सोमबार २३ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

रोबोटिक्स र गेमिङ सिक्दै बालबालिका (भिडियाे)

रोबोटिक्स र गेमिङ शिक्षाले बालबालिकामा समस्या समाधान गर्ने सीप, रचनात्मकता र समूहमा काम गर्ने क्षमताको विकास गर्छ ।

बालबालिकाको सिर्जनशीलता र प्रविधिप्रतिको रुचिलाई ध्यानमा राख्दै राजधानीका केही संस्थाहरूले रोबोटिक्स र गेमिङ सिकाउने कक्षा सञ्चालन गरिरहेका छन् । बालसंसार डट कमले हालै त्यस्तै एक सिकाइ केन्द्रमा पुगेर प्रशिक्षक र सिक्ने बालबालिकासँग संवाद गरेको छ ।

स्किल टुटर संस्थाले ललितपुरको पुल्चोकमा साप्ताहिक रुपमा रोबोटिक्स र गेमिङको कक्षा सञ्चालन गर्ने गरेको छ । हरेक साता यहाँ दर्जनौं बालबालिका रोबोटिक्स र गेमिङका कक्षा लिन्छन् । सात वर्षदेखि पन्ध्र वर्षसम्मका बालबालिकाले यहाँ कोडिङ, गेमिङलगायतका सीप सिकिरहेका छन् । 

‘सुरुमा रोबोट भनेको ठूला वैज्ञानिकहरूले मात्रै बनाउने कुरा हो जस्तो लाग्थ्यो,’ आइडियल मोडल स्कुल ललितपुरमा अध्ययनरत सुभम घिमिरे भन्नुहुन्छ, ‘यहाँ आएर कोडिङ र गेमिङका कक्षा लिन थालेपछि मेरो बुझाइ फेरिएको छ । अहिले हामी बेसिक कोर्स सिकिरहेका छौं । एआईको युग भएकाले यो सिक्नु जरुरी छ जस्तो लाग्छ ।’

डिएभी स्कुलमा अध्ययनरत सिर्जन झा पनि यहीँ कक्षा लिइरहनुभएको छ । ‘तीन महिनामा मैले रोबोट बनाउन, गाडी बनाउन सिकिरहेको छु,’ उहाँ भन्नुहुन्छ । इञ्जिनियर बन्ने उहाँको लक्ष्य छ । 

प्रिमियर इन्टरनेशनल स्कुलमा अध्ययनरत आरभ सरावगीले रोबोटिक्स सिकिरहनुभएको छ । यहाँको सिकाइले पछि इञ्जिनियरिङ पढ्न सजिलो हुने उहाँ बताउनुहुन्छ । ‘हामीले आरसी कार बनाएका छौं, अटोमेटिक डस्टबिन बनाएका छौं,’ उहाँ भन्नुहुन्छ, ‘यसका लागि सफ्टवेयर र हार्डवेयर दुवैको ज्ञान लिनुपर्छ ।’ उहाँले वैज्ञानिक बन्ने लक्ष्य लिनुभएको छ । 

प्रशिक्षक ठाकुर पौडेलका अनुसार रोबोटिक्स र गेमिङ शिक्षाले बालबालिकामा समस्या समाधान गर्ने सीप, रचनात्मकता र समूहमा काम गर्ने क्षमताको विकास गर्छ । ‘रोबोटिक्स भनेको कुनै सामानहरु जोडेर एउटा खास चिज बनाउने काम हो,’ उहाँ भन्नुहुन्छ, ‘यसमा इञ्जिनियरिङदेखि हार्डवेयरसम्मका सबै काम हुन्छ ।’

यहाँ ८ महिनाको कोर्स प्लान बनाएर सिकाइरहेको उहाँ बताउनुहुन्छ । ‘बालबालिकाले खेलजस्तै लाग्ने गतिविधिबाट तार जोड्ने, कोड लेख्ने, त्रुटि खोज्ने र समाधान गर्ने सीप सिकिरहेका छन्, उनीहरूलाई विभिन्न प्रतियोगिता र परियोजनामा सहभागी गराइन्छ, जसबाट उनीहरूले सिकेका कुरा प्रयोगमा ल्याउन पाउँछन्,’ उहाँ भन्नुहुन्छ ।

यो सिकाइ रमाइलो तर गम्भीर पनि छ । 

बालबालिकाका अभिभावकहरू पनि यस्तो सिकाइ पद्धतिबाट सन्तुष्ट हुनुहुन्छ । उहाँहरूको भनाइमा यस्ता सीपले बच्चाहरूको समयको सदुपयोगसँगै भविष्यका लागि समेत तयारी गरिरहेको छ ।

रोबोटिक्स र गेमिङजस्ता प्रविधिमैत्री सिकाइ पद्धतिहरू अहिले विश्वभर नै प्राथमिक तहमै सिकाउन थालिएको छ । नेपालमा पनि यसप्रति बढ्दो रुचि देखिन थालेको छ ।

बालबालिकामा प्रविधिप्रति उत्सुकता बढ्दै गएको छ र उनीहरू आफूले बनाएका सामग्रीबाट गर्व महसुस गर्न थालेका छन् । यसले उनीहरूको आत्मविश्वास र सृजनशीलतालाई थप उचाइमा पु¥याउने निश्चित देखिन्छ ।