'राम्राे गायक बनेर नेपाली संगीतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्न चाहन्छु' (भिडियाे)
भ्वाइस अफ किड्स नेपालको चाैथाे सिजनको ब्याटल राउण्डमा पुग्नुभएका अभयको प्रस्तुतिमा आत्मविश्वास, मिठास र भावनात्मक गहिराइ झल्कन्छ । उहाँ नेपाली लोकदेखि आधुनिक र पप गीतहरू सजिलै गाउन सक्नुहुन्छ ।
चर्चित बालगायन रियालिटी शो भ्वाइस अफ किड्स नेपालको चाैथाे सिजनको ब्याटल राउण्डसम्म पुग्नुभएका अभय दवाडी काठमाडौंको ल्याब्रोटरी स्कुलमा कक्षा ५ मा अध्ययनरत हुनुहुन्छ ।
अध्ययनमा अब्बल र व्यवहारमा सरल अभय सानैदेखि संगीतप्रति आकर्षित हुनुहुन्थ्याे । बालसंसार डट कमसँगको कुराकानीमा उहाँले आफ्नो संगीत यात्रा, पढाइको अनुभव र आगामी योजनाबारे खुलेर कुरा गर्नुभएकाे छ ।
'गायनमा मलाई सानैदेखि रुचि थियाे,' अभयले मुस्कुराउँदै भन्नुभयाे, 'पछि हाम्राे विद्यालयका म्युजिक शिक्षक रमेश सुवेदी सरले रेडियाे नेपालमा लैजानुभयाे, त्यहाँ गएर गाएपछि संगीतप्रतिकाे मेराे झुकाव झन् बढ्याे ।'
भ्वाइस अफ किड्सको अडिसनबाट सुरु भएको उहाँको सांगीतिक यात्रा अहिले ब्याटल राउण्डसम्म पुगेको छ। 'अडिसनको दिन म निकै उत्साहित थिएँ, जब कोचहरूले मेरो स्वर मन पराएर टर्न गर्नुभयो, त्यो क्षण कहिल्यै बिर्सन सक्दिन,' उहाँले भावुक हुँदै भन्नुभयाे ।
अभयको प्रस्तुतिमा आत्मविश्वास, मिठास र भावनात्मक गहिराइ झल्कन्छ । उहाँ नेपाली लोकदेखि आधुनिक र पप गीतहरू सजिलै गाउन सक्नुहुन्छ । यही बहुपक्षीयता र अभ्यासको नतिजा स्वरूप उहाँले छोटो समयमै धेरै दर्शक र कोचहरूको मन जित्नुभएकाे छ ।
विद्यालयमा पनि उहाँ अध्ययनमा अब्बल हुनुहुन्छ । ल्याब्रोटरी स्कुलका संगीत शिक्षक रमेश सुवेदी भन्नुहुन्छ, 'अभय असाधारण प्रतिभा भएका विद्यार्थी हुन् । केवल स्वर मात्र होइन, संगीत बुझ्ने क्षमता पनि उनमा छ । साथै, पढाइमा पनि जिम्मेवार छन्– यो सन्तुलन हेर्दा हामीलाई गर्व लाग्छ ।'
अभय हरेक दिन स्कुलबाट फर्किएपछि निश्चित समय संगीत अभ्यास गर्नुहुन्छ । 'मैले पढाइ र संगीतलाई सँगसँगै अघि बढाउने कोसिस गरिरहेको छु । समय मिलाएर अभ्यास पनि गर्छु र गृहकार्य पनि,' उहाँले भन्नुभयाे ।
संगीतप्रतिको अभयको लगाव यत्तिमा सीमित छैन । भविष्यमा उहाँले संगीत क्षेत्रमै लाग्ने सोच बनाउनुभएकाे छ । 'म राम्राे गायक बनेर नेपाली संगीतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्न चाहन्छु,' उहाँले सपना सुनाउनुभयाे ।
अरुसरह आँखाले संसार देख्न नसके पनि सहपाठीहरूमाझ लोकप्रिय अभयलाई शिक्षकहरूले पनि अनुशासित, नम्र र लगनशील छात्रका रूपमा लिने गर्नुभएकाे छ ।
भ्वाइस अफ किड्सजस्तो राष्ट्रियस्तरको मञ्चले आफूलाई अझ धेरै सिक्न र आत्मविश्वास बढाउन ठूलो सहयोग पुर्याएको उहाँले बताउनुभयाे । 'त्यहाँ साथीहरू, कोचहरू र दर्शकहरूसँगको अनुभव अविस्मरणीय छ,' अभयले भन्नुभयाे ।
संगीत र अध्ययनको सन्तुलनमा अगाडि बढिरहेका अभयजस्ता बालप्रतिभाहरूले नेपाली संगीतको उज्वल भविष्यको संकेत गर्छन्।
प्रतिक्रिया