आइतबार ०७ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

कसरी छान्ने राम्राे प्रि-स्कुल ? नानीबाबुलाई कहाँ पढाउने ?

स्कुलको बाहिरी स्वरूप वा प्रचारभन्दा पनि त्यहाँको वातावरण, शिक्षकको व्यवहार, सिकाइको पद्धति र संरचनामा ध्यान दिएर आफ्ना बालबालिकाका लागि सही निर्णय गरौं ।

साना बालबालिकाका लागि उपयुक्त प्रि-स्कुल छनोट गर्नु कुनै पनि आमाबुबाका लागि ठूलो निर्णय हो । बाल्यकालमै प्राप्त शिक्षाले बालबालिकाको समग्र विकासको जग बसाउँछ । त्यसैले, कुनै पनि प्रि-स्कुल छनोट गर्दा गुणस्तरीय र उमेरअनुकूल शिक्षा प्रदान गर्ने पक्षमा ध्यान दिनु आवश्यक छ । आजको समयमा विकल्पहरू धेरै छन् तर कुन स्कुल साँच्चै राम्रो हो भनेर कसरी चिन्ने ?

यहाँ केही महत्वपूर्ण कुरा छन् जसलाई आमाबुबाले ध्यानमा राख्नुपर्छ :

१. खुल्ला र सुरक्षित स्थान
बच्चाहरू स्वतन्त्र रूपमा घुमफिर गर्न पाउँदा बढी सिक्छन् । प्रि-स्कुल पर्याप्त खुला स्थान हुनु आवश्यक छ- भित्र र बाहिर दुबैतिर- जसले बच्चालाई सुरक्षित वातावरणमा खेल्न, अन्वेषण गर्न र बढ्न सघाउँछ ।

२. सजिलै पहुँच हुने खेल सामग्रीहरू
खेलमार्फत सिकाइ प्रभावकारी हुन्छ । स्कुलमा विभिन्न प्रकारका खेल सामग्रीहरू खुला र्याकमा राखिएको हुनु आवश्यक छ ताकि बालबालिकाले सजिलै प्रयोग गर्न सकून् । यसले उनीहरूलाई आत्मनिर्भर र सिर्जनात्मक बन्न मद्दत गर्छ ।

३. लचिलो कोठा संरचना
कक्षा कोठा वर्षभर एउटै जस्तो देखिनु हुँदैन। पढाइको विषय र क्रियाकलापअनुसार फर्निचर मिलाउने, कोठामा रिडिङ कर्नर, आर्ट कर्नर वा शान्त क्षेत्र बनाउने व्यवस्था हुनुपर्छ।

४. सफा भान्सा र शौचालय
सफा वातावरण बच्चाहरूको स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ । स्कुलको भान्सा, क्यान्टिन, र शौचालयहरू बालमैत्री र सफा हुनु अनिवार्य छ ।

५. पर्याप्त शिक्षक संख्या
शिक्षक–बालबालिका अनुपात उपयुक्त हुनुपर्छ । थोरै बच्चालाई पर्याप्त ध्यान दिन सक्ने गरी शिक्षकको व्यवस्था हुनु राम्रो प्री-स्कुलको संकेत हो ।

६. परीक्षा होइन, निरन्तर मूल्यांकन
सानो उमेरका बच्चालाई परीक्षा दिई तनाव नदिनु राम्रो हो । त्यसको सट्टा स्कुलले अवलोकन, पोर्टफोलियो र विकासात्मक सूचकांक प्रयोग गरेर मूल्यांकन गर्नुपर्छ ।

७. आमाबुबाको पहुँच खुला हुनु
आमाबुबाले कक्षा नबिथोल्ने गरी जुनसुकै बेला स्कुलमा गई बच्चाहरूको गतिविधि हेर्न पाउनु आवश्यक छ । यसले विश्वास बढाउँछ र विद्यालय–अभिभावक सम्बन्ध मजबुत बनाउँछ ।

८. हरेक दिन खेल, शारीरिक व्यायाम र सिर्जनात्मक गतिविधि
बच्चाहरूको मानसिक र शारीरिक विकासका लागि हरेक दिन खेल, व्यायाम र आर्ट–क्राफ्टको अभ्यास अनिवार्य हुनु पर्छ ।

९. शारीरिक दण्डमा शून्य सहिष्णुता
शारीरिक दण्ड कुनै हालतमा स्वीकार्य हुँदैन । शिक्षकहरूले सकारात्मक अनुशासन प्रविधिहरू अपनाउनु पर्छ– जस्तै मार्गदर्शन, पुनर्निर्देशन, र सहानुभूति ।

१०. स्पष्ट शैक्षिक योजना
प्रि-स्कुल स्तरमै पनि विद्यालयसँग स्पष्ट शैक्षिक योजना हुनु जरुरी छ । अभिभावकहरूले के सिकाइ हुँदैछ, त्यो सरकारी पाठ्यक्रमसँग कसरी जोडिएको छ र कसरी मूल्यांकन गरिँदैछ भन्ने थाहा पाउनु पर्छ ।

११. प्रशिक्षित र सीपयुक्त शिक्षकहरू
गुणस्तरीय प्रि-स्कुलमा प्रारम्भिक बाल विकास बुझ्ने, प्रशिक्षित र तालिमप्राप्त शिक्षकहरू हुनु आवश्यक छ । निरन्तर तालिममार्फत उनीहरूलाई नयाँ प्रविधिहरूमा अपडेट गरिनुपर्छ ।

निष्कर्ष
यदि कुनै प्रि-स्कुलमा माथिका आधारभूत कुरा देखिन्छन् भने त्यो स्कुल बच्चामैत्री, उमेरअनुकूल र गुणस्तरीय ठहरिन सक्छ । त्यसैले, स्कुलको बाहिरी स्वरूप वा प्रचारभन्दा पनि त्यहाँको वातावरण, शिक्षकको व्यवहार, सिकाइको पद्धति र संरचनामा ध्यान दिएर आफ्ना बालबालिकाका लागि सही निर्णय गरौं ।  बच्चाहरू जहाँ रमाउन, सिक्न र बढ्न सकून्— त्यो नै सही स्कुल हो।

सविता थापा

अर्ली चाइल्डह्ड एजुकेसन सेन्टर (इसिइसी) मा लामाे समय शिक्षक प्रशिक्षक रहनुभएकी थापा हाल थ्री स्टार एजुकेसन सेन्टरमा अपरेसन म्यानेजर हुनुहुन्छ । उहाँ इन्टरनेशनल चाइल्ड डेभलपमेन्ट प्राेग्राम (आइसिडिपी) काे नेपालका लागि प्रशिक्षक हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट बाल विकासमा स्नातकाेत्तर र काठमाडाैं विश्वविद्यालयबाट प्रारम्भिक बाल विकासमा पिजिडी गर्नुभएकाे छ ।