सोमबार २३ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

सारेगमप लिटिल च्याम्प्समा चम्किँदै राजेश : जसको स्वरले छोएको छ देशको मन (भिडियाे)

भविष्यमा सफल गायक बन्ने राजेशको लक्ष्य छ । नेपाली लोक, आधुनिक र शास्त्रीय सबै विधामा दक्षता हासिल गर्ने उहाँको सपना छ । भन्नुहुन्छ, ‘म चाहन्छु, मेरो स्वरले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाओस् ।’

 

चर्चित गायन रियालिटी शो सारेगमप लिटिल च्याम्प्स नेपालको सिजन २ मा एक १३ वर्षीय प्रतिस्पर्धीको स्वरले देशभरका दर्शकको मन जितिरहेको छ । 

काठमाडौंको सामाखुसीस्थित नवोदित विद्याकुञ्ज स्कुलमा कक्षा ८ मा अध्ययनरत सुनसरीका राजेश परियार सानैदेखि संगीतमा रुचि राख्नुहुन्थ्यो । उहाँको यात्रा प्रेरणादायी मात्र होइन, अनुकरणीय पनि देखिन्छ ।

बालसंसार डटकमको लोकप्रिय कार्यक्रम किशोर आवाजको २४ औं भागमा हामीले तिनै सुमधुर स्वरका धनी राजेशसँग कुराकानी गरेका छौं । जसमा उहाँले आफ्नो संगीत यात्रा, पढाइमा सन्तुलन र भविष्यप्रतिको दृष्टिकोणबारे खुलेर बताउनुभएको छ ।

‘संगीत मेरो आत्मासँग जोडिएको कुरा हो,’ उहाँले भन्नुभयो, ‘स्कुलका कार्यक्रमहरुमा सानैदेखि गाउँथेँ । धनकुटाको हिलेस्थित मनकामना स्कुलमा कक्षा २ मा पढ्दा मैले विद्यालयस्तरीय प्रतियोगिता जितेको थिएँ ।’ कक्षा ४ देखि भने उहाँले सुनसरीको बराहक्षेत्रस्थित हिमालयन स्कुलमा पढ्नुभयो । त्यहाँ पनि उहाँले विद्यालयस्तरका धेरै प्रतियोगितामा सहभागिता जनाउनुभयो । 

राजेशले पछि भ्वाइस अफ किड्समा पनि भाग लिनुभयो र भोटिङ राउण्डबाट बाहिरिनुभयो । डिजिटल अडिसन, फिजिकल अडिसन हुँदै उहाँ भ्वाइस अफ किड्सको भोटिङ राउण्डसम्म पुग्नुभएको थियो ।

सात वर्षको उमेरमै विद्यालयको कार्यक्रममा गीत प्रस्तुत गरेर सुरु भएको उहाँको यात्रा आज देशको ठूलो मञ्चसम्म आइपुगेको छ । यो सफलता सहज थिएन । निरन्तर अभ्यास, परिवारको साथ र गुरुजनको मार्गदर्शनले उहाँलाई यहाँसम्म ल्याएको हो । ‘परिवारको साथ नभएको भए म यहाँसम्म पुग्ने थिइनँ होला,’ उहाँ भन्नुहुन्छ ।

‘सारेगमप लिटिल च्याम्प्स’ मा हजारौं बालबालिकाबीचबाट छनोट भएर प्रतिस्पर्धा गर्न पाउनु चानचुने कुरा होइन । ‘छनोट हुँदा एकछिन विश्वासै लागेन तर मञ्चमा उभिँदा लाग्यो— यत्रो अवसर मैले गुमाउनु हुँदैन,’ उहाँले भावुक हुँदै सुनाउनुभयो ।

हाल उहाँको दिनचर्या निकै व्यस्त छ । संगीतको अभ्यास र विद्यालयको पढाइलाई सन्तुलनमा राखेर अघि बढ्नु ठूलो चुनौती हो तर उहाँ दृढ देखिनुहुन्छ । ‘पढाइ र संगीत दुवै महत्वपूर्ण छन्, समय मिलाएर दुवैमा ध्यान दिइरहेको छु,’ उहाँको भन्नुहुन्छ ।

भविष्यमा सफल गायक बन्ने उहाँको लक्ष्य छ । नेपाली लोक, आधुनिक र शास्त्रीय सबै विधामा दक्षता हासिल गर्ने उहाँको सपना छ । भन्नुहुन्छ, ‘म चाहन्छु, मेरो स्वरले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाओस् ।’ स्वरसम्राट नारायणगोपालका गीतहरु गुन्गुनाउन उहाँ मन पराउनुहुन्छ । 

पढाइमा पनि उहाँ अब्बल हुनुहुन्छ । विद्यालयमा अनुशासित, विनम्र र परिश्रमी विद्यार्थीका रूपमा उहाँको पहिचान छ । संगीतप्रतिको उहाँको समर्पण र निरन्तर अभ्यासले सबैलाई प्रभावित पारेको छ ।

आज उहाँको स्वरले हजारौं मुटु छोइरहेको छ । यो यात्रालाई अझ उचाइमा लैजाने प्रचुर सम्भावना र क्षमता उहाँमा छ । उहाँको सङ्गीत यात्रा देशका सम्पूर्ण बालबालिकाका लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ ।
 

सविता मैनाली

(मैनाली शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । साहित्यका विभिन्न विधामा उहाँ कलम चलाउनुहुन्छ ।)