शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

गुणस्तरीय सिकाइका लागि शिक्षकलाई ऊर्जावान राखाैं

शिक्षक सन्तुष्ट र सन्तुलित भए मात्र शिक्षणमा सजीवता आउँछ । शिक्षकको भलाइलाई नबुझी गुणस्तरीय शिक्षण–सिकाइको अपेक्षा गर्नु भनेको खाली गिलासबाट पानी खन्याउने प्रयासजस्तै हो ।

आजको शिक्षा क्षेत्रमा शिक्षकहरूसँग धेरै अपेक्षा गरिएको छ । शिक्षक दक्ष, बहुप्रतिभावान्, सकारात्मक ऊर्जा बोकेको र हरेक चुनौतीमा सक्षम हुनुपर्ने मानिन्छ ।

उनीहरूले पढाउने मात्र होइन, पाठ योजना बनाउने, सामग्री तयार गर्ने, सह-पाठ्यक्रम गतिविधिमा संलग्न हुने, मूल्यांकन गर्ने, अभिभावकसँग सम्पर्क राख्ने र रिपोर्ट तयार पार्ने जस्ता कार्यहरू पनि सम्हाल्नुपर्छ ।

यस्तो बहुआयामिक जिम्मेवारी सम्हाल्दै गर्दा शिक्षकको भलाइ (wellbeing) लाई पनि ध्यान दिनु अत्यावश्यक छ । शिक्षकहरू हाम्रो समाजका हिस्सा हुन्– उनीहरूका आफ्ना परिवार छन्, बालबालिका छन्, व्यक्तिगत जीवन छन् । यसका बाबजुद पनि उनीहरूले विद्यालयमा लामो अवधि काम गर्ने, घरमा समेत गृहकार्य जाँच्ने, नतिजा तयार गर्ने, क्राफ्ट बनाउने, रिपोर्ट लेख्ने आदि कामहरू गरिरहेका हुन्छन् ।

विद्यालयमा जस्तै घरमा पनि शैक्षिक गतिविधिमै ध्यान दिनुपर्दा उनीहरूमा तनाव उत्पन्न हुनु, मानसिक स्वास्थ्य समस्या देखिनु, भावनात्मक सन्तुलन खल्बलिनु र ऊर्जाको स्तर कमजोर हुनु स्वाभाविक हुन्छ ।

शिक्षकलाई स्वस्थ र ताजगी राख्नका लागि विद्यालयले समय व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । उदाहरणका लागि– २० देखि ३० मिनेटको शान्त विश्राम समय दिन सकिन्छ, जहाँ शिक्षकले आफ्ना भावना सम्हाल्न सकून् र दिनभर बालबालिकासँग हेलमेलपछि केही समय मौन बस्न सकून् । त्यो सानो कदम शिक्षकको मानसिक स्वास्थ्यका लागि ठूलो टेको हुन सक्छ ।

धेरैले भन्न सक्छन्– 'यो लेख त कसैले लेखेको हो जो विद्यालयको व्यवस्थापनमा छैन ।' तर वास्तवमा हामीले शिक्षकको भलाइ, विश्राम समय, आत्म-चिन्तनको अवसर र कार्य घण्टाको स्पष्ट सीमाना निर्धारण गरेनौं भने हामी गुणस्तरीय शिक्षक गुमाउने अवस्थामा पुग्न सक्छौं ।'

समाधान के हुन सक्छ ?

– शिक्षकका लागि नियमित विश्राम समय सुनिश्चित गर्नु ।

– सबै बिदा तालिममा मात्र खर्च नगर्नु, केही दिन शिक्षकको स्वतन्त्र सोच र पुनः ऊर्जावान् बन्ने समयका लागि छुट्याउनु ।

– कार्य घण्टा स्पष्ट र व्यावहारिक बनाउनु ।

– घरबाट गरिने कामको सीमा निर्धारण गर्नु ।

– विद्यालय र शिक्षकबीच पारिवारिक जीवन र पेशागत उत्तरदायित्वको सन्तुलन कायम राख्ने संवादको सुरुवात गर्नु ।

शिक्षक सन्तुष्ट र सन्तुलित भए मात्र शिक्षणमा सजीवता आउँछ । शिक्षकको भलाइलाई नबुझी गुणस्तरीय शिक्षण–सिकाइको अपेक्षा गर्नु भनेको खाली गिलासबाट पानी खन्याउने प्रयासजस्तै हो । त्यसैले, विद्यालय व्यवस्थापनले अब समयमै सोच्नुपर्छ– 'शिक्षकको भलाइ कत्तिको सुनिश्चित छ ?'

सविता थापा

अर्ली चाइल्डह्ड एजुकेसन सेन्टर (इसिइसी) मा लामाे समय शिक्षक प्रशिक्षक रहनुभएकी थापा हाल थ्री स्टार एजुकेसन सेन्टरमा अपरेसन म्यानेजर हुनुहुन्छ । उहाँ इन्टरनेशनल चाइल्ड डेभलपमेन्ट प्राेग्राम (आइसिडिपी) काे नेपालका लागि प्रशिक्षक हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट बाल विकासमा स्नातकाेत्तर र काठमाडाैं विश्वविद्यालयबाट प्रारम्भिक बाल विकासमा पिजिडी गर्नुभएकाे छ ।