सोमबार ०५ साउन, २०८२

नेपाली समय

Facebook Live Youtube Live

भानुभक्त र घाँसी (बालकविता)

`नाति हुँ म श्रीकृष्ण हजुर बुवाको– तिर्खा लाग्दा खोज्दैछु पानी कुवाको´, घाँसी दाइले देखाए मूल भेट्टाए– पानी खान पाएर तिर्खा मेटाए ।

 

घाँसी दाइले चिनेछन् सानु बाजेलाई
हामीले´नि चिनियो भानु बाजेलाई

तिर्खा लाग्दा गर्मीमा पानी खोजेका
के गरूँ र कहाँ जाऊँ भन्ने सोचेका
त्यतिबेलै घाँसीले घाँस काट्दै थे
मुठो बाँध्न घाँसकै डोरी बाट्दै थे ।

`नाति हुँ म श्रीकृष्ण हजुर बुवाको
तिर्खा लाग्दा खोज्दैछु पानी कुवाको´
घाँसी दाइले देखाए मूल भेट्टाए
पानी खान पाएर तिर्खा मेटाए ।

`राम्रो काम गरेर नाम कमाउँछु
घाँस काटी बेचेर कुवा खनाउँछु´
घाँसी दाइका कुराले बल्ल जोस्सिए
नाम कमाउँछु भनेर भानु कस्सिए ।

`घाँस काट्ने घाँसीको यस्तो जुक्तिले
राम्रो काम गर्छु म आफ्नै बुद्धिले´
यसो भन्दै भानुले कलम समाए
रामायण लेखेर नाम कमाए ।


   भोर्लेटार, लमजुङ

रमेशचन्द्र घिमिरे

(घिमिरे नेपाली लेखक सङ्घ गण्डकी प्रदेश कार्य समितिका सचिव हुनुहुन्छ । उहाँका बालसाहित्यका कृतिहरु प्रकाशित छन् ।)