शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

बालबालिकामा बढ्दो मोबाइल एडिक्सनबारे बुझाउने चलचित्र ‘झिल्को’

व्यस्त जीवनशैली र समय अभावका कारण धेरै अभिभावक मोबाइललाई ‘छोराछोरी फुल्याउने साधन’ का रूपमा प्रयोग गर्छन् । यो सजिलो विकल्प भए पनि दीर्घकालीन असर निकै हानिकारक हुन्छ ।

आजको डिजिटल युगमा मोबाइल फोन बालबालिकाका लागि खेलौनाजस्तै बनिरहेको छ । केही वर्षपहिले सम्म मोबाइल वयस्कहरूका लागि उपयोगी उपकरण थियो तर अहिले तिनै उपकरण साना बालबालिकाको हातमा सजिलै पुग्ने भएको छ । 

यसले उनीहरूको मानसिक, सामाजिक र शारीरिक विकासमा गम्भीर असर पार्न थालेको छ । बालबालिकाले मोबाइलमा बढी समय बिताउँदा विभिन्न समस्या र जोखिम देखा परिरहेका छन्, जुन हाम्रो समाजका लागि चिन्ताको विषय हो ।

पहिलो र सबैभन्दा स्पष्ट समस्या भनेको शारीरिक स्वास्थ्यमा पर्ने असर हो । लगातार मोबाइल प्रयोगले बालबालिकामा दृष्टि कमजोर हुनु, निद्राको समस्या, मोटोपना, टाउको दुख्ने वा मेरुदण्डसम्बन्धी समस्या देखा पर्न सक्छ ।

टिभी वा भिडियोमा लगातार हेर्दा उनीहरू निष्क्रिय हुन्छन्, जसले शारीरिक विकासलाई अवरुद्ध गर्न सक्छ । मोबाइलमा झुम्मिएका बालबालिका खेलकुद, दौडधुप जस्ता गतिविधिबाट टाढा हुने गर्छन्, जसले दीर्घकालीन रुपमा उनीहरूको स्वास्थ्यमा गम्भीर प्रभाव पार्न सक्छ ।

दोस्रो, मनोवैज्ञानिक असर । लगातार मोबाइलमा रहने बालबालिकाको ध्यान अवधि घट्न थाल्छ । उनीहरू छिट्टै दिक्क मान्ने, चिडचिडाहट हुने र अरूको कुरामा रुचि नदेखाउने स्वभावका बन्न सक्छन् । सामाजिक सम्बन्ध विकासको महत्वपूर्ण उमेरमा उनीहरू आभासी संसारमा हराउँदा वास्तविक जीवनका अनुभव र सीपहरू सिक्ने अवसर गुम्न सक्छ ।

तेस्रो, व्यवहारजन्य परिवर्तनहरू देखा पर्छन् । सानै उमेरदेखि मोबाइलको अत्यधिक प्रयोगले उनीहरूमा निर्भरता सिर्जना हुन्छ । मोबाइलबिना बस्न नसक्ने, मोबाइल खोस्दा रोइकराई गर्ने वा आक्रोश देखाउने जस्ता व्यवहार सामान्य देखिन्छन् । उनीहरूले अरूसँग कुराकानी गर्न गाह्रो मान्ने, आमा–बुबाभन्दा पनि मोबाइलको सामग्रीप्रति आकर्षित हुने प्रवृत्ति विकसित हुँदै जान्छ ।

यो समस्यामा अभिभावकहरूको भूमिका पनि उत्तिकै जिम्मेवार छ । व्यस्त जीवनशैली र समय अभावका कारण धेरै अभिभावक मोबाइललाई ‘छोराछोरी फुल्याउने साधन’ का रूपमा प्रयोग गर्छन् । यो सजिलो विकल्प भए पनि दीर्घकालीन असर निकै हानिकारक हुन्छ । 

मोबाइल पूर्ण रूपमा निषेध गर्नु व्यावहारिक समाधान होइन तर यसको नियन्त्रित र सही दिशामा प्रयोग अपरिहार्य छ । अभिभावकले समयको सीमा तोक्नु, बालमैत्री सामग्री मात्र हेर्न दिनु र सँगै बसेर बालबालिकासँग संवाद गर्नु आवश्यक छ । 

