सोमबार २३ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

प्रधानाध्यापक कुशल व्यवस्थापक हुनुपर्छ : सुनिता डंगाेल

प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरु शिक्षासँगै श्रम क्षेत्रमा आवद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीको एसईईको नतिजा राम्रो नभएको गुनासाे ।

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रुपमा प्रधानाध्यापकलाई तथा बालमैत्री र हरेक समस्याको समाधान दिन नेतृत्वदायी शिक्षकको भूमिका खोजेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ ।

गएको ३ वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थी नटग्रेडेड नतिजा भएका विद्यालयका प्रधानाध्यापकसँग कुराकानी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । 

‘चुनौती छन्, यसकारण नेतृत्वको खोजी भएको हो,’ उहाँले भन्नुभयो, ‘साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको एक महिना नटग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ ।’ 

छलफलमा शिक्षा अधिकृत केशव ज्ञवालीले प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरुको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरु शिक्षासँगै श्रम क्षेत्रमा आवद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीको एसईईको नतिजा राम्रो नभएको उल्लेख गर्नुभयो । 

छलफलमा विद्यालयका प्रधानाध्यापकले नतिजा सुधारका लागि आउँदो १ महिने अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँहरुको दृष्टिमा केही विद्यार्थीहरुमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैकाे बराबरी भूमिका रहेको उल्लेख गर्नुभयो । 

‘केही मिहिनेत गर्ने विद्यार्थीको पनि नटग्रेडेड नतिजा आयो, कति विद्यार्थीले जाँच दिए तर गयल देखायो,’ प्रधानाध्यापकहरुले थप कारण देखाउँदै भन्नुभयो, ‘घरमा दिनहुँ झगडा छ, बालबालिकाले पढाइमा ध्यान दिनै सक्दैनन् । अभिभावक जिम्मेवार नभएका कारण विद्यार्थी कसैलाई टेर्दैनन् । कतिपय बालबालिकाले श्रममा आवद्ध भएर अभिभावकको भूमिका वहन गर्नुपर्ने ठाउँमा छन् । उनीहरु चाहेर पनि पढाइमा ध्यान दिन सक्दैनन् । कतिपय विद्यार्थीहरु अभिभावकलाई टेर्दै टेर्दैनन् । अभिभावकलाई साथी जत्तिको पनि मान्दैनन् । अभिभावकलाई उनीहरुको शैक्षिक सुधारका लागि बोलाउँदा विद्यालयमा आउनु नै हुन्न । बिहान पढायो । त्यसपछि खाना खान घर पठाउँदा विद्यार्थी फर्केर विद्यालय नै आउँदैनन् । गयल हुन्छन् । विषयगत शिक्षकको अभाव भयो । दरबन्दी छ, शिक्षक छैनन् । विद्यालय वरिपरिको वातावरण राम्रो भएन यसकारण उनीहरुमा खराव बानीको लत छ । यस्ता धेरै कारणले केही विद्यार्थीहरुको एसईईको नतिजा विग्रिएको हो ।’

उहाँहरुले थप्दै भन्नुभयो, ‘महानगरपालिकाले नियमित अनुगमन गरिदिनुपर्छ । प्रधानाध्यापक र शिक्षकको नेतृत्व विकास र क्षमता विकास गरिदिनुपर्छ ।’

अभिभावकहरुको धारणाको प्रतिनिधिमूलक आवाज बोल्दै उहाँहरुले भन्नुभयो, ‘उसको विषयमा मलाई भन्दा पनि नभन्नु । म स्कूल आउन पनि आउँदिन । मेरो नानीबाबुलाई ब्ल्याक बेल्ट चाहिएको छ । एसईई फेल भएर पनि फरक पर्दैन भन्ने अभिभावक पनि हुनुहुन्छ । हामीले सेलेक्टेड विद्यार्थी लिने होइन । विद्यालयको क्षमताले अट्टाउने सबै विद्यार्थी भर्ना लिने हो । यसकारण सामुदायिक विद्यालयमा अनेक खालका कार्यक्रम चाहिएको छ ।'

२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट ४ हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये ९५६ जना (नट ग्रेडेड) ले पुन परीक्षा दिनु पर्ने भएको छ । 

उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् । गएको वर्ष ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । ३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १४८ जना छ ।

यस्तै २.८१ देखि ३.२ जीपीए ल्याउने ८९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २५७ जना, २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना छन् । यसमा गएको वर्ष क्रमशः १ हजार ५० जना, १ हजार ८० जना, ३९५ जना र १६ जना विद्यार्थी थिए ।