शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

सानो उमेरका बालबालिकामा पढ्ने बानी कसरी बसाल्ने ?

पढ्न प्रेरित गर्नुअघि अभिभावकले नै आफ्ना बालबालिकाका लागि पढ्नु आवश्यक छ । जब बच्चाले आमाबुबालाई रमाइलो शैलीमा पढिरहेको देख्छन्, उनीहरू स्वाभाविक रूपमा चासो राख्न थाल्छन् ।

सानै उमेरदेखि पढ्ने बानी बसाल्न सकेमा बालबालिकाको भाषा, सोच्ने क्षमता र कल्पनाशक्ति बलियो हुन्छ । त्यसले भविष्यमा ठूलो फाइदा पुर्‍याउँछ ।

अभिभावक र साना नानीबाबुका लागि यहाँ केही सजिला र प्रभावकारी उपायहरू छन् :

१. छिटो उमेरदेखि पढ्न सुरु गर्नुहोस्
प्रारम्भिक उमेर (१–५ वर्ष) मा पढ्ने बानी बसाल्नु निकै उपयोगी हुन्छ । यस उमेरमा दिमाग चाँडै सिक्ने अवस्थामा हुन्छ ।

२. बालबालिकालाई पढ्न जबरजस्ती नगर्नुहोस्
पढ्न प्रेरित गर्नुअघि अभिभावकले नै आफ्ना बालबालिकाका लागि पढ्नु आवश्यक छ । जब बच्चाले आमाबुबालाई रमाइलो शैलीमा पढिरहेको देख्छन्, उनीहरू स्वाभाविक रूपमा चासो राख्न थाल्छन् ।

३. सजिला र बालमैत्री पुस्तकहरू छनौट गर्नुहोस्
रंगीन चित्र भएका, साना शब्दहरू प्रयोग गरिएका पुस्तकहरू छनौट गर्नुहोस् । जनावर, परिवार वा खेलसँग सम्बन्धित कथा बच्चालाई रमाइला लाग्छन् ।

४. चित्र देखाउँदै कथा भन्नुहोस्
बच्चाहरुले सुरूमा अक्षरभन्दा चित्रमा रुचि राख्छन् । त्यसैले चित्र देखाएर आफ्नै भाषामा कथा भन्नुहोस् । बच्चालाई प्रश्न सोध्दै कथामा संलग्न गराउनुहोस् ।

५. आवाज र हाउभाउ प्रयोग गरी रमाइलो शैलीमा पढ्नुहोस्
स्वरमा उतारचढाव ल्याउनुहोस्, पात्र अनुसार आवाजको फेरबदल गर्नुहोस् । यस्तो रमाइलो प्रस्तुति बच्चालाई निकै मन पर्छ ।

६. पढिएको कथा फेरि स्मरण गराउनुहोस्
पुस्तक पढिसकेपछि त्यसै कथालाई मुखैले सुनाउनुहोस् । यसले सम्झने शक्ति र भाषाको विकासमा सहयोग गर्छ ।

७. नयाँ पुस्तक बिस्तारै चिनाउनुहोस्
बच्चाले एउटै कथा बुझिसकेपछि नयाँ चित्र र कथा भएको पुस्तक ल्याउनुहोस् । त्यसरी नयाँ चासो जाग्नेछ ।

८. नियमित पढ्ने समय बनाउनुहोस्
हरेक दिन एउटै समयमा पढ्ने बानी बसाल्नुहोस्—जस्तै सुत्नु अगाडि वा दिउँसोको फुर्सदको समयमा ।

९. तपाईं आफैँ पढ्ने बानी देखाउनुहोस्
अभिभावकले आफैँ पुस्तक पढेको देखाउँदा बच्चामा पनि पढ्ने इच्छा विकास हुन्छ ।

१०. सँधै सँगै बसेर पढ्नुहोस्
पढ्ने समयलाई आत्मीयता र स्नेहले भरिएको बनाउनुहोस् । काखमा लिएर पढ्दा बच्चाले सुरक्षा र माया महसुस गर्छ ।

११. प्रश्न र संवाद गर्नुहोस्
"कुन भाग रमाइलो लाग्यो ?" वा "अनि त्यसपछि के भयो होला ?" जस्ता प्रश्नले बच्चाको सोच्ने क्षमतामा वृद्धि गर्छ ।

१२. प्रगति भएमा प्रशंसा गर्नुहोस्
बच्चाले कथा सम्झिएको, चित्र चिनेको वा आफैँ पढ्ने प्रयास गरेकोमा सकारात्मक प्रतिक्रिया दिनुहोस् ।

सविता थापा

अर्ली चाइल्डह्ड एजुकेसन सेन्टर (इसिइसी) मा लामाे समय शिक्षक प्रशिक्षक रहनुभएकी थापा हाल थ्री स्टार एजुकेसन सेन्टरमा अपरेसन म्यानेजर हुनुहुन्छ । उहाँ इन्टरनेशनल चाइल्ड डेभलपमेन्ट प्राेग्राम (आइसिडिपी) काे नेपालका लागि प्रशिक्षक हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट बाल विकासमा स्नातकाेत्तर र काठमाडाैं विश्वविद्यालयबाट प्रारम्भिक बाल विकासमा पिजिडी गर्नुभएकाे छ ।