बुधबार १८ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

बालबालिकाको हाँसो नै मेरो लेखनीको ऊर्जा हो : ललिता 'दाेषी' (भिडियाे)

‘बालकविता सरल, लयात्मक र रोचक हुनुपर्छ । शब्दचयन पनि बालबालिकाको मनोविज्ञान बुझेर गर्नुपर्छ ।’

सुन्नुहोस्

 

नेपाली साहित्यको बहुमुखी प्रतिभा ललिता ‘दोषी’सँग बालसंसार डट कमको लाेकप्रिय कार्यक्रम बालकास्टमा ट्रिटन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत सिम्रन खवासले रोचक र प्रेरणादायी कुराकानी गनुभएको छ । जसमा जीवनका भोगाइदेखि साहित्यिक साधनासम्मका अनेक विषयमा दोषीले आफ्ना अमूल्य अनुभवहरू खुलस्त पार्नुभएको छ ।

कुराकानीको सुरुवातमा सिम्रनले सोध्नुभयो, ‘तपाईंको बाल्यकाल कस्तो ?’ दोषीले मधुर मुस्कानसहित सम्झिनुभयो, ‘मेरो बाल्यकाल निकै रमाइलो र चञ्चल रह्यो । घरपरिवारको माया, साथीसंगीको साथ र पढाइमा उत्सुकता त्यतिबेलादेखि नै थियो ।’ 

त्यसपछि सिम्रनले अर्को प्रश्न राख्नुभयो, ‘तपाईं सानो छँदा कथा सुन्न कति मन पर्थ्याे ?’ दोषीले स्मित मुस्कानका साथ भन्नुभयो, ‘कथा सुन्न निकै मन पर्थ्याे । अभिभावकबाट सुनेका कथाले मेरो कल्पनाशक्ति विस्तार गरेको हो ।’

‘तपाईंलाई सानैदेखि लेख्ने रहर थियो कि पछि आएर सुरु गर्नुभयो ?’ भन्ने प्रश्नमा दोषी भन्नुहुन्छ, ‘सानैदेखि लेख्ने झुकाव थियो । बाल्यकालमै आफ्नै भाषामा कविता, कथा लेख्थेँ ।’

‘तपाईंको पहिलो कविता ‘शुभकामना’ कति वर्षकाे हुँदा र के सन्दर्भमा लेख्नुभयो ?’ दोषीले स्मृतिमा हराउँदै भन्नुभयो, ‘त्यो म १८ वर्ष हुँदाको कुरा हो । तत्कालीन रानीकाे जन्माेत्सवकाे समयमा लेखेकाे हुँ ।’

‘प्रेमको परिभाषा’ नामक कथासंग्र्रह लेख्नुभएको रहेछ, प्रेमलाई तपाईंले कसरी अर्थ्याउनुहुन्छ ?’ भन्ने प्रश्नमा दोषीको उत्तर निकै गहिरो रह्यो, ‘मेरो बुझाइमा प्रेम भनेको समर्पण, आत्मीयता, करुणा, समझदारी र मानवीयता हो । प्रेम केवल सम्बन्ध मात्र होइन, समाज, प्रकृति र जीवनसँगको गहिरो संवेदनाको नाम पनि हो ।’

आफ्नो ‘भत्किएका किनारा’ शीर्षकको कविताबारे दोषी भन्नुहुन्छ– ‘यो कविता पनि प्रेमसँगै सम्बन्धित छ । एक जना पुरुषको दुई जना युवतीसँग प्रेम हुन्छ– एउटी श्रीमती र अर्की प्रेमिका । एक दिन दुवै जनाको भेट हुन्छ अनि दुवैले उसैसँग बस्नु भन्दै पालैपालो ती पुरुषलाई छाडिदिन्छन् । दोहोरो प्रेमले बिल्लीबाठ बनाएको प्रसंग यो कवितामा व्यक्त गरिएको छ ।’ 

‘तपाईंले चार दर्जनभन्दा बढी पुस्तक लेख्नुभएको रहेछ, यति धेरै लेख्न सक्ने ऊर्जा कहाँबाट आउँछ ?’

दोषीले मुस्कानसहित भन्नुभयो, ‘मलाई लेख्दा अत्यन्त सन्तोष र आनन्द मिल्छ । साहित्य मेरो प्राणजस्तै हो । जीवनका सुखदुःख नै लेखनका प्रेरणा हुन् ।’

‘तपाईंले धेरै पुरस्कार पाउनुभएको छ, पहिलोचोटि पुरस्कार पाउँदा कस्तो महसुस भयो ?’

