बिहीबार १९ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

तिउरी लाइदिन् आमाले (बालकविता)

उरुङ बनाई पातक‍ो मर्‍याकमुरुक मिचेर, आँख्ला डाँठ निकाली सिलौटामा थिचेर,  हत्केलामा फिँजाई सुत्ने बेला रातमा तिउरी लाइदिन् आमाले दाहिने हातमा ।।

सुन्नुहोस्

उरुङ बनाई पातक‍ो
मर्‍याकमुरुक मिचेर
आँख्ला डाँठ निकाली
सिलौटामा थिचेर 
हत्केलामा फिँजाई 
सुत्ने बेला रातमा
तिउरी लाइदिन् आमाले
          दाहिने हातमा ।

रातो पार्न मेरो हात
बज्यैसित सोधेर
तिउरीसँगै पिनिछन्
मकरकाँची खोजेर
मुड्की पार्दै घुसार्दै 
कर्कलाको पातमा
तिउरी लाइदिन् आमाले
          देउरे हातमा ।

झुम्रो कस्दा मुठीमा 
पूरै अ‍ौँला छेकियो
हेर्दाहेर्दै आफ्नै हात 
भकुन्डोझैँ देखियो
नमिल्ने भो कोट्याउन 
सिन्का हाली दाँतमा
तिउरी लाइदिन् आमाले
          दुइटै हातमा ।


                     - भोर्लेटार, लमजुङ 

[साउने सङ्क्रान्तिको रातमा आमाले आफ्ना छोराछोरीको हातमा तिउरी (तिग्रे) पिनेर लगाइदिने पुरानो प्रचलनलाई आधार बनाएर लेखिएको]
 

रमेशचन्द्र घिमिरे

(घिमिरे नेपाली लेखक सङ्घ गण्डकी प्रदेश कार्य समितिका सचिव हुनुहुन्छ । उहाँका बालसाहित्यका कृतिहरु प्रकाशित छन् ।)