निजीमा पढाइ सुरु, सामुदायिकमा रिजल्ट न भर्ना
देशभरका शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको छ ।

देशभरका शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको छ । सामुदायिक विद्यालयमा नतिजा प्रकाशनसमेत हुन सकेकाे छैन ।
सरकारले वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउने तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा प्रभावित बनेको हो । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भएकाे एक साता बित्न लागिसकेको छ ।
विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालयबाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियान सञ्चालन गर्नुपर्ने बेलामा शिक्षकहरु आन्दोलनमा लागेपछि अभिभावक निजी विद्यालयतिर धाउनुपर्ने बाध्यतामा पुगेका छन् ।
चैत २० गतेदेखि समुदायिक विद्यालयको शैक्षिक गतिविधि बन्द गरेर शिक्षक सडक आन्दोलनमा लागेका हुन् ।
शिक्षक आन्दाेलनमा गएपछि राैतहटमा विद्यालय भर्ना अभियान शुन्यझैं भएको अभिभावक रामएकबाल साहले बताउनुभयाे । ‘समुदायिक विद्यालयका शिक्षकले शैक्षिक गतिविधि बन्द नगरी आफ्नो माग सम्बन्धित निकायमा राख्न सक्छ्न्,’ उहाँले भन्नुभयाे, ‘यो किसिमको आन्दोलन आवश्यक नै छैन ।’ यद्यपि सरकारले शिक्षकका जायज मागको चाडैं सम्बोधन गर्नुपर्ने उहाँको तर्क छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा सामुदायिक विद्यालय शिक्षक १८ दिनदेखि काठमाडौँकेन्द्रित आन्दोलनमा छन् ।
राैतहटकाे चन्द्रपुरमा रहेको नमुना आवासीय विद्यालयका सञ्चालक लोक श्रेष्ठले नियमित कार्यतालिका अनुसार विद्यालय भर्ना अभियान गरिएको बताउनुभयाे । ‘पहिलेका वर्ष जस्तै विद्यार्थी भर्ना भएका छन,’ उहाँले भन्नुभयाे, ‘खासै बढेको पनि भन्न मिल्दैन ।’ नयाँ शैक्षिक सत्रको पठनपाठन पनि सुरु गरिसकिएको उहाँले बताउनुभयाे ।
विद्यालयमा नयाँ शैक्षिक सत्रका गतिविधिलाई अघि बढाउनुपर्ने समयमा आन्दोलन हुनु दुखद भएको पूर्व शिक्षक अर्जुन दाहालकाे भनाइ छ । सरकारले शिक्षकका माग सम्बोधन गरेर विद्यालयका शैक्षिक गतिविधिलाई अघि बढाउन तत्परता देखाउनु पर्ने उहाँ बताउनुहुन्छ ।
चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलका अनुसार अधिकांश सामुदायिक विद्यालय बन्द गरेर शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा गएका छन् । ‘विद्यालय भर्ना अभियान पनि प्रभावित भयो नगर भित्रका विद्यालयमा प्रत्येक वर्ष कक्षा १ मा मात्र ८ देखि ९ हजार विद्यार्थी भर्ना हुने गरेकोमा शिक्षक आन्दोलनले असर परेको छ ।’

शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा

स्मार्टफाेनले बालबालिकाको शिक्षालाई मद्दत गरिरहेको छ कि हानि ?

शिक्षकले सुरु गरे काठमाडौं केन्द्रित शैक्षिक आन्दोलन

प्याब्सनकाे १३ बुँदे कार्ययोजना

एसईई सुरु

बालसंसारकाे दाेस्राे बालगीत सार्वजनिक (भिडियाे)
रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

प्रतिक्रिया