शनिबार ०७ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

प्रथम जुनियर नेशनल च्याम्पियनसिप चेस सुरु

युवा पुरुष २० वर्षमुनिका ११७ जना खेलाडी सहभागी रहेको प्रतिस्पर्धामा १२ जना राष्ट्रिय जुनियर खेलाडी सत प्रतिशत नतिजा हात पार्दै अग्रस्थानमा रहन सफल हुनुभएकाे छ ।

नेपाल बुद्धिचाल महासङ्घको तत्वावधान तथा बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा सञ्चालित प्रथम राष्ट्रिय जुनियर नेशनल चेस च्याम्पियनसिप सुरु भएको छ । 

बुढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा बिहीबार पहिलो दिन तीन चरणका खेल सम्पन्न भएका छन् । पुरुषतर्फको स्पर्धा स्ट्यान्डर्ड क्लासिकल ६० मिनेट ३० सेकेन्ड इनक्रिजमेन्ट नौ चरणको खेल हुनेछ ।

युवा पुरुष २० वर्षमुनिका ११७ जना खेलाडी सहभागी रहेको प्रतिस्पर्धामा १२ जना राष्ट्रिय जुनियर खेलाडी सत प्रतिशत नतिजा हात पार्दै अग्रस्थानमा रहन सफल हुनुभएकाे छ । अघिल्लाे दिन श्रीलङ्कामा सम्पन्न एसियन जुनियर ब्लिज चेस खेलमा रजत पदक जित्न सफल सीएम पुरुषोत्तम सिलवाल पूर्ण तीन अङ्क जोडेर शीर्ष स्थानमा रहनुभएकाे छ ।

प्रतियोगिताका उच्च २०८७ रेटेड सिएम पुरुषोत्तमसँगै १९७३ रेटेड रिसोन थापा, १८७९ रेटेड एआईएम अभीक शाह, १७६५ रेटेड आद्यन्त काफ्ले, १७०७ रेटेड सम्यक श्रेष्ठ, १६९९ रेटेड अविन पाण्डे, १६६३ रेटेड सुदिन तुई तुई र १६६२ रेटेड स्वर्णिम दुवाल समान ३ अङ्क जोडेर अगाडि हुनुहुन्छ । 

यसैगरी महिलातर्फ सम्पन्न दुई चरणको खेलमा शीर्ष खेलाडी ईशा गिरीले दुई अङ्क जोडेर प्रतियोगितामा सुखद सुरुवात गर्नुभएकाे छ। ईशासँगै विविशा तामाङ, रिया श्रेष्ठ, एन्जल महर्जन र प्रेसियस अधिकारीले सम्मान दुई अङ्क जोडेर संयुक्त रूपमा अगाडि रहन सफल हुनुभयाे ।