रोपाइँको खुसी (भिडियाे)
रोपाइँमा सहभागी गराउँदा सहरका बालबालिकाले थोरै भए पनि धान उत्पादनबारे थाहा पाउने वनस्थलीस्थित स्मार्ट किड्स किन्डरगार्टेनकी प्रिन्सिपल सविता घिमिरे बताउनुहुन्छ ।
भाइबहिनीहरु, आज असार १५ गते हो । तपाईंहरुलाई थाहा छ, यो दिनमा हामी के गर्छौं ?
असार महिना मानो रोपेर मुरी फलाउने समय हो । असारको पनि १५ गतेलाई चाहिँ हामीले धान दिवसका रुपमा मनाउँदै आएका छौं । यो वर्ष हामीले १८ औं राष्ट्रिय धान दिवस मनाएका छौं ।
२०६२ असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । असारमा वर्षभरिका लागि छाक जुटाउन रोपाइँ गर्ने चलन छ ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
धान दिवसको प्रमुख सांस्कृतिक पक्ष भनेको दही चिउरा खाने हो । अधिकांश नेपाली परिवारले घरमै दही चिउरा खाने चलनलाई निरन्तरता दिँदै आएका छन् । पोषणयुुक्त दहीलाई शुभकामना र एकताको प्रतीकका रुपमा लिइन्छ ।
विद्यालय र शिक्षण संस्थाहरूमा धान दिवसका दिन विविध कार्यक्रम गरिएको छ । विद्यार्र्थीलाई कृषि, धान उत्पादनको महत्व, स्वदेशी उत्पादनप्रतिको सम्मान र परिश्रमको मूल्यबारे अवगत गराउने उद्देश्यले धेरै विद्यालयमा वास्तविक रोपाइँ अभ्यास गराइन्छ । यसले उनीहरूलाई कृषि र प्रकृतिप्रतिको सम्बन्ध बुझ्न सघाउँछ ।
धान दिवसकै अवसरमा आइतबार काठमाडौंको वनस्थली खरिबोटस्थित स्मार्ट किड्स किन्डरगार्टेनले बालबालिकालाई रोपाइँको महत्व सिकाउन खेतमै लगेर रोपाइँमा सहभागी गराएको छ ।
प्रिन्सिपल सविता घिमिरेका अनुसार यो स्कुलले हरेक वर्ष बालबालिकालाई धान रोपाइँमा सहभागी गराउँछ । ‘यसले चामलको उत्पादनबारे जानकारी दिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘विद्यालयदेखि नै प्रयोगात्मक ज्ञान दिने उद्देश्यले बालबालिकालाई बीउ राख्नेदेखि रोप्नेसम्मका गतिविधिमा सहभागी गराइएको हो ।’
सहरका बालबालिका चामल पसलबाट आउँछ भन्ने बुझाइमा सीमित छन् । धान दिवसले उनीहरुलाई थोरै भए पनि धान उत्पादनबारे ज्ञान दिने घिमिरे बताउनुहुन्छ ।
रोपाइँको रमाइलोमा सहभागी हुन पाउँदा बालबालिका पनि निकै खुसी हुनुहुन्थ्यो । उहाँहरूले हिलोमा खेल्दै, गीत गाउँदै धान रोप्नुुभयो र एकअर्कालाई हिलो दलेर हाँसोठट्टा गर्नुभयो ।
धान खेतीले वातावरणलाई हरियाली राख्न मद्दत गर्छ । खेतमा हरियो बिरुवा हुर्किंदा हावा सफा हुन्छ र जमिनलाई पनि बलियो बनाउँछ । रोपाइँले हाम्रो संस्कृतिलाई पनि बचाइराखेको छ ।
बालबालिकाले रोपाइँको महत्व बुझ्न जरुरी छ ताकि उनीहरूले माटो, पानी र प्रकृतिप्रतिको माया राखून् । रोपाइँ हाम्रो जीवन, संस्कृति र भविष्यसँग जोडिएको छ ।

चोरी गरी अमेरिका पुर्याइएका पुरातात्त्विक वस्तुहरू फिर्ता

विष्णुमती नदीमा भेटिएको मूर्तिबारे पुरातत्वले अध्ययन गर्ने

ज्ञानकाे अर्काे पाठशाला : राष्ट्रिय संग्रहालय (भिडियाे)

प्रतिक्रिया