बुधबार ०७ साउन, २०८२

नेपाली समय

Facebook Live Youtube Live

चम्किला अनमोलको संघर्षपूर्ण संगीतयात्रा (भिडियाे)

अनमोल, जसको जीवन कथा मिठास र संघर्षले भरिएको छ । उहाँको संघर्षमय जीवनलाई एउटा लयमा हिँड्ने बाटो देखाइरहेको छ उहाँको मधुर आवाजले ।

 

१२ वर्षअघि जब आकाशले पहेँलो सूर्यको किरणलाई मुन्टो पार्दै थोरै चर्को बनायो, त्यही बेला भक्तपुरको लोकन्थलीस्थित एउटा सानो कोठामा एक नयाँ आवाजले जन्म लियो ।

त्यही आवाज हो– अनमोल सेवा ।

तत्कालै कोठाभरि एक अनौठो शान्ति छायो, मानौं संसारले त्यो बालकको आगमनलाई चुपचाप स्वागत गरिरहेको छ । साना हातहरूले पहिलोपटक आकाशलाई छोए र त्यही क्षणबाट सुरु भयो एउटा नयाँ कथा— संघर्ष, आशा र सपनाको ।

अनमोल, जसको जीवन कथा मिठास र संघर्षले भरिएको छ । उहाँको संघर्षमय जीवनलाई एउटा लयमा हिँड्ने बाटो देखाइरहेको छ उहाँकै मधुर आवाजले । हजारौं मुटुहरुलाई मन्त्रमुग्ध पारिरहेको छ उहाँको स्वरले ।

सानै उमेरदेखि संगीतमा रुचि राख्दै आउनुभएका अनमोलले घरमा बुबाको साथमा गीत सिक्दै, आफ्नो मनका भावहरू शब्द र सुरमा व्यक्त गर्दै आउनुभएको छ । 

अनमोलका पिता– बद्री सेवा आफैं पनि एक समर्पित सङ्गीतकार र गायक हुनुहुन्छ । उहाँले जीवनमा अनेकौं कठिनाइहरू सामना गर्नुपरेको छ तर सङ्गीतलाई कहिल्यै छाड्नुभएको छैन । उहाँले सधैं छोरालाई हौसला र अघि बढ्ने प्रेरणा दिइरहनुभएको छ ।

‘सङ्गीत केवल मनोरञ्जन होइन, तपस्या हो, त्याग हो, र धैर्यता हो,’ बद्री भन्नुहुन्छ, ‘मैले आफ्ना सबै सपनाहरू छोरा अनमोलमार्फत् पूरा हुने आशा राखेको छु ।’

अनमोलको जीवनमा एउटा गहिरो खालीपन पनि छ । उहाँकी आमा केही वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई जानुभयो र त्यसयता सम्पर्कविहीन हुनुहुन्छ । यो अवस्था अनमोल र उहाँका बुबा दुवैका लागि अत्यन्त पीडादायी छ ।

‘मलाई आमाको धेरै सम्झना आउँछ, कहिलेकाहीँ म मञ्चमा उभिएर गीत गाउँदा लाग्छ, आमा यतैकतै मेरो स्वर सुन्दै हुनुहुन्छ,’ अनमोल भन्नुहुन्छ, ‘मलाई आशा छ, उहाँ एकदिन फर्किनुहुनेछ ।’

अनमोल र बद्री सेवा अहिले ललितपुरको बालकुमारीमा बस्दै आउनुभएको छ । बुवाको हात समाएर अनमोलले ठूलो सपना देख्नुभएको छ । बद्री पनि छोराको जीवनलाई उज्यालो बनाउने प्रयासमा दिनरात लागिरहनुभएको छ ।

‘घरको जिम्मेवारी मेरो काँधमा छ, कहिलेकाहीँ लाग्छ– म एक्लो छु तर जब अनमोलको स्वर सुन्छु, अनि लाग्छ– म असल बाटोमा छु,’ बद्री भन्नुहुन्छ ।