दोषी भन्नुहुन्छ, ‘पहिलो पुरस्कार त मैले सानैमा पाएको हो, राष्ट्रव्यापीचाहिँ २०५९ मा भानुमती पुरस्कार पाएको हुँ । कवितातर्फ पाएको यो पुरस्कारले मलाई निकै खुसी दियो । म उत्साहित पनि भएँ । कथामा चाहिँ मैले २०६२ मा पुरस्कार पाएको हुँ । त्यो चण्डेश्वरी श्रेष्ठले स्थापना गर्नुभएको पुरस्कार थियो । पुरस्कार र सम्मान भनेको साहित्यकारहरुका लागि ऊर्जा हो ।’

‘तपाईंको विचारमा बच्चाहरूका लागि लेखिने साहित्यमा के–के कुरा हुनु आवश्यक छ ?’

दोषीले गम्भीर स्वरमा भन्नुभयो, ‘बाल साहित्यमा बाल मनोविज्ञान हुनु अनिवार्य हुन्छ । सँगसँगै सरल भाषा, रोचकता र शिक्षाप्रद सन्देश हुनुपर्छ । स्कुलमा पढाउँदा बालबालिकासँग बढेको हिमचिमले पनि मलाई लेखनमा निकै सहयोग पुग्यो । मुख्यतः बाल साहित्यमा बालबालिकालाई हिरो बनाएर लेख्नुपर्छ ।’

‘तपाईं बालबालिकाकै कुरा सुनेर र उनीहरुका क्रियाकलाप हेरेर पनि कथा लेख्नुभएको छ ?’ भन्ने प्रश्नमा दोषी हाँस्दै भन्नुहुन्, ‘अवश्य । उनीहरूका कुरा निकै नयाँ, अनौठा र कल्पनाशील हुन्छ । कहिलेकाहीँ उनीहरूको एउटै संवादले कथा तयार हुन्छ ।’

‘तपाईंले लेखेको सबैभन्दा रमाइलो बालकथा कुन हो?’

दोषीले उत्साहित स्वरमा भन्नुभयाे, ‘मलाई ‘जाल’ बालकथा निकै मन पर्छ । त्यसपछि मन पर्नेचाहिँ ‘नीलकमल’ उपन्यास हो ।’

‘तपाईंको बालकविता लेख्ने शैली अरू कविताभन्दा फरक हुन्छ कि हुँदैन ?’ यो प्रश्नमा दोषीले स्पष्ट पार्नुभयो, ‘हो, बालकविता सरल, लयात्मक र रोचक हुनुपर्छ । शब्दचयन पनि बालबालिकाको मनोविज्ञान बुझेर गर्नुपर्छ ।’

‘तपाईंको बालकविता पाठ्यपुस्तकमा पनि परेका छन् ?’

दोषीले हर्षित हुँदै भन्नुभयो, ‘हो, करिब डेढ दर्जनभन्दा बढी रचना पाठ्यक्रममा परेका छन् । याे मेरालागि गर्वको विषय हो ।’

‘सानो हुँदा बाहिर खेलिने खेलहरुमा कत्तिको रुचि थियो ?’

दोषी भन्नुहुन्छ, ‘स्वीमिङ, चेस, साइक्लिङलगायतका सबै खेल म खेल्थेँ । कतिपय प्रतियोगितामा त साथीहरु मेरो समूहमा पर्न मरिहत्ते गर्थे । मसँग हुँदा जितिन्छ भन्ने भाष्य थियाे ।’

दोषीले आफूलाई नारायणगोपालका गीतले मन छुने बताउनुभयो । ‘कलाकारमा चाहिँ शिव श्रेष्ठ मन पर्छ,’ उहाँले भन्नुभयो । 

‘तपाईंलाई मन पर्ने साहित्यकार को हुनुहुन्छ ?’

दोषी भन्नुहुन्छ, ‘मलाई मेरा गुरुसमेत रहनुभएका कृष्णप्रसाद पराजुलीका रचना मन पर्छ ।’

‘अहिलेको समयमा बालबालिकामा देखिने धेरै समस्या के होला जस्तो लाग्छ ?’

उहाँ भन्नुहुन्छ, ‘अहिले धेरै बालबालिकामा मोबाइलकै समस्या देखिएको छ । मोबाइललाई सीमित समय छुट्याएर चलाउन दिनुपर्छ जस्तो लाग्छ । यसमा अभिभावककै भूमिका बढी जिम्मेवार हुनुपर्छ ।’

ललिता ‘दोषी’ले आफ्ना बाल्यकालका मीठा स्मृतिदेखि साहित्यिक यात्रासम्मका जीवन्त अनुभव सुनाउँदै भन्नुभयो, ‘बालबालिकाको हाँसो नै मेरो लेखनीको ऊर्जा हो ।’ उहाँको अथक साहित्यिक योगदान नेपाली बालसाहित्यको गौरव हो भन्नेमा कुनै शंका छैन ।

हेर्नुहोस् भिडियो । 
 

सविता मैनाली

(शिक्षण पेसामा आबद्ध मैनाली साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ ।)