शनिबार ०७ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

उमेर बढ्दै जाँदा किशोरीहरूले किन छाड्छन् मार्सल आर्ट ?

‘विदेशतिर बालबालिकालाई ३–४ वर्षको हुँदैदेखि मार्सल आर्टका कक्षामा जोड्ने गरेको पाइन्छ, त्यसो गर्दा उनीहरुको शारीरिक र मानसिक विकास सँगसँगै हुने गर्दछ ।’

बालसंसारको लोकप्रिय कार्यक्रम ‘किशोर आवाज’ को २२ औं भागमा हामीले डीएभी स्कुलकी तेक्वान्दो प्रशिक्षक रञ्जु तामाङसँग कुराकानी गरेका छौं । 

यस संवादमा तामाङले मार्सल आर्टको महत्व र आवश्यकता, बालबालिकाको रुचि र लगाव तथा किशोरीहरूले उमेर बढ्दै जाँदा मार्सल आर्टलाई निरन्तरता दिन नसक्नुका कारणबारे प्रष्ट पार्नुभएको छ ।

‘मार्सल आर्टले बालबालिकालाई शारीरिक स्वास्थ्य र आत्मरक्षा प्रदान गर्छ, यसले आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमताको पनि विकास गर्छ,’ तामाङ भन्नुहुन्छ, ‘यसका साथै तेक्वान्दोजस्ता खेलहरूले बालबालिकामा आत्मनिर्भरता र मानसिक शान्ति ल्याउँछ ।’

मार्सल आर्टमा सुरुका दिनमा केटीहरुको सहभागिता बढी देखिने गरेको तर उमेर बढ्दै जाँदा उनीहरुले त्यसलाई निरन्तरता दिन नचाहेको उहाँको अनुभव छ । किशोरावस्थामा प्रवेश गरेसँगै किन किशोरीहरु मार्सल आर्ट छाड्दै जान्छन् त ?

‘उनीहरुको शारीरिक विकास, समाज, घरपरिवारप्रतिको जिम्मेवारीजस्ता कारणले यसमा भूूमिका खेलेको हुन्छ,’ तामाङ भन्नुहुुन्छ, ‘शुरुमा बालबालिकामा तेक्वान्दोप्रतिको उत्साह निकै उच्च हुन्छ तर किशोरावस्थामा पूूरा अभ्यास कायम राख्न कठिनाइहरू आउँछन् ।’ 

किशोरीहरूको सामाजिक मानसिकता र परिवर्तनशील अवस्थाको कारणले गर्दा तिनीहरू खेलकुद र शारीरिक गतिविधिमा कम संलग्न हुने गरेको उहाँको अनुुभव छ ।
यस्ता समस्या समाधानका लागि विद्यालय र परिवारको भूमिका महत्वपूर्ण हुने तामाङ बताउनुहुन्छ । ‘परिवार र विद्यालयले किशोरीलाई प्रोत्साहित गर्न सक्छ, जसले गर्दा उनीहरू मार्सल आर्टजस्ता खेलहरूमा लामो समयसम्म संलग्न रहन सक्छन्,’ उहाँ भन्नुहुन्छ ।  

बालबालिकालाई सानै उमेरदेखि खेलकुदमा संलग्न गराउनुपर्ने उहाँको सुुझाव छ । ‘नेपालमा सामान्यतया ९–१० वर्षको भएपछि मात्रै बालबालिकालाई मार्सल आर्टको कक्षामा भर्ना गर्ने गरिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘तर विदेशतिर त्यस्तो हुँदैन । ३–४ वर्षको हुँदैदेखि मार्सल आर्टका कक्षामा जोड्ने गरेको पाइन्छ । त्यसो गर्दा उनीहरुको शारीरिक र मानसिक विकास सँगसँगै हुने गर्दछ ।’ 

तामाङसँगको कुराकानी सुनौं– भिडियोमा ।