शनिबार ०७ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

सुविन र रिहान्नालाई यू–१९ ब्याडमिन्टन प्रतियोगिताको स्वर्ण

ब्वाइजतर्फ त्रिभूवन आर्मी क्लबका सुविनले सुनसरी ब्याडमिन्टन एकेडेमीका एन्ड्रियज लिम्बुलाई २१–१९ र २१–१७ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जित्नुभयाे भने गर्ल्सतर्फको फाइनलमा आर्मीकी रिहान्ना शेरचनले लालिगुराँसकी अस्मिता खत्रीलाई २१–१३ र २१–१३ ले हराउनुभयाे ।

प्रथम राष्ट्रिय स्तरीय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत यू–१९ तर्फ सुविन श्रेष्ठ र रिहान्ना शेरचन प्रथम हुनुभएकाे छ ।

टोखा नगरपालिका र डिबीए एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको यु–१९ ब्वाइजतर्फ त्रिभूवन आर्मी क्लबका सुविनले सुनसरी ब्याडमिन्टन एकेडेमीका एन्ड्रियज लिम्बुलाई २१–१९ र २१–१७ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जित्नुभयाे । यस विधामा इमा तामाङ र सुदेश राजकोटी तेस्रो हुनुभयाे ।

गर्ल्सतर्फको फाइनलमा आर्मीकी रिहान्ना शेरचनले लालिगुराँसकी अस्मिता खत्रीलाई २१–१३ र २१–१३ ले हराउनुभयाे । निभा राई र प्रेन्सा श्रेष्ठ तेस्रो हुनुभयाे । यू–१९ विधाका प्रथम हुनेले ट्रफी मेडलसहित २० हजार जिते भने दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार हात पारे ।

यस्तै यू–१५ ब्वाइजतर्फ आर्मीका सुदेश राजकोटी पहिलो हुनुभयाे । उहाँले इमा तामाङलाई १६–२१, २१–१४ र २१–१८ ले हराउनुभयाे । कैलालीका आदित्य चौधरी र आर्मीका दीप थिङ तेस्रो भए । यू–१५ गर्ल्सतर्फ निभा राईले समृद्धि श्रेष्ठलाई २१–१६ र २१–१६ ले हराउँदै स्वर्ण पदक हात पार्नुभयाे । अस्मिता खत्री र सविज्ञा दाहाल तेस्रो हुनुभयाे ।

यु–१३ विधामा ब्वाइजतर्फ आर्मीका दिप थिङले आफ्नै क्लबका रिजन मगरलाई २१–१० र २१–१० को सोझो सेटमा हराउँदै पहिलो हुनुभयाे । रोजमेरी स्कुलका दियोन भण्डारी र एमबीबीएफका सक्षम गुरुङ तेस्रो हुनुभयाे । गर्ल्सतर्फ सुनसरीकी सविज्ञा दाहालले आर्मीकी अजरेन्का शेरचनलाई २१–१८ र २१–११ ले हराउँदै पहिलो हुनुभयाे । ग्यालेक्सी पब्लिक स्कुलकी अर्चना मगर र एपीएफकी आकृति कार्की तेस्रो हुनुभयाे ।

विजेता खेलाडीलाई नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतले पुरस्कार वितरण गर्नुभयाे ।