परम्परा, पहिचान र उत्पादनसँग जोडिएको धान दिवस
विद्यार्थीहरूलाई कृषि, धान उत्पादनको महत्त्व, स्वदेशी उत्पादनप्रतिको सम्मान र परिश्रमको मूल्यबारे अवगत गराउने उद्देश्यले धेरै विद्यालयहरूमा बालबालिकालाई खेतमा लगेर वास्तविक रोपाइँ अभ्यास गराइन्छ ।
आज नेपालभर १८ औं राष्ट्रिय धान दिवस विविध कार्यक्रमसहित उत्सवको रुपमा मनाइँदैछ। असार १५ अर्थात् ‘मानो रोपेर मुरी फलाउने’ परम्परागत दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउन थालेको १८ वर्ष पूरा भएको छ।
वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा छ ।
यस वर्षको धान दिवसको नारा “धान उत्पादनमा आत्मनिर्भरता, समृद्ध नेपालको आधार” तय गरिएको छ। राजधानीसहित देशभरका विभिन्न जिल्लाहरूमा किसान, कृषि विज्ञ, सरकारी निकाय, विद्यालय र सामुदायिक समूहहरू सहभागी भई रोपाइँ महोत्सव, धान रोपाइँ प्रतियोगिता, परम्परागत नाचगान, कृषि प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन्।
धान दिवसको प्रमुख सांस्कृतिक पक्ष भनेको दही चिउरा खाने परम्परा हो । कृषि र संस्कृतिसँग गाँसिएको यो दिन वर्षा ऋतुको सुरुवातसँगै नयाँ उत्साह र परिश्रमको प्रतीक मानिन्छ । यो दिन अधिकांश नेपाली परिवारहरूले घरमै दही चिउरा खाने चलनलाई निरन्तरता दिँदै आएका छन् । दही पोषणमा भरिपूर्ण हुनुका साथै परम्परा, शुभकामना र एकताको प्रतीकको रुपमा लिइन्छ । डेरी व्यवसायीहरूका अनुसार असार १५ नजिकिँदै गर्दा दहीको माग एकाएक बढ्ने गर्दछ र उनीहरूले एक हप्ता अघिदेखि तयारी गर्दै आएका हुन्छन् ।
विद्यालय र शिक्षण संस्थाहरूमा समेत धान दिवसका दिन विविध कार्यक्रम गरिएकाे छ । विद्यार्थीहरूलाई कृषि, धान उत्पादनको महत्त्व, स्वदेशी उत्पादनप्रतिको सम्मान र परिश्रमको मूल्यबारे अवगत गराउने उद्देश्यले धेरै विद्यालयहरूमा बालबालिकालाई खेतमा लगेर वास्तविक रोपाइँ अभ्यास गराइन्छ, जसले उनीहरूलाई कृषि र प्रकृतिप्रतिको सम्बन्ध बुझ्न सघाउँछ ।
यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको किसानले गुनासो गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ ।
आजको सन्दर्भमा शहरका बालबालिकाहरू चामल पसलबाट आउँछ भन्ने बुझाइमा सीमित हुन थालेका छन् । त्यसैले धान दिवसले कृषिको महत्त्वको पुनः स्मरण गराउँदै खेतबारीमा पसिना बगाउने किसानप्रतिको कृतज्ञता प्रकट गर्ने माध्यम बनेको छ । कृषिमा आधारित देशको हैसियतमा हामीले उत्पादनमै गर्व गर्नुपर्छ, आयातमा होइन भन्ने सन्देश धान दिवसले दिन खोजेको हो ।
विनाेदीलाई माधव वियाेगी साहित्य पुरस्कार, उदासी र घिमिरेलाई सम्मान
किन निराश र चिन्तित छ पछिल्लाे पुस्ता ?
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता कात्तिक १४ र १५ मा
युराेपमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव
महात्मा गान्धी : साधारण जीवन, ठूलो प्रेरणा
जेनजी पुस्ता : इन्टरनेटको सहारामा उदाएको नयाँ शक्ति
बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु
प्रतिक्रिया