संगीतको यात्रामा आर्थिक संघर्षहरू झन् भनिसाध्य छैनन् । बद्री र अनमोलले धेरै कठिनाइ झेल्नुभएको छ । कहिलेकाहीँ संगीतको कक्षाका लागि पैसा हुँदैन । कतिपटक रेकर्डिङको मौका गुमाउनुपरेको छ ।

अनमोलले विभिन्न पुरस्कारहरू जितिसक्नुभएको छ । विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड २०८० मा सर्वोत्कृष्ट तीज गीत बालप्रतिभा पुरस्कार पाउनुभएका उहाँले विद्यालयका प्रत्येक संगीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको छ भने हालै बसुन्धरा नेसनल एकेडेमीले २०८१ मा आयोजना गरेको उपत्यकाव्यापी विद्यालयस्तरीय प्रतियोगितामा दोस्रो स्थान पाउनुभएको छ ।

ललिता ‘दोषी’ले रचना गर्नुभएको ‘आफैंलाई बिर्सिएर’ बोलको गीत गाएर अनमोलले २०८० सालमा ५९ औं राष्ट्रिय बाल दिवसका अवसरमा रेडियो नेपालले आयोजना गरेको बालगीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको थियो । उहाँलाई जोन राईका गीतहरू पनि औधी मन पर्छन् । ‘यी गीतहरूले मलाई सङ्गीतमा अझ निष्ठावान बनाउँछन्,’ अनमोल भन्नुहुन्छ ।

अनमोल ललितपुरको इमाडोलस्थित जेनियम नेसनल एकेडेमीमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । उहाँले भविष्यमा संगीत संयोजक बन्ने, गितार बजाउने र आफ्नै ब्याण्ड बनाउने सपना देख्नुभएको छ ।

‘मेरो चाहना छ, मेरो सङ्गीतले मानिसहरूको हृदय छोओस्,’ अनमोल भन्नुहुन्छ, ‘म संगीतलाई आफ्नो जीवनको सम्पूर्ण लक्ष्य बनाउनेछु ।’

विद्यालयका प्रिन्सिपल यशोदा कुँवर अनमोल आफ्नो विद्यालयको हिरा भएको बताउनुहुन्छ । ‘उनी असल, ज्ञानी र अध्ययनमा पनि अत्यन्त सक्षम विद्यार्थी हुन्,’ उहाँ भन्नुहुन्छ, ‘संगीत क्षेत्रमा उनी झन् अब्बल छन् । विद्यालयले उनको प्रतिभा र क्षमतालाई उच्च मूल्याङ्कन गर्दै हरेक वर्षको भर्ना शुल्कमा २५% छुट प्रदान गरेको छ ।’

उहाँका अनुसार विद्यालयमै संगीत कक्षासमेत उपलब्ध छ, जसले विद्यार्थीलाई आफ्नो प्रतिभा निखार्न सहयोग पुर्‍याएको छ । विद्यालयका संगीत शिक्षक गोपाल पहाडीले उहाँलाई प्रशिक्षित गर्दै आउनुभएको छ ।

यसका अलावा अनमोलले सातदोबाटोस्थित अलग आर्ट हबमा संगीत प्रशिक्षण लिइरहनुुभएको छ । अलग आर्ट हबमा प्रशिक्षक मण्डल साम्पाङले उहाँलाई प्रशिक्षण दिनुुहुन्छ । त्यहाँ अनमोलजस्तै थुप्रै बालबालिकाले संगीत सिकिरहनुभएको छ । 

संघर्षपूर्ण जीवनका बाबजुद संगीत यात्रालाई निरन्तरता दिइरहनुुभएका अनमोल उहाँकै उमेर समूहका बालबालिकाका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । 

यो केवल अनमोलको मात्रै कथा होइन । यो कथा हो– लाखौँ नेपालीहरूको, जो कठिनाइसँग जुध्दै आफ्नो सपना पूरा गर्न संघर्षरत छन् ।

अनमोल सेवा, जसको स्वर र जीवनदर्शन सम्पूर्ण नेपाली समाजको मन छुने अमूल्य धरोहर बनेको छ ।