शनिबार १३ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

बालबालिकाले कसरी सिक्छन् ? के हाे VAK सिकाइ शैली ?

अभिभावकले आफ्ना छोराछोरीको प्राथमिक सिकाइ शैली चिन्ने हो भने सिकाइ सजिलो र प्रभावकारी बन्न सक्छ । शिक्षकहरूले मिश्रित शिक्षण विधि अपनाउँदा सबै प्रकारका विद्यार्थी लाभान्वित हुन सक्छन् ।

बालबालिकाले नयाँ कुरा सिक्ने प्रक्रिया जटिल देखिए पनि वास्तवमा यो उनीहरूले आफ्ना इन्द्रियहरूको प्रयोगमार्फत गर्ने कार्य हो । उनीहरू हेर्ने, सुन्ने, छुने, चाख्ने, सुँघ्ने जस्ता इन्द्रियमार्फत् कुरा बुझ्ने र सिक्ने गर्छन् ।

यही आधारमा सिकाइका विभिन्न शैलीहरू विकास गरिएको पाइन्छ। तीमध्ये VAK Learning Style एक चर्चित सिद्धान्त हो । यस सिद्धान्तमा सिकाइलाई दृश्य (Visual), श्रवण (Auditory) र स्पर्शात्मक (Kinesthetic) गरी तीन प्रकारमा वर्गीकृत गरिएको छ।

दृश्य (Visual) शैली

दृश्य शैली भएका बालबालिकाहरू हेरेर छिटो सिक्ने गर्छन् । किताब पढ्न, चित्र, भिडियो, पोस्टर, वा पावरपोइन्ट स्लाइड हेर्न रुचाउँछन् ।

यस्ता विद्यार्थीले प्रायः "देखाएर बुझाऊ" भन्ने गर्छन्। अभिभावक र शिक्षकले यिनका लागि दृश्य सामग्रीहरू प्रयोग गर्दा राम्रो नतिजा देखिन्छ।

श्रवण (Auditory) शैली

श्रवण शैली भएका विद्यार्थीहरू सुनेर सिक्छन् । संगीत, कथा, छलफल वा शिक्षकको व्याख्यान सुनेर उनीहरू जानकारी ग्रहण गर्छन् । "फेरि भनिदिनु न" भन्ने बालबालिका यिनै श्रवण शैलीमा पर्ने सम्भावना हुन्छ ।

स्पर्शात्मक (Kinesthetic) शैली

स्पर्शात्मक वा प्रयोगात्मक शैली भएका बालबालिकाहरू आफूले गरेर, छाेएर वा अनुभव गरेर सिक्न रुचाउँछन् । यस्ता विद्यार्थीले खेल, अभ्यास वा प्रयोगात्मक कार्यबाट छिटो सिक्छन् । "म आफैं गरेर सिक्छु" भन्ने व्यवहार देखिन्छ ।

सबैमा मिश्रित शैली तर एक प्राथमिक हुन्छ

यद्यपि मानिसले यी तीनै शैली प्रयोग गर्छन्, अधिकांशको एउटा शैली प्रमुख हुन्छ । अभिभावकले आफ्ना छोराछोरीको प्राथमिक सिकाइ शैली चिन्ने हो भने सिकाइ सजिलो र प्रभावकारी बन्न सक्छ । त्यस्तै, शिक्षकहरूले सबै शैलीलाई समेट्ने शिक्षण विधि अपनाउँदा सबै प्रकारका विद्यार्थी लाभान्वित हुन सक्छन् ।

VAK परीक्षणको सुझाव

आफू र आफ्ना बालबालिकाको सिकाइ शैली पत्ता लगाउन VAK Learning Style Test इन्टरनेटमा निःशुल्क उपलब्ध छ । यस्तो परीक्षणबाट सिकाइमा सुधार ल्याउन सकिन्छ, जुन विशेषगरी अहिलेको बदलिँदो शैक्षिक प्रवाहमा महत्वपूर्ण हुन सक्छ।

यदि तपाईं शिक्षक हुनुहुन्छ भने कृपया कक्षामा दृश्य, श्रवण र स्पर्शात्मक तीनै प्रकारका सामग्री र गतिविधि समावेश गर्नुहोस् । यसले सबै बालबालिकालाई समेट्न सहयोग गर्छ र सिकाइ प्रक्रियालाई समावेशी तथा प्रभावकारी बनाउँछ ।
 

सविता थापा

अर्ली चाइल्डह्ड एजुकेसन सेन्टर (इसिइसी) मा लामाे समय शिक्षक प्रशिक्षक रहनुभएकी थापा हाल थ्री स्टार एजुकेसन सेन्टरमा अपरेसन म्यानेजर हुनुहुन्छ । उहाँ इन्टरनेशनल चाइल्ड डेभलपमेन्ट प्राेग्राम (आइसिडिपी) काे नेपालका लागि प्रशिक्षक हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट बाल विकासमा स्नातकाेत्तर र काठमाडाैं विश्वविद्यालयबाट प्रारम्भिक बाल विकासमा पिजिडी गर्नुभएकाे छ ।