धुरुधुरु रुन्छु म (बालकविता)
धेरै पढी उन्नतिको शिखरलाई छुन्छु म, लौरो देखाई नतर्साउनू धुरुधुरु रुन्छु म ।

बरु गाली गरेमा
चुप लागेर सुन्छु म
पिटाइ खान डर लाग्छ
धुरुधुरु रुन्छु म ।
माया गरी फकाउनू
कुरा बुझ्ने भा’की छु
घर जस्तै ठानेर
स्कुलमा आ’की छु ।
धेरै पढी उन्नतिको
शिखरलाई छुन्छु म
लौरो देखाई नतर्साउनू
धुरुधुरु रुन्छु म ।
सम्झाएर पढाए पो
कुरो बल्ल बुझिन्छ
गुरुमा र गुरुलाई
देउता जस्तै पुजिन्छ ।
हजुर झैँ बुझ्झकी
ज्ञानी मान्छे हुन्छु म
चर्को डाँको सुन्यो कि त
धुरुधुरु रुन्छु म ।
भोर्लेटार, लमजुङ
प्रतिक्रिया