नेपाली समाजमा झाङ्गिदै गएकाे यही समस्यालाई उजागर गरेको छ– चलचित्र ‘झिल्को’ले ।

‘झोला’ र ‘भोर’ चलचित्र निर्माण गरिसक्नुभएका निर्देशक, निर्माता यादवकुमार भट्टराईले बनाउनुभएको ‘झिल्को’मा बालबालिका मोबाइलको लतमा फस्दा कस्तो असर पर्छ भन्ने कुरालाई देखाइएको छ । 

यो चलचित्र वैशाख १९ गतेबाट प्रदर्शनमा आइसकेको छ ।

‘तीन वर्षअघि मेरो दिमागमा फुरेको कथा हो यो, एकजना पत्रकार साथीको छोरालाई मोबाइलको लत थियो, तीन वर्षको बालकलाई जम्माजम्मी तीन वटा शब्द मात्र बोल्न आउने, कसैसँग दोहोरो संवाद गर्न नजान्ने,’ निर्देशक भट्टराई भन्नुहुन्छ, ‘उनीहरू छोराको उपचार खोज्दै अस्पताल पुगे । छोरालाई भर्चुअल अटिजम भएको रहेछ । यो समस्या र यसबाट पर्ने असरबारे बुझिसकेपछि यही विषयलाई टिपेर मैले चलचित्र निर्माण गर्ने साेच बनाएँ । चलचित्रबाट नाफा, घाटाभन्दा पनि यसले दिने सन्देश प्रधान कुरा हो ।’

भट्टराईका अनुसार डिजिटल एडिक्सनलाई नेमोफोबिया भनिन्छ । कहिलेकाहीँ ब्याट्री सकिएर मोबाइल अफ भएपछि मानिस छट्पटाउँछ भने त्यो अवस्थालाई डिजिटल एडिक्सन मान्न सकिन्छ ।

‘यो मानसिक समस्या बच्चादेखि वृद्धसम्ममा छ, यही विषयवस्तुमा हामीले कथा बनाएका हौं,’ भट्टराई भन्नुहुन्छ, ‘जो जन्मिँदै हातमा मोबाइल पाउने सुविधामा छन्, उनीहरूलाई मोबाइलले बिगारिसक्यो । उनीहरू हामीसँग अन्तर्क्रिया गर्न चाहँदैनन् । मात्र मोबाइलसँग अन्तर्क्रिया गर्छन् ।’

‘झिल्को’मा मुख्य भूमिका १० वर्षीया आयुषी ढकालको छ । आयुषीले यसअघि पनि चार–पाँचवटा चलचित्रमा अभिनय गरिसक्नुभएको छ । ‘यो चलचित्रमा अभिनय गर्ने क्रममा मैले पनि धेरै कुरा सिक्न पाएँ,’ आयुषी भन्नुहुन्छ, ‘मोबाइलको प्रयोग धेरै गर्दा के हुन्छ भन्ने कुरा आफैंले पनि थाहा पाएँ ।’ 

निर्देशक भट्टराई यो चलचित्रका लागि आयुषी उपयुक्त पात्र भएको बताउनुहुन्छ । ‘चलचित्रलाई कत्रो भावनासम्म लाने भन्ने कुरा पात्रमा भर पर्छ, त्यो मैले आयुषीमा पाएँ,’ उहाँ भन्नुहुन्छ, ‘मैले सोचेभन्दा उत्कृष्ट चलचित्र बनेको छ ।’

‘झिल्को’ बनाउने सोच कसरी आयो, किन यस्तो चलचित्र रोज्नुभयो ? यो चलचित्र बनाउने क्रममा कस्ता जटिलता र चुनौती आए अनि चलचित्र प्रदर्शनमा आइसकेपछि कस्तो प्रतिक्रिया पाउनुभएको छ ? यिनै प्रश्नको सेरोफेरोमा रहेर हामीले ‘झिल्को’का निर्देशक यादवकुमार भट्टराई र कलाकार आयषी ढकालसँग कुराकानी गरेका छौं । 

सुनौं उहाँहरुका विचार भिडियोमा ।

Jhilko