन गर्दा शैक्षिक पहुँच, स्वास्थ्य, परामर्श, मनोरञ्जन, बालमैत्री सुरक्षात्मक संरचना र न्यूनतम बालअधिकार सुनिश्चित गर्नुपर्ने कानुनी दायित्व राज्यलाई छ तर व्यवहारमा यीमध्ये धेरै पक्ष अपुरो देखिएको थारू बताउनुहुन्छ ।

सुधारगृहमा रहेका बालबालिकाको दिनचर्या केही हदसम्म नियमित भए पनि मानसिकरूपमा स्वस्थ राख्न सक्ने वातावरण अपुग छ । अनुशासन, अध्ययन, सीपमूलक तालिम र केही मनोरञ्जनात्मक गतिविधि गरिए पनि ती पर्याप्त छैनन् ।

सुधारगृहबाट निस्केपछि उनीहरूको संघर्षको अर्को चरण सुरु हुन्छ । ‘बालबालिका सुधारगृहबाट फर्केर समाजमा फर्किँदा पुनः अपराधीको नजरले हेर्ने प्रवृत्तिले उनीहरूलाई अझै पर धकेल्छ’, थारू भन्नुहुन्छ, ‘त्यसपछि उनीहरूले समाजमा ठाउँ पाउन गाह्रो हुन्छ, रोजगारी पाउँदैनन् र पुनःअपराधमा फस्ने जोखिम बढ्छ ।’

समाजले यस्ता बालबालिकालाई गाली गर्ने होइन, समेट्ने प्रयत्न गर्नुपर्ने धारणा उहाँ राख्नुहुन्छ । ‘पुनर्स्थापनाको प्रक्रिया परिवार र समाजको सक्रिय सहयोगबिना सम्भव हुँदैन, यस्ता बालबालिकालाई सशक्त बनाउन शिक्षा, सीप, परामर्श र स्वीकृति आवश्यक छ’, उहाँ बताउनुहुन्छ ।

अध्ययनकै क्रममा बालसुधार गृहहरुकाे अवलाेकनसमेत गर्नुभएकी लिभा थारुको बुझाइमा बालअपराध नियन्त्रणको दीर्घकालीन उपाय भनेकै सामाजिक संरचना बलियो बनाउनु हो । त्यसका लागि अभिभावक सचेत हुनु, विद्यालयले सहानुभूतिपूर्ण शिक्षा दिनु, राज्यले पुनर्स्थापनामा प्रभावकारी नीति कार्यान्वयन गर्नु र समाजले बालमैत्री दृष्टिकोण राख्नु आवश्यक छ ।

‘बालबालिकाको भविष्य बिग्रन दिनु भनेको हाम्रो सामूहिक विफलता हो, त्यसैले सुधार्ने कार्यको सुरुवात आजैबाट गर्नु उचित हुन्छ’, थारूको जोड छ ।

सविता मैनाली

(शिक्षण पेसामा आबद्ध मैनाली साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ ।)