'पढाइ महत्वपूर्ण छ तर त्याे नै सबथाेक हाेइन' (भिडियाे)
'स्वास्थ्यप्रति सजग नभई सफल जीवनको कल्पना गर्न सकिन्न त्यसैले हामीले मोबाइलमा भन्दा बढी समय आफूलाई विकास गर्न लगाउनुपर्छ ।'
कक्षा १२ को परीक्षा हालै दिएर बसिरहनु भएका सिर्जन श्रेष्ठ अहिले आफ्नो भविष्यलाई लिएर गम्भीर सोचमा हुनुहुन्छ। होटल म्यानेजमेन्टमा अध्ययन गरे पनि उहाँको रुचि अकाउन्टिङको क्षेत्रमा केन्द्रित छ र भविष्यमा यही क्षेत्रमा करिअर बनाउने सोच राख्नुहुन्छ।
विदेशी शिक्षातर्फ ध्यान केन्द्रित गरिरहनु भएका श्रेष्ठ पछिल्ला केही वर्षदेखि शारीरिक तन्दुरुस्तीका लागि नियमित रूपमा जिममा पनि संलग्न हुनुहुन्छ।
बालसंसार डट कमको लाेकप्रिय कार्यक्रम किशोर आवाजकाे २५ साैं भागमा हामीले श्रेषठसँग उहाँको पढाइ, भावी योजना, जिम अनुभव र जीवनशैलीबारे खुलस्त कुराकानी गरेका छाैं ।
कक्षा १२ मा होटल म्यानेजमेन्ट विषय पढ्नुभएका श्रेष्ठ सानैदेखि व्यवस्थापन र सेवा क्षेत्रप्रति आकर्षित हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ– 'म भोजन सेवा, व्यवस्थापन र आतिथ्य संस्कृतिप्रति उत्साहित थिएँ, त्यसैले होटल म्यानेजमेन्ट रोजें ।'
हाल उहाँ उच्च शिक्षा अध्ययनका लागि विदेश जाने साेचमा हुनुहुन्छ र IELTS का लागि तयारी गरिरहनुभएकाे छ । विषय होटल म्यानेजमेन्ट भए पनि उहाँ भविष्यमा अकाउन्टिङतर्फ लाग्ने सोचमा हुनुहुन्छ। 'म व्यवस्थापनसँगै संख्यात्मक पक्ष, विश्लेषण र आर्थिक लेखाजोखा मन पराउँछु, त्यसैले अकाउन्टिङतर्फ करिअर बनाउने योजना छ,' उहाँ बताउनुहुन्छ।
तपाइँकाे पुस्ता पढाइलाई कसरी लिन्छ ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, 'एकेडेमिक शिक्षा महत्वपूर्ण छ तर पढाइ नै सबैथाेक हाे भन्ने साेचमा हामी छैनाैं । हामी जे पढिरहेका छाैं, त्यसबाहेककाे फिल्डमा पनि मज्जाले काम गर्न सकिन्छ र त्याे गर्नुपर्छ जस्ताे लाग्छ ।'
उहाँको जीवनशैलीको अर्को महत्त्वपूर्ण पक्ष भनेको फिटनेस हो । पहिले धेरै पातलो शरीरका कारण आत्मविश्वासको कमी महसुस गर्नुभएका श्रेष्ठले शरीरलाई बलियो बनाउने उद्देश्यले १० महिनाअघि जिम सुरु गर्नुभएको थियो । 'शरीर झिनो थियो, हात खुट्टा कमजोर लाग्थ्यो, त्यसैले जिम जान थालेको हुँ,' उहाँ भन्नुहुन्छ, 'म दुब्लाे भएकाले आफन्त र साथीभाइले पनि खिसी गर्नुहुन्थ्याे ।'
उहाँ अहिले हरेक दिन जिम जानुहुन्छ । प्रशिक्षकको निर्देशनमा व्यायाम गर्नुहुन्छ र खानपानमा पनि सचेत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– 'पहिले अल्छी लाग्थ्यो, अहिले भने जिम बिनाको दिन अधूरो लाग्छ ।'
उहाँका अनुसार जिमले शारीरिक मात्र होइन, मानसिक रूपमा पनि धेरै सकारात्मक परिवर्तन ल्याएको छ। 'पढाइमा ध्यान दिन सक्ने भइयो, आत्मबल बढ्यो र अनुशासन आयो,' उहाँ भन्नुहुन्छ ।
समय व्यवस्थापनमा पनि उहाँ स्पष्ट हुनुहुन्छ । पढाइ, जिम, परिवार र साथीहरूबीच सन्तुलन राख्दै अघि बढ्नु उहाँको दिनचर्याको हिस्सा बनेको छ। 'दिनमा २४ घण्टा सबैसँग हुन्छ, कसरी प्रयोग गर्ने भन्ने कुरा हो,' उहाँको भनाइ छ।
समकालीन किशोरहरूका लागि उहाँको सन्देश छ– 'स्वास्थ्यप्रति सजग नभई सफल जीवनको कल्पना गर्न सकिन्न । मोबाइलमा भन्दा बढी समय आफूलाई विकास गर्न लगाउनुपर्छ ।'
सिर्जन श्रेष्ठजस्ता किशोरहरू, जाे पढाइ, स्वास्थ्य र भविष्यप्रति स्पष्ट सोच राख्छन्, आजको पुस्ताका लागि प्रेरणाका पात्र हुन् । उहाँको अनुशासन, दृढता र सकारात्मक सोचले अन्य किशोरहरूलाई पनि आफ्नो बाटो पहिल्याउन मद्दत गर्न सक्छ।
श्रेष्ठसँगकाे कुराकानी सुन्नुहाेस्– भिडियाेमा ।

गायिका अभिज्ञा घिमिरे : ‘राधा’बाट चर्चित, अब इन्डियन रियालिटी शोमा प्रतिस्पर्ध…
'गीत गाउँदा कहिलेकाहिँ अर्कै दुनियाँमा पुगेझैं लाग्छ' (भिडियाे)
सारेगमप लिटिल च्याम्प्समा चम्किँदै राजेश : जसको स्वरले छोएको छ देशको मन (भिडि…

‘कक्षा १० र ११ लाई जोड्ने पुल रहेछ ब्रिजकोर्स’ (भिडियाे)

उमेर बढ्दै जाँदा किशोरीहरूले किन छाड्छन् मार्सल आर्ट ?
‘इनडोर गेमप्रतिको रुचिले बच्चाहरुमा गम्भीर असर पारिरहेको छ’ (भिडियाे)

`हामी देशका लागि पदक जित्छौं तर देशले हामीलाई चिन्दैन´

प्रतिक्रिया