शनिबार १३ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

एसईईपछि SIP र SHARE सिकिरहेका कृष्ण र अर्पण (भिडियाे)

‘हाम्रो मात्रै हैन, दक्षिण एसियाकै शिक्षा प्रणाली सैद्धान्तिक र घोकन्ते खालको छ,’ उहाँ भन्नुहुन्छ, ‘शिक्षा त व्यावहारिक हुनुपर्ने हो नि !’

किशोर आवाजको १९ औं श्रृंखलामा हामीले कृष्ण दाहाल र अर्पणबहादुर डोटेलसँग कुराकानी गरेका छौं । उहाँहरु दुवै जनाले यसपालि एसईई दिनुभएको हो ।

‘एसईई कठिन हुन्छ जस्तो लाग्थ्यो तर परीक्षा दिँदाचाहिँ सजिलै लाग्यो,’ काठमाडौंको थलीस्थित मिनील्याण्ड अंग्रेजी माध्यमिक विद्यालयका छात्र अर्पण भन्नुहुन्छ, ‘पहिलोपटक तीन महिना बिदा भएको छ । यो समय ब्रिजकोर्स गरेर सदुपयोग गरिरहेको छु । लामो छुट्टी भएकाले विभिन्न सीप पनि सिकिरहेको छु ।’ यसका अलावा सेयर बजारका बारेमा पनि चासो राखिराखेको उहाँ बताउनुहुन्छ । कक्षा ११ मा विज्ञान विषय लिएर पढ्ने उहाँको योजना छ । 

कोटेश्वरस्थित रत्न शिक्षा सदनबाट एसईई दिनुभएका कृष्ण दाहालले चाहिँ बिदाको समयमा व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान– SIP) बारे बुझिरहनुभएको छ । कक्षा ११ मा विज्ञान विषय लिएर पढ्ने सोच बनाउनुभएका उहाँले त्यसका लागि पनि तयारी गरिरहनुभएको छ ।

कृष्णले विज्ञान पढेर भविष्यमा नर्स बन्ने र विदेशतिर काम गर्न जाने सम्भावना देख्नुभएको छ भने अर्पणलाई विदेशभन्दा यहीँ बसेर सबथोक गर्न सकिन्छ भन्ने लाग्छ । ‘तर, हाम्रो समाज र परिवारको सोच नै विदेश पठाउने खालको छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यो अवस्थामा बाध्यताले जानुपरे छुट्टै कुरा, नत्र यहीँ केही गरौं भन्ने सोच छ ।’

कृष्णको बुझाइमा नेपालको शिक्षा प्रणाली अव्यावहारिक खालको छ । ‘हाम्रो मात्रै हैन, दक्षिण एसियाकै शिक्षा प्रणाली सैद्धान्तिक र घोकन्ते खालको छ,’ उहाँ भन्नुहुन्छ, ‘शिक्षा त व्यावहारिक हुनुपर्ने हो नि !’

अर्पणका बुबा नेपाली सेनाबाट अवकाश हुनुभएको छ भने आमा सेनामै कार्यरत हुनुहुन्छ । बुबाआमा नै सैनिक भएका कारणले तपाईंले घरमा कत्तिको कडा अनुशासनमा बस्नुपरेको छ ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘आमसोचाइ त्यस्तो भए पनि मेरा बुबाआमाले मलाई कहिल्यै कडाइ गर्नुभएन । जे गर्छौ गर भनेर स्वतन्त्र छाडिदिनुभएको छ ।’

तपाईंको त्यस्तो कुनै चाहना छ, जसलाई पूरा गर्न पाउनुभएको छैन ? भन्ने प्रश्नमा कृष्ण भन्नुहुन्छ, ‘राम्रो फुटबलर बन्ने मेरो चाहना छ ।’ अर्पण थप्नुहुन्छ, ‘मलाई चाहिँ बास्केटबलमा एकदमै धेरै रुचि छ ।’

कुराकानी र अर्पणसँगको कुराकानी सुन्नुहोस् भिडियोमा